मदन पाठक-२४ चैत, टोकियो ।
जापानकी शाही राजकुमारी र प्रधानमन्त्री पत्नीले यहाँ आयोजित एक प्रदर्शनीमा नेपाली स्टलको अवलोकन सहित नेपाली सामान खरिद गरेका छन् ।
४० औं एसिया प्यासेफिक फेस्टिभल र च्यारिटि बजार २०१६ नेपाली राजदूतावास जापानको पहलमा राखिएको स्टलमा जापानी शाही राजकुमारी हिताचीले रुची पूर्व अवलोकन गरेकी हुन् ।
सो अवसरमा राजकुमारी हिताचीले नेपाली सामानहरुबारे जानकारी लिंदै केही सामान समेत खरिद गरेकी थिइन् ।
नेपाल सहित २६ मुलुकको सहभागीता रहेको प्रदर्शनीमा नेपाली सामानहरुले दर्शकहरुलाई निकै आकर्षण गरेको देखिन्थ्यो ।
सोही कार्यक्रममा जापानी प्रधानमन्त्री सिन्जो आवे पत्नी अकि आवेको समेत उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री पत्नी आवेले पनि नेपाली स्टलको अवलोकन सहित रुची पूर्वक जानकारी लिएकी थिइन् । साथै उनले पनि नेपाली सामानहरु खरिद गरेकी छिन् ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति सहित हजारौं जापानीहरुको सहभागीता रहेको कार्यक्रममा कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।
सो क्रममा राजदूत भण्डारीले शाही राजकुमारी तथा प्रधानमन्त्री पत्नि सहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई स्टलमा राखिएका सामान सहित नेपालबारे विभिन्न जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा स्विकृती भण्डारीले मिस नेपालको भूमिका निभाएकी थिइन् ।
यस्ता कार्यक्रमले नेपाली खाना एव. नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्न उपयुक्त एवं महत्वपूर्ण अवसर प्रदान गर्ने कार्यबाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीको भनाई छ ।
प्रदर्शनीमा नेपालका हस्तकलाका सामान तथा खाना लगायत विभिन्न नेपाली उत्पादनहरु राखिएको थियो ।