गगन थापाले अञ्चल अस्पताल प्रमुख नियुक्त गरेकाकै अवैध नर्सिङ होम, समाचार लेखे कुट्ने धम्की

Posted on: April 27, 2017 | views: 559

जनकपुर ।

स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै चर्चा गरिएका स्वास्थ्य मन्त्री गगन थापाले नियुक्त गरेका जनकपुर अञ्चल अस्पतालका प्रमूख रामपरीक्षण यादवले अवैध नर्सिङ होम चलाउँदै आएको खुलासा भएको छ ।


अवैध रुपमा नर्सिङ होम चलाएको बारे सोध्दा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादवले यसबारेमा समाचार लेखे पत्रकारलाई बाँधेर कुट्ने भन्दै धम्की दिएका छन् ।


जनकपुर अञ्चल अस्पताल नजिकै करिव दुई दशकदेखि अबैध रुपमा कृष्णा नर्सिङ्घ होम प्रालिको नाममा चलाउँदै आएका यादवलाई स्वास्थ्य मन्त्री गगन थापाको सिफारिसमा मन्त्रालयले केहीदिन अघिमात्र मेसुमा नियुक्त गरी पठाएको हो ।


मेसु यादवले ओपिडीको समयमा पनि अञ्चल अस्पतालको काम छाडेर आफ्ना निजी नर्सिङ्घ होममा समय दिने गरेका छन् । मेसु यादवको कृष्ण नर्सिंग होमको कार्यालयमा कुनै तथ्यांक नरहेको जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।


आर्थिक वर्ष २०५२र०५३ मा स्वास्थ्य सेवा विभागबाट ६४६ ‘क’ नम्बर दर्ता प्राप्त गरेको यस अस्पतालको मुल गेटमा लेखिएको छ । तर जिल्ला जनस्वास्थ्य कार्यालयमा सिफारिसको कुनै तथ्यांक छैन ।

जबकी स्वास्थ्य सेवा विभागमा दर्ता गराउन जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य चाहिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर यो नर्सिङ होमको कुनै सिफारिस र तथ्यांक नभेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


सरकारले देशैभरिका सरकारी अस्पतालमा सरकारले बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवा अनिर्वाय सञ्चालन गर्ने निर्देशन दिएको छ । तर जनकपुर अञ्चल अस्पतालका मेसु यादव सरकारी निर्देशनको बेवास्ता गर्दै अधिकाशं समय आफ्नै निजि अस्पतालमा काम गर्नेगर्छन् ।


जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको बारे सोध्दा यादवले आफू विरुद्ध कुनै पत्रकारले समाचार लेखे घरमै पुगि बाँधेर जुत्ताले कुट्ने भन्दै तथानाम गाली र धम्की दिंदै हप्काएको धनुषाका पत्रकार शैलेन्द्र महतोले उल्लेख गरेका छन् ।