जापानका भूकम्प प्रभावितलाई सहयोग गर्न एनआरएन र राजदूत सम्मिलित समिति गठन

Posted on: May 02, 2016 | views: 350

गोकर्ण अधिकारी-४ बैशाख, टोकियो ।
गत विहिबार र शनिवार मध्यरात गएको शक्तिशालि भूकम्पमा प्रभावित भएकालाई सहयोग गर्न एनआरएन जापान र यहाँ स्थित नेपाली राजदूतावास सक्रिय बनेको छ ।

एनआरएन जापानका अध्यक्ष सुदन थापा संयोजक रहेको समितिमा नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी र गैर आवासिय नेपाली संघ एनआरएनका उपाध्यक्ष भवन भट्ट संरक्षक रहनुभएको छ ।

एनआरएनए जापान अध्यक्ष सुदन थापाको संयोजकत्वमा विशेष सहयोग समिति गठन गरिएको उपाध्यक्ष टासि लामाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

विशेष सहयोग समितिमा जिज्ञानकुमार थापा, टासि लामा, टंक गैरे, बुद्धि राज घिमिरे, नन्दु गैरे, याम लाल कडेंल, क्यूस्यू क्षेत्रिय कमिटी र कुमामोतो स्थानिय कमिटी सदस्य रहेको छ ।

समिति गठनको लागि शनिवार टोकियोमा बसेको बैठकले कुमामोतो भूकम्प पीडित नेपालीलाई सहयोग नउठाउन आग्रह गर्दै आवश्यक सहयोग नेपाली दूतावास र एनआरएनको पहलमा गरिने स्पष्ट पारेको छ ।

भूकम्प लगत्तै प्रभावितलाई सहयोग गर्न भन्दै विभिन्न रेल स्टेशनमा सहयोग संकलन भएको भन्ने खवर आएको भन्दै त्यस्ता काम तत्काल बन्द गर्न विशेष सहयोग समितिले आग्रह गरेको छ ।

समितिले सहयोग गर्नको लागि क्युस्यु क्षेत्रमा तत्काल सहयोगको पहल गर्ने निर्णय सहित संयोजकमा हरि देवकोटा जापानमा प्रोफेसरको रुपमा कार्यरत र उपसंयोजक शिव कडेंल जापानमा व्यवसाय गर्दै आउनुभएका लाई चयन गरेको छ ।

बिहीवार गएको ६.८ रेक्टर स्केल र शनिबार गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि जापानमा ४१ जनाको मृत्यु भएको छ ।
पहिलो भूकम्पमा परि कम्तिमा ९ जना र दोस्रो शक्तिशालि भूकम्पमा परि कम्तिमा ३२ जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यम एनएचकेले उल्लेख गरेको छ ।

पहिलो ६.८ रेक्टर स्केलको भूकम्प क्युसु र दोस्रो ७.१ रेक्टर स्केलको दुई वटा भूकम्प कुमामोतो क्षेत्रमा गएको थियो ।

भूकम्प पछि करिव २ हजार व्यक्ति घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको छ । यस्तै एक लाख बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रभावितहरुलाई जापान सरकारले विभिन्न अस्थाई शिविरहरुमा राखेको छ ।