"नेपाल आमा र यहाँका नेपालीको कसम खाएर भन्छु एनआरएनएमा रहेर कहिल्यै व्यक्तिगत स्वार्थको काम गर्दिन"

Posted on: September 02, 2017 | views: 1213

टोकियो ।

हुनलाई उनको मुल कर्म कलाकारिता हो । सञ्चारकर्मीको रुपमा समेत जापानवासी नेपालीमाझ परिचित जगत बहादुर खड्का 'ज्याक खड्का' नामले परिचित उनी भोलीबाट नयाँ परिचय थप्ने तरखरमा छन् ।


अध्ययन, रोजगारी, कलाकारिता हुँदै जापानमा रहेका नेपालीहरुको दुख सुखमा साथ दिंदै आएका खड्का गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यमा उम्मेद्धार बनेका छन् र मतदा आज अर्थात् शनिवार मध्यरात १२ बजेबाट सुरु हुँदैछ । अनलाईन मार्फत् भोटीगं हुन लागेको एनआरएनए जापानको मतदान भने भोली आइतबार मध्यरात १२ बजेसम्म जारी रहनेछ ।


आफ्नो कर्म, पेशा र व्यवसाय समेत छाडेर एनआरएन नेतृत्वका विभिन्न पदका उम्मेद्धारहरुले हप्तौंदेखी भोट माग्दै र पत्याउनै नसक्नेगरि लाखौं रुपैयाँ खर्च गरेर प्रचार गरिरहँदा यि उम्मेद्धार भने मतदान सुरुहुनु १२ घण्टा अघि जापानी टेलिभिजनमा नेपाल बारेकै एक सन्देशमुलक भूमिकामा काम गर्न लम्कंदै गरेको अवस्थामा सिन्जुकु स्टेशन भित्र भेटिए ।


'मेरो कर्म कलाकारिता हो, यो कर्मबाट सकेको समय निकालेर अनि आफुले कर्मले आर्जेको आर्जनबाट नेपाल र नेपालीका लागि सकेको सहयोग गर्छु भन्ने तत्परताले उम्मेद्धार बनेको हुँ' केही गम्भिर र भावुक मुद्रामा देखिएका खड्काले भने-'मैले न मैले कुक, विद्यार्थीलाई जापान ल्याउने र सहयोगको नाममा पैसा असुलेर मनग्य कमाउन सकेको छु न मैले बल बुताले ठूलो व्यापार वा व्यवसायनै गरेको छु । अनि मैले कसरी हप्तौं भोट माग्दै प्रचार गरेर बसिराख्न पाउँछु । त्यसैले मैले उम्मेद्धारी दिएं अनि कर्ममा लागिरहेको छु ।'




'एनआरएनमा लाग्नु भनेको फेसबुकमा फोटो हाल्दै प्रचार गरिरहनु मात्र होइन' एनआरएनएमा आवद्धता र प्रतिवद्धता बारे खड्काले खुलाए 'जापानमा रहेका नेपालीहरुको हितमा काम गरिरहनु, नेपालको छवि उँचो राख्न कर्म गरिरहनु, अनि नेपालीका समस्या र पिडामा साथ दिन सक्नु सच्चा एनआरएन हुनु हो' थप स्पष्ट पार्दै जगतबहादुर खड्काले भने 'म प्रचारमा भन्दा कर्ममा विश्वास गर्ने भएर कर्म गरिराखेको छु नेपाली र नेपालको मायाँ र भलो चाहने इमान्दार र देशभक्त नेपालीहरुले मलाई कम्तिमा एक भोट दिन्छन् ।'


केही मिनेटको छोटो कुराकानीमा समयलाई हिसाब गर्दै बोलिरहेका खड्काले एनआरएनए जापान केन्द्रिय सदस्यपछिको भूमिका र जापानबासि नेपालीमाझ प्रतिवद्धता जनाउँदै भने-'संस्थाको पारदर्शीता सबैभन्दा पछि नेपालीले गर्ने आशंकाको विषय छ, म यसको पारदर्शितामा सँधै कटिबद्ध भएर लाग्नेछु ।'


'म मेरो देश र आमा अनि जापानमा रहेका करिव ७० हजार नेपालीको कसम खाएर भन्न सक्छु एनआरएन सदस्य भएर म कुनैपनि आर्थिक अपचलन गर्नेछैन, अनि व्यक्तिगत वा गलत स्वार्थमा कुनैपनि काम गर्नेछैन ।'




कुराकानीलाई टुंग्याउँदै खड्काले भने-'जापानमा कुक भिषामा रहेकाहरुको समस्या, विद्यार्थीका पिडा, डिपेण्डेन्ट भिषामा रहेकाहरुको समस्या आदिबारे म धेरै जानकार छु त्यसैले म एनआरएनए जापान केन्द्रिय सदस्य भएपछि उनिहरुका हरेक समस्या समाधान गर्न संस्थागत पहल र सहयोगसँगै व्यक्तिगत रुपमा सँधै अग्रस्थानमा रहेर काम गर्नेछु ।'

.......................

