एनआरएन जापान टोली कुमामोतो भूकम्प पीडित नेपाली बस्तीमा

Posted on: May 02, 2016 | views: 919

१० बैशाख,  कुमामोतो-जापान ।
गत शनिवार गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पबाट प्रभावित जापानको कुमामोतो क्षेत्रका भूकम्प प्रभावित नेपालीसँग एनआरएन जापानको टोलीले भेटघाट गरेको छ ।

गैर आवासिय नेपालीसंघ एनआरएन जापानको टोलीले भूकम्पबाट प्रभावीत कुमामोतो पुगेर पहिलो चरणको राहत वितरण पश्चात नेपालीटोलीसँग भेटघाट गरेको हो ।

भूकम्पबाट अति प्रभावित कुमामोतो पुगेको नेपाली टोलीले भेटघाटका क्रममा सो क्षेत्रमा विभिन्न पेशा व्यवसाय र अध्ययनका क्रममा रहेका नेपालीहरुका समस्याबारे छलफल गरेको थियो ।

छलफलका क्रममा एनआरएन र नेपाली दूतावासबाट गर्नुपर्ने आवश्यक सहयोग र एनआरएनले गर्न सक्ने पहलका विषयमा छलफल भएको एनआरएन जापानका उपाध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित कुमामोतो क्षेत्रको थाचुदामा भएको छलफलमा सहभागी नेपालीहरुले खाद्यान्न भन्दा पानीको समस्या बढी रहेको बताएका थिए ।

यसैगरि डिपार्टमेन्ट स्टोरहरुमा खाने कुरा र पानी अभाव हुन थालेको नेपालीहरुले बताएका थिए ।

जापानीहरुले आफुहरुलाई खाना लगायत विभिन्न कुरामा सहयोग गरिरहेको भन्दै नेपालीहरुले आफुहरु पनि भूकम्प प्रभावित क्षेत्रमा एनआरएन टोलीसँगै गएर सेवा गर्न तयार रहेको बताएका थिए ।

भूकम्पबाट प्रभावित जापानीहरुको लागि सहयोग गर्न तयार रहेको बताएका कुमामोतो क्षेत्रका नेपालीहरुले एनआरएन टोलीले थालेको पहल र कार्यको प्रशंसा गरेका थिए ।

 

पहिलो चरण अन्र्तगत एनआरएन जापान र विभिन्न व्यक्तिको व्यक्तिगत पहलमा भएको राहत वितरणमा एनआरएन जापानका अध्यक्ष सुदन थापा सहित उपाध्यक्ष टासी लामा, एनआरएन जापानका केन्द्रिय सदस्य प्रल्हादसिंह महत, एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापा सहभागी रहनुभएको थियो ।