बुद्धिको १२ बर्षे क्षमता र अनुभवको अर्को खुट्कीलो अर्थात् अबको एनआरएनए जापानको महासचिव !

Posted on: August 09, 2017 | views: 739

गोकर्ण अधिकारी-टोकियो ।

'लगभग मैंले ७५ प्रतिशत महासचिवको भूमिका निभाएं' कुराकानीका क्रममा गैरआवासिय नेपाली संघ जापानको सचिव रहेका बुद्धिराज घिमिरेले दाबीका साथ भने 'जुन पदको भूमिका मैले एक पद तल रहेरपनि निभाएं अहिले त्यही पदको दाबी गर्दै महासचिवमा उम्मेद्धारी दिएको हुँ यसमा पदको लोभ वा अरु केही स्वार्थ छैन ।'

एकघण्टा १७ मिनेट लामो (अडियो हेर्दा) संवादका क्रममा धेरै खुलेर केही अड्कलेर प्रस्तुत भएका घिमिरेले अहिलेको एनआरएनए जापान कार्यसमितिले सोचे अनुसार काम गरेको भएपनि जापानवासी नेपालीहरुले गरेको धेरै अपेक्षा हेर्दा थोरै मात्र काम गरेको देखिएको बताए ।

'संस्थागत रुपमा व्यवस्थित र पारदर्शी बनाउन सचिवको रुपमा जिम्मेवारी अनुसार आफुले शतप्रतिशत भूमिका निभाएको' दाबी गर्दै घिमिरेले अब महासचिवको भूमिकामा रहेर जापानमा रहेका नेपालीहरुको लागि अझै बढी कामगर्ने प्रतिवद्धता संवादका क्रममा गरिरहे ।

महासचिवमा उम्मेद्धारी दिएका घिमिरेले केही विश्वासका साथ भने -'महासचिवमा विश्वेश्वर जिले उम्मेद्धारी दिनुभएको छ तर उहाँले आफ्नो उम्मेद्धारी दिएर सघाउनुहुन्छ भन्ने मेरो दृढ विश्वास छ ।'

१२ बर्षे जापान यात्राका संघर्षका दिनहरु



'भन्नलाई १२ बर्षमा खोला फर्कन्छ भन्छन् तर मेरो मन चाहिं नेपाल फर्कन थालेको छ व्यवासायका कारण भने म जापानमै रहेको छु ।' रेष्टुरेण्ट तथा रेमिटेन्स व्यवसाय गर्दै आएका घिमिरेले भने -'परिवारको लागि नेपालमा बस्ने बास र गर्जो टार्न हात फैलाउन नपर्ने केही सम्पत्ती जोडेको छु त्यही हो १२ बर्षे जापान यात्राको कमाई ।'

पारिवारिक अवस्थाबारे खुलाउँदै घिमिरेले भने -'तर मैले सबै परिवार भने नेपाल पठाएको छु । छोरीको पढाई आदि कारण नेपालनै उपयुक्त छ भन्ने लागेर म बाहेक सबैपरिवार नेपालमा छन् ।'

जापान आउँदाका सुरुका संघर्षका दिनमा एउटै कोठामा ६/७ जना बस्नुपर्ने अवस्था, पैसा वा समस्या पर्दा सहयोग गर्ने कोही व्यक्ति वा अहिलेको जस्तो संघसंस्थाहरु कोही नहुँदा पाएका दुखका चागं बुद्धिराज घिमिरेले १२ बर्षे जापान यात्रामा पाएका अहिलेका विद्यार्थीहरुको जस्तै सघर्षका दिनहरु थिए । घिमिरे दाबी गर्छन् -'उतिखेरको अवस्था हेर्दा अहिले धेरै कम समस्या छन् ।'

कमाएको केही रकम अन्जान व्यक्तिकै भरमा नेपाल पठाउनुपर्ने बाध्यता, पैसा पठाउँदा समेत कमिसन जति भन्यो त्यति तिरेर हुण्डीको जोखिम मोलेर पठाउनुपर्ने अवस्था उतिबेला थियो ।

संघर्ष र पिडाको ति दिनहरुको चांगबाट एउटा दुखद क्षण सुनाउँदै घिमिरेले भने -'नेपालबाट बुवा वितेको खवर आयो । काममा जानै पर्ने थियो । कपाल खौरेर काममा गएं । कामगर्ने जापानीज मेनेजर "हाँसेर कामगर" भन्छ आफ्नो मन रोइरहेको छ बुवा वितेको पिडामा ! धन्न बल्ल तल्ल बिदा पाएं अनि तेस्रोदिन नेपाल हिंडे ।' बुवाले आफुमाथी गरेको सपना सम्झंदै आँखामा टिलपिल आँसु पार्दै घिमिरेले भने -'छोराको बिवाह, बुहारी जापानमै लगेको, नाती नातिना खेलाउने, काठमाडौंमा घर अनि सबै परिवार सँगै बस्ने बुवाको त्यो सपना त पुरा गर्न सकिन न अन्तिम सास जाँदा साथ दिन सकें न त पार्थिव शरिर नै देख्न पाएं ।'



जापान आएका वा आउने चाहना राख्ने धेरैको सपना हुन्छ सपरिवार जापान बस्ने, बालबच्चालाई जापानमा पढाउने पैसा कमाउने आदि । तर यि सपनाका बावजुद पनि ४ बर्षिय छोरीले भनेको एक बचनमै विक्षिप्त बनेका बुद्धिराजले अध्ययन र भविष्यको खातिर परिवार नेपाल पठाए र चाह हुँदा हुँदैपनि परिवारबाट टाढा रहेर बसिरहेका छन् ।