खोटागं डम्बरखु शिवालयका डम्बर बहादुर खड्काले जन्मस्थल छाडेको २ दशक नाघिसक्यो । जन्मभूमि छाडेको पनि २ दशक पुग्न लागिसक्यो । तर उहाँको जन्मस्थल प्रतिको माया र देश प्रेम नाप्ने कुनै यन्त्र भए स्वदेशमा भएका कुनै नेपालीको भन्दा कम छैन । यसको आधार थियो केही समय अघि मात्र आफ्नो जन्मस्थल पुग्दाको खुशी बताइरहँदा उहाँको अनुहारमा देखिएको चमक र सँधै उस्तैको राजनीतिक अस्थिरता बनाएर दलहरुले देशमा अवरुद्ध पार्दै आएको बिकासको गतिबारे चिन्ता ।


देशमै नाम र दाम कमाएर पनि अमेरिका, युरोप पलायन भएर भूमिगत भएका अनगिन्ती उदाहरणका नेपाली माझ छ । तर बाध्यताले बिदेशिएर पनि देशको नाम उँचो पार्न लागि पर्ने त्यस्ता नेपालीहरु प्रवासमा भने अनगिन्ति छन् । तर कलाकारीतामा लागेर देशको शिर उचाउने नेपाली भने कमै पाइन्छन् । त्यस्तै मध्येका एक हुन् जगत बहादुर खड्का अर्थात् ज्याक खड्का ।


१८ बर्षअघि जगत बहादुर खड्काको रुपमा विद्यार्थी बनेर जापान आएका ज्याक खड्काले अहिले जापानमा कलाकारको परिचय बनाउनुभएको छ । विज्ञापन, टेलिचलचित्र मात्र हैन सर्ट मुभि र ठूलो पर्दाको चलचित्रमा समेत अभिनय गर्न थाल्नु भएका उनै उदियमात्र कलाकार तथा गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यका उम्मेद्धार जगत बहादुर खड्का 'ज्याक'सँग गरिएको कुराकानी ।


जापान कहिले आउनु भएको हो ?

म २७ बर्षको उमेरमा आएको हो । अध्ययनको लागि १८ बर्ष अघि आएको ।


तपाइको नाम नै ज्याक हो कि त्यतिकै राखेको ?

हैन हैन । मेरो खास नाम जगत बहादुर खड्का हो । जापानीहरुले नाम उच्चारण गर्दा गलत उच्चारण गर्दै जागा बाता खाताखाता मात्र भनेर हैरान भएपनि उनिहरुको सजिलोको लागि ज्याक खड्का राखेको हो । म जगत बहादुर खड्का नै हुँ ।


तपाई जापानी कलाकार कि नेपाली ?

म जापानमा कर्मथलो बनाउँदै आएको नेपाली कलाकार । मात्र यत्ती हो म नेपाली कला क्षेत्रमा नभई जापानी कलाक्षेत्रमा काम गर्छु ।


जापानी कला क्षेत्रमा भनेको के हो ?

म जापानमा टेलिभिजन, बिज्ञापन, टेलिफिलिम, सर्ट मुभि र भर्खरैबाट ठूलो पर्दाको चलचित्रहरुमा काम गर्न थालेको छु ।




अभिनय यात्रा कहिले के बाट थाल्नु भएको हो ।

सन् २००५ मा क्यानोनको क्यामराको एक फोटो सेसनबाट सुरु गरेको हो । त्यसमा चाहिँ ५ ७ वटा क्यामेराले विभिन्न कोणबाट खिच्ने रहेछ अनि बोल्दाखेरी लवज जुंगा कसरी हल्लिन्छ क्यामेराको लेन्सले लिन्छ कि लिन्न भन्ने रहेछ । पहिले देखिनै मैंले अहिलेको जस्तै दाह्रि जुंगा काट्ने गरेको थिएं त्यसैले मलाई सघायो र म यस क्षेत्रमा प्रवेश गरेँ ।


अभिनय गरेर नाम र दाम मात्र कमाइराख्नु भएको छ कि नेपालको गौरब बढाउने काम पनि गर्नुभएको छ ?

