आज धन्वन्तरी जयन्ती मनाइयो

Posted on: October 28, 2016 | views: 308

१२ कार्तिक, काठमाडौं ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइयो ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दूशास्त्रमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरीजयन्ती मनाउन थालिएको थियो ।

प्राचीन आयुर्वेद चिकित्सा उपचारपद्धती मधुमेह, श्वासप्रस्वास, जण्डिस, हाडजोर्नी, पिनास लगायत विभिन्न रोगको उपचारका लागि महत्वपूर्ण रहेको विज्ञहरुले बताएका छन् ।