एनआरएनए जापान अध्यक्षमा टासी लामा सहित महासचिव र कोषाध्यक्ष सर्वसम्मत, यसरी भयो सहमती

Posted on: August 13, 2017 | views: 1320

टोकियो ।

गैरआवासीय नेपाली संघ 'एनआरएनए' जापानको ८ औं राष्ट्रिय अधिवेशनबाट २०१७-०१९ को अध्यक्षमा टासी वाङदी लामा सर्बसम्मत चयन भएका छन् ।


आइतबारबाट राजधानी टोकियोको निशिगी चिइकी कुमिन सेन्टरमा सुरु भएको महाधिवेशनले अध्यक्षका दावेदार अनुज थापालाई रिक्त अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा सिफारिस गर्दै लामालाई अध्यक्षमा चयन गरेको हो ।


एनआरएनएका भावी अध्यक्षका दावेदार केन्द्रीय उपाध्यक्ष भवन भट्टको सक्रियतामा लामा अध्यक्षमा चुनिएका हुन् । यसैगरि महासचिव र कोषाध्यक्षमा समेत महाधिवेशनमा सहमती जुटेको छ ।


महासचिवमा निवर्तमान कार्यसमितिमा सचिव रहेका बुद्धिप्रसाद घिमिरे निर्विरोध चयन भएका छन् । महाधिवेशनमा भएको नेतृत्वबिचको सल्लाहका क्रममा महासचिव दावेदार विश्वेश्वर रेग्मीले सर्वसम्मत नेतृत्वको लागि उम्मेद्धारी फिर्ता लिन तयार भएपछि घिमिरे महासचिवमा चयन भएका हुन् ।




यसैगरि महाधिवेशनले उपाध्यक्ष, महिला उपाध्यक्ष, महिला सदस्य सहित सदस्यमा सहमती जुटाउन नसकेपछि कोषाध्यक्षमा भने सहमती जुटाएको छ ।


कोषाध्यक्षका उम्मेद्धार प्रल्हाद सिंह महत र महेन्द्र कुमार अधिकारी उम्मेद्धारी फिर्ता लिन तयार भएपछि कालिका थापा कोषाध्यक्षमा निर्विरोध चयन भएकी छिन् ।


एनआरएनए जापानको नेतृत्वमा यसअघिनै वरिष्ठ उपाध्यक्ष र सह कोषाध्क्षमा एकजनाको मात्र उम्मेद्धारी परेपछि निर्विरोध चयन भइसकेका छन् । बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी र सह–कोषाध्यक्षमा राम थापा अनिल को मात्रै उम्मेदवारी परेको थियो ।


सर्वसम्मत नेतृत्व दलिय भागवण्डा जस्तै



यसअघि अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा पाँच जनाको मात्र उम्मेद्धारी परेर ६ जनामा पाँचै जना निर्विरोध हुँदा चार दल आवद्ध पाँच जना निर्विरोध भएजस्तै हाल सर्वसम्मत नेतृत्वमा समेत दलिय भागवण्डाको अवस्था देखिएको छ ।


जस अनुसार अध्यक्षमा सर्वसम्मत भएका टासी लामा नेपाली काँग्रेस आवद्ध रहेका छन् । उनि नेपाली काँग्रेसको भातृ संस्थाको जापानमा आवद्ध सक्रिय नेता समेत हुन् ।


यसैगरि महासचिवमा सर्वसम्मत बुद्धिराज घिमिरे नेकपा एमाले आवद्ध हुन् । उनि नेकपा एमाले जापान संगठनको नेतृत्वमा समेत रहँदै आएका छन् ।


यता कोषाध्यक्षमा चयन हुनुभएकी कालीका थापा भने माओवादी केन्द्र आवद्ध हुन् । तीन दलिय भागवण्डाको आधारमा समेत उपाध्यक्षमा धेरै दावेदार देखिएपछि सर्वसम्मत चयन गर्न नसकिएपनि तीन पदमा भने देशका तीन ठूला दल आवद्ध व्यक्तिहरु एनआरएनए जापानको प्रमूख पदमा चयन गरिएको देखिन्छ ।