म अभिनयमा खास छिरेको नै नेपालको गौरव बढाउन र नेपालीहरु पनि यतिसम्म सक्षम छन् है भनेर जापानमा पनि चिनाउन हो । मैले अभिनय गरेको ट्वान्टिथ सेन्चुरी ब्वाय भन्ने पहिलो टेलिफिलिम नै विभिन्न देशको बारेमा समेटिएर बनाएको थियो र त्यसमा मैले नेपालको प्रतिनिधित्व गरेको थिएं । 


भूमिकाको हिसाबमा कस्तो अभिनय गर्दै आउनुभएको छ ?

नेपाली कलाकारिता र यहाँको तुलना गर्ने हो भने यहाँको क्षेत्र महासागर जस्तै छ । भन्न खोजेको हलिउडसँग तुलना हुन्छ यहाँको फिलिम, टेलिफिलिम, विज्ञापनहरु । यस्तो ठाउँमा मैंले अहिलेनै ठूलो भूमिकामा अभिनय गर्न पाउँछु भन्ने सोचेको छैन । तर यत्ति चाहिँ पक्का हो कि सम्मान र क्षमता अनुसार केही ठूलो भूमिकाहरु पाउँदै जान थालेको छु । टेलिभिजनको रियालीटि शो हरु देखी ठूलो पर्दाको फिलिमसम्म आइपुगेको छु । आफुपनि अभिनयमा निखारिँदै गएकाले अब भने ठूलो रोलहरु पाउँछु भन्नेमा ढुक्क छु ।


जापानी बजार र यहाँका प्रवासी नेपालीले त चिन्लान् तर नेपाली कलाकारीताबारे तपाईको सोच के छ ?

जति नै नाम र दाम कमाएपनि कसलाई रहर हुन्छ र अरुको देशमा रमाउन र अरुकै क्षेत्रमा काम गर्न । म पनि त्यस्तै अभिनय र अवसरको पर्खाइमा छु । आफ्नै देशको कलाकारिता क्षेत्रमा केही गरौं र गर्नुपर्छ भन्ने सोचमा छु । हेरौं समयले कत्तिको साथ दिन्छ सबैकुराले साथ दिएमा केही समय यतै काम गरेर यहीँबाटै पनि र नेपालमा गएर कलाकारीता क्षेत्रमा यहाँको प्रविधि, स्तर र विश्वबजारसँग तुलना गर्ने खालको त्यस्ता विज्ञापन, फिलिमहरु बनाउँन लागि पर्नेछु ।




जापानी कला उद्योगमा ज्याक खड्कालाई के भनेर चिनिन्छ ?

पहिलो मेरो नामसँगै म नेपाली भनेर चिन्छन् । दोस्रो मेरो नामसँगै गोर्खालीको परिचय जोडिन्छ । अनि मेरो मेहनत, इमान्दारितालाई चिन्छन् । भनेको प्रवासमा रहेका हामी नेपालीले आफुसँगै देश, आफ्नो गौरवपूर्ण इतिहाँस र आफ्नो स्वाभिमान र इमान्दारितालाई बढाउने काम गरिरहेका छौं ।


जापानमा सयौं नेपाली संघसंस्था, एनआरएन जस्ता प्रतिनिधिमूलक संस्था छ त्यसमा आवद्धता र त्यसले कस्तो भूष्मिक खेलिरहेको पाउनुहुन्छ ?

तपाईलाई के भनौं । मलाई त नेपालमा पनि यतिधेरै संघसंस्था छैनन् कि जस्तो लाग्छ । जातै पिच्छेको संघ र समाज छ । राजनीतिक दल नै पिच्छेको सम्पर्क के के छ । गाउँ र जिल्लै पिच्छेको छुट्टा छुट्टै संघ संस्था छ । उमेर अनुसारको क्लव, सहयोग के के हो के के ? यतिधेरै छन् कि भनिसाध्य छैन । अब भन्नुस् तिनको काम तिनले के के गर्छन् र गरिराखेका छन् कसरी कसलाई थाहा हुन्छ । भनेको यसलाई व्यवस्थित बनाउनु आवश्यक भइसकेको छ । एक हिसाबले आफ्नो गाउँ जिल्लाको लागि भनेर यस्ता संघ, संगठन बनाउनु राम्रो पनि हो ।

अब एनआरएनको कुरा गर्दा यसले राम्रो काम गरिरहेको छ । तर गम्भिर कुरा भने भने यो भित्र डरलाग्दो अपारदर्शिता हुन थालेको छ । भूकम्प पिडितको नाममा देखी सहयोग गर्ने नाममा उठाइएका सहयोगमा समेत अपारदर्शिता देखिन थालेको छ भनेपनि आफैं बुझ्नुस् यसलाई कति सुधार गर्नु आवश्यक छ भनेर ।


जापानमा अन्य त्यस्ता संघ संस्थाहरु छन् जुन क्रियाशिल र शसक्त छन् ?