'मेरो सपना र लक्ष्य सामाजिक सेवा त हुँदै हो सँगै परिवारको आकांक्षामा साथ र उनिहरुको सपना साकार गर्न प्रेरित र सहयोग गर्नुपनि कर्तव्य हो । तर एकदिन ४ बर्षिय छोरीले बाबा तपाईहरुले मेरो भविष्य बिगारिदिनुभयो' भनेर साथीभाई जमघटको बेलामा भनेपछि घिमिरेका आँखा त्यसै रसाए र उनलाई गम्भिर बन्न बाध्य बनायो ।

छोरीलाई जापानमा पढाएर राम्रो भविष्य बनाउने चाहना हुँदा हुँदै सन्तानले भने आफ्नो आकांक्षा विपरित समाज र सभ्यताबाट पर राखेको त्यो बालापनको मनको आवाजले पिरोलिएपछि घिमिरेले पारिवारिक सल्लाहमा तत्काल नेपालमा अध्ययन गर्ने मेलोमेसो मिलाएर पठाएसँगै सन्तानको रेखदेखको लागि श्रीमतीपनि नेपाल गएपछि पारिवारिक एक्लोपन महसुसभएपनि उनि सन्तानको सन्तुष्टिमा आत्मसन्तुष्ट नै देखिए ।

केही पारिवारिक र संघर्षका कथापछि फेरी एनआरएनकै चुनावी मुद्दामा केन्द्रित हुँदै गर्दा आम रुपमा चित्रित गरिंदै आएको "एनआरएन पैसावालहरुको संस्था" भन्ने भनाईको खण्डन र व्याख्या गर्दै घिमिरेले यस्ता आधार राखे ।



"तपाई आफैं भन्नुस् संस्थामा लागेर समाजिक सेवा गर्छु भनेर हिंडेपछि कहीं नेपालीलाई समस्या पर्छ बोलाउँछन् । काममा भएपनि जानैपर्छ । सँधै पायक ठाउँमा जाने काममात्र पर्दैन टाढा हुन्छ छिटो पुग्नुपर्ने काममा ट्याक्सी चढ्नै पर्यो । काम छाडेर हिँड्नुपर्ने त्यतापनि गुमाउनुनै पर्यो । अनि जे कामको लागि गएको खाजा, खाना, केही खर्च लाग्ला, समस्या देखेपछि सहयोग माग्छन् सकेको गर्नै पर्यो । अनि सहयोग गर्नेकि नगर्ने ? यि सबै कामको लागि पैसा नै चाहिन्छ, मन मात्र भएर के गर्ने ? एउटा कुरा चाहिं सत्य हो केही पैसा नभएको वा समय दिन नसक्ने अनि एनआरएनको बारेमा जाने बुझेको छैन भने सामाजिक सेवा मात्र गर्छु भनेर हिँड्नु कुरा मात्र हुन्छ । सहयोग गर्नुपनी पर्ने अनि पैसावालहरुको संस्थापनि भन्ने यो कुरा आफैंमा विवादीत हो ।"

पैसाकै कुरा गर्दा एनआरएको खातामा अनुमानित ३ हजार मान रहेको हुनसक्ने भन्दै घिमिरेले हजार मान बढी पछिल्लो पटक सदस्यता बापतको शुल्कबाट उठेको बताए ।
'एनआरएनको कुनै आम्दानी नै छैन' घिमिरेले भने -'कुनै कार्यक्रम गर्यो भने बचेको पैसा, सदस्यता शुल्क, कसैले गरेको सहयोग नै एनआरएनको आम्दानी हो । हाम्रो कुनै नियमीत आम्दानी हुने न व्यवसाय छ न श्रोत नै अनि आफ्नै खर्चमा एनआरएनको कार्यक्रम वा सामाजिक काममा हिँड्दा पनि पैसावालहरु भनेर कहाँ हुन्छ !'



कुराकानीको अन्त्यतिर एनआरएन नेतृत्वका लागि दावेदारहरुको संख्या धेरै भएको र सेवाभाव भन्दा नेतृत्व सम्हाल्दा के के न हुन्छ जसरी उम्मेद्धारी दिएको भन्दै सटिकमा बुद्धिराज घिमिरेले भने -"समय, श्रम र केही सम्पती पैसा पनि म समाजको लागि खर्च गर्छु भन्ने क्षमता र मन भएकाहरु एनआरएनमा आउनुपर्छ । एनआरएनमा गयो भने पैसाको खोलो बग्छ जसरी लोभिएर आएकाहरुले पछि थाहा पाउनेछन् यहाँ लिन होइन दिन मात्र जाने ठाउँ रहेछ भनेर । त्यस्ता व्यक्तिहरु विगतमा पनि संस्थामा आएर पछि निस्क्रिय भएका छन् । त्यसले संस्थालाई मात्र हानी गर्छ ।
त्यसैले अझैपनि केही विग्रिसकेको छैन, उम्मेद्धारी दिएकाहरुले आत्मसमिक्षा गरेर अरुलाई सहयोग गर्दै हातमालो गर्नसक्छन् । सामाजिक संस्थामा लाग्नेहरुका लागि उहाँहरुको त्यो कामले अरुलाईपनि त्याग गर्न प्रेरित गर्छ । एनआरएनमा आवद्धभएर गर्ने समाजसेवा भनेकोपनि यस्तै त्याग हो ।"