जापानका परराष्ट्र राज्यमन्त्रीसँग राजदूत राजभण्डारीको ६० औं बर्षगाँठ कार्यक्रमबारे छलफल

Posted on: May 02, 2016 | views: 324

१४ चैत, टोकियो ।
जापानका लागी कार्यवाहक नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले यहाँका परराष्ट्र राज्यमन्त्री सेइजी किहारासँग नेपाल जापान सम्वन्धको ६० औं बर्षगाँठको विषयमा छलफल गर्नुभएको छ ।

भेटका क्रममा जापानका लागी कार्यवाहक नेपाली राजदूत राजभण्डारीले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं बर्ष पुरा भएको उपलक्ष्यमा सन् २०१६ भरि दुबै देशमा हुने विभिन्न कार्यक्रमका बारेमा जानकारी गराउनु भएको छ ।

शनिवार यहाँ स्थित परराष्ट्र मन्त्रालयमा भएको बिशेष समारोहमा कार्यवाहक राजदूत गेहेन्द्रराज राजभण्डारीले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं बार्षिकोत्सबको लोगो समेत संयुक्त रूपमा अनावरण गर्नुभएको थियो ।

जापानी डिजाईनर हीरोमीचु कोनोद्वारा तयार गरिएको सो लोगोमा विश्वको सर्वोच्च शिखर सगरमाथा र जापानको सबैभन्दा अग्लो फूजी हिमालका साथै नेपालको राष्ट्रीय फूल लालीगुरांस र जापानको राष्ट्रीय फूल साकुरा अंकित गरिएको छ ।

समारोहमा विश्वमै सबैभन्दा बढि उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जापानी नागरिक यीउचिरो मीउरालाई सद्भावना राजदूत समेत घोषणा गरिएको छ ।

सद्भावना दूत घोषणा पछि मीउराले नेपाल र जापानबीचको सम्बन्धलाई थप बलियो र बिस्तार गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउँदै दुई देश बीचको पुल बन्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरि सो विशेष समारोहलाई सम्बोधन गर्दै जापानी परराष्ट्र राज्यमन्त्री सेईजी किहाराले दुईदेशबीचको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन यो बर्ष विशेष रहेको बताए ।

जापानले गत बैशाख १२ गतेको विनाशकारी भूकम्प जस्ता विपतको घडीमा नेपाललाई साथ दिएको उल्लेख गर्दै जापान जुनसुकै परिस्थितिमा पनि नेपालको साथ रहने बताउनुभयो ।

http://outlinenepal.com/japan/wp-content/uploads/2016/03/nepal-japan-logo.jpg
कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै कार्यवाहक राजदूत गेहेन्द्रराज राजभण्डारीले दुई देशबीचको सम्वन्धलाई मजवुत बनाउन जापान सरकार र जापानी नागरिकहरूले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

साथै कार्यवाहक राजदूत राजभण्डारीले नेपालमा भूकम्प गएको बैशाख १२ गतेको दिनको ११ बजेर ५६ मिनेटको समय पारेर जापानमा हुन लागेको धन्यवाद कार्यक्रम सहित विविध कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।