पत्रकारहरु पनि यहाँका क्रियाशिल छन् । तर लाज मर्दो कुरा । एउटा अनलाईन चलाउन माओवादीको, अर्को काँग्रेसी, अर्को एमालेको भनेर पार्टी पार्टीको नामबाट चिनिन्छन् । पत्रकार भन्दा बढी राजनीति गरिरहेको जस्तो लाग्छ । तर पनि प्रवासमा रहेर क्रियाशिल भएको पाउँछौं । अरुलाई औंलो ठड्याउने यो समुह मात्र पनि निष्पक्ष र तटस्थ भइदियो भनेचाहिँ अघि माथि भनेकाहरु सबैलाई सुधार्न सकिन्थ्यो । तर जसले अरुलाई सुधार्न घच्घच्याउने हो उनै एउटा एउटा व्यक्ति र गुटको भनेर चिनिए पछि त त्यो के के पत्रकार हुनु । कसैको कार्यकर्ता र शुभचिन्तक भइहाल्यो नि ।


अब अलिकति आफ्नै देशबारे कुरा गरौं । नेपाल कहिले फर्कनुहुन्छ ?

पूर्ण रुपमा नै उतै बस्नेगरि कहिले त ठ्याक्कै भन्न सक्दिन । तर यत्ति चाहिँ पक्का हो हाम्रा नेताहरुको मति र चरित्र सुध्रने हो भने देशले विकासमा ठूलो फड्को मार्छ । त्यत्ति भएपछि हामी बिदेशीनु र बिदेशमा बस्नुपर्ने आवश्यकता नै छैन नि । अनि कहिले फर्कने भन्ने सोच्न र सोध्नै पर्दैन । स्वार्थि नेता, भ्रष्ट कर्मचारी मात्र सुध्रने हो भने देश पाँच बर्षमा विकासमा गर्वगर्ने अवस्थामा पुग्छ । अनि हामीजस्ता विदेशीएका नेपालीको स्वदेश फर्केने लर्को लाग्छ ।


सानो छँदा तपाईलाई के बन्न मन लाग्थ्यो ?

पाइलट बन्न मन थियो । माथि आकाशमा हवाईजहाँज उडेको हेर्थें, अनि त्यसरीनै हवाईजहाँज उडाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । मनमा अझै पनि छ । पैसा भए सिक्थें र उडाउँथे । हेरौं समयले कति साथ दिन्छ ।


जापान आएर के पाउनु र गुमाउनु भयो ?

पाएको कुरा यहि भन्ने छैन । केही पैसा कमाए हुँला, अध्ययन गरें । जापानी कला संस्कृतिबारे सिक्न पाएं । आफ्नो रुचिको कलाकारिता क्षेत्रमा काम गरिरहेको छु । पाउने सवालमा पाउँदैछु भनौं न । गुमाउने कुरामा चाहिं मैंले यि बाहेक सबै कुरा गुमाएको छु ।




यि बाहेक सबै कुरा गुमाएको भन्नाले ?

विदेशी भूमिमा बस्नुपरेको छ । आफ्नो माटो देश छाडेर बस्नु परेको छ । यो सबैभन्दा ठूलो गुमाएको कुरा हो । आफन्त नातागोता धेरै धेरै टाढा हुन पुगेका छन् । त्यो पनि गुमाएकै हो । मातृभुमिको सेवा गर्न पाइएको छैन । भने गुकाएका कुरा अरु के भनिरहनुपर्ला ।

 बुवा नेपालमा हुनुहुन्छ । आमा केही समय अघि मात्र बित्नुभयो । तिन महिना छुट्टीमा घर भएको थिएं । आउनु भन्दा महिना दिन अगाडी मात्र आमा बिरामी हुनुभयो । अस्पताल भर्ना पनि गरियो । उपचार गर्दा गर्दै पनि आमालाई बचाउन सकिन । अब बल्ल केही गर्न सक्छु । आमा बुवालाई खुशीले राख्छु । जिवनमा अब दुधको धारा तिर्ने बेला आयो भनेर सपना बुनेको मात्र के थिएं दैवले आमालाई छिनेर लग्यो । केही महिना अघि मात्र अन्तिम पटक नेपाल गएर आउँदा आमालाई पनि गुमाएर आएं । खुशी बोकेर ल्याउँछु आमा बुवालाई सुखले उहाँहरुले भनेको ठाउँमा बस्ने व्यवस्था मिलाउँछु भनेर गएको थिएं तर आमाको खुशी र सुख हैन मैंले कहिल्यै पाउन नसक्ने त्यो मातृत्व सँधैको लागि गुमाएर मातृत्व गुमाएर फर्कनुपर्यो ।