डेंगु र स्क्रब्स टाइफसको संक्रमण बढ्दो

Posted on: October 30, 2016 | views: 214

१४ कार्तिक, नेपालगञ्ज ।
नेपालगञ्जमा पनि डेंगु र स्क्रब्स टाइफस रोगको संक्रमण बढ्दै गएको पाइएको छ । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा ७० जनाभन्दा बढी स्क्रब्स टाइफस र डेंगुका बिरामी उपचारका लागि आएका अस्पतालहरुले जनाएका छन् ।

नेपालगञ्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेंगु र स्क्रब्स टाइफस रोगका बिरामी आएका हुन् । अस्पतालका निर्देशक डा. एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेंगु भेटिएको छ ।

ती मध्ये अधिकांशलाई उपचार गरेर घर पठाइसकिएको, केहीलाई भारतको लखनउ र काठमाण्डौ रिफर गरिएको तथा अझैं केहीको उपचार भइरहेको निर्देशक डा. किदवाईले जानकारी दिनुभयो ।  डेंगु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका तथा अन्य कैलाली, सुर्खेत, दाङ, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भेरी अञ्चल अस्पतालमा पनि डेंगुका दुईजना र स्क्रब्स टाइफस रोगका १० जना बिरामी आएको अस्पतालले जनाएको छ । भेरी अञ्चल अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवका अनुसार एक जना नेपालगञ्जका र एकजना दाङका बिरामीमा डेंगु देखिएकोमा उनीहरुको उपचार भैरहेको तथा स्क्रब्स टाइफस रोगका १० भन्दा बढी बिरामी भर्ना रहेको बताउनु भयो ।

उहाँले डेंगु परिक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र विभागमा माग गरिएको जनाउँदै डेंगुु बढ्ने संकेत देखिएकाले समयमै सबै सचेत हुनुपर्ने सुझाव दिनुभयो ।