जापानमा चलचित्र 'छक्का पञ्जा २' प्रदर्शनबाट उठेको रकम बाढी पीडितलाई सहयोग गरिने

Posted on: August 21, 2017 | views: 223

टोकियो । गत साता नेपालको तराई भूभागमा आएको भिषण बाढीका कारण पीडित भएकाहरुको सहयोगार्थ जापानमा वहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शन गरिने भएको छ ।


दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार नाकानो जिरो हलमा पहिलो प्रदर्शन हुने भएको छ भने ८ अक्टोबर आइतबार नाकानो जिरो हलमै दोस्रो प्रदर्शन हुने भएको छ ।


ओटु इभेन्ट्सले आयोजना गर्न लागेकोचलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनर्स्थापनाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।


बाढी र पहिरोमा परि हजारौं नेपालीहरुले संकट पूर्ण रुपमा जीवन यापन गरिरहेका बेला जापानमा रहेर सामाजिक काममा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । साँझ ६ः३० बजे सो सुरु हुने आयोजकले जनाएको छ ।


नाकानो जिरो हल लगत्तै जापानका अन्य शहरहरुमा पनि चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा पनि प्रदर्शनको कार्य योजना बनिरहेको आयोजकले जनाएको छ । चलचित्र प्रदर्शनको इभेन्ट म्यानेजमेन्ट भने सनराईज प्रोडक्सनले गर्ने भएको छ ।


इभेन्ट्सले गर्न लागेको सकारात्मक कामका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानले पनि चलचित्र प्रदर्शनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएको छ । इभेन्ट्सले आफूहरुले एनआरएनए मार्फत् नै सहयोग रकम नेपाल पठाउने जनाएको छ ।


इभेन्ट्स यति बेला आवश्यक सबै प्रकारका तयारीमा जुटेको छ । जापानमा क्रियाशील संघ संस्था र जापानमा रहेका नेपालीहरुलाई आफूहरुको पवित्र कार्यमा सहयोग गर्न पनि इभेन्ट्सले आग्रह गरेको छ ।


दिपाश्रीको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।