जापानले ७३६ खर्ब येनको नयाँ आर्थिक प्याकेज ल्याउँदै

Posted on: December 11, 2020 | views: 324

गोकर्ण अधिकारी-टोकियो, जापान ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक अप्ठ्याराहरु कम गर्न जापान सरकारले ७३६ खर्ब येन (७ खर्ब ७ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त आर्थिक प्याकेज ल्याउने भएको छ । सरकारले सो रकम बराबरको अतिरिक्त प्याकेज तयार पारेको प्रधानमन्त्री योशिहिदे सुगाले जानकारी गराएका छन् ।


सरकारले रोजगारी जोगाएर, व्यवसायहरु चलायमान बनाइराखेर अर्थतन्त्रलाई ब्यूत्याउँदै आर्थिक वृद्धिको मार्ग प्रशस्त गर्ने सरकार र सत्तारुढ दलहरुसँगको एक बैठकमा सुगाले भनेका छन् । आफूहरुले डिजिटल प्रविधि आदिको समेत प्रवद्र्धन गर्ने उनको भनाइ छ । सो स्टिमुलस प्याकेज मन्त्रीपरिषद्ले मंगलबार पारित समेत गरेको छ ।


यो प्याकेजको वास्तविक वित्तीय खर्च करीब ४०० खर्ब येन रहेको छ । यसमा घरेलु यात्रा र निजी खपत बढाउनुको साथै कम्पनीहरुलाई रोजगारी टिकाउन मद्दत गर्ने खालका कार्यक्रम विस्तार पनि समाविष्ट भएको सरकारी अधिकारीहरुले बताएका छन् । सो रकम आगामी मार्चसम्म चल्ने चालु आवको तेस्रो पूरक बजेटबाट पूर्ति गरिने भएको छ ।

पूरक बजेट यही महीनाको अन्त्यमा मन्त्रीपरिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ । सुगाले मध्य सेप्टेम्बरमा प्रधानमन्त्रीको कार्यभार सम्हाले यता कोरोना भाइरसको महामारी विरुद्धको लडाईका लागि तयार पार्न लागिएको यो पहिलो आर्थिक प्याकेज हो ।


जापानमा कोरोना भाइरसको नयाँ संक्रमित, गम्भीर बिरामी र दैनिक रुपमा मर्नेको संख्या हालैका हप्ताहरुमा कीर्तिमानी स्तरमा पुगेकै बेलामा यो प्याकेज तयार पारिएको छ । चालु आवको अहिलेसम्मको अवधिमा महामारी विरुद्धको लडाई तीव्र पार्न जापानले ५७६ खर्ब येन बराबरको दुूई ओटा पूरक बजेट पारित गरिसकेको छ ।