कोरोनाको दश लाख डोज आज नेपालमा आइपुग्ने

Posted on: January 21, 2021 | views: 90


विदुर । भारत सरकारले १० लाख डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अनुसार भारतले उपलब्ध गराएको खोप आज नेपाल ल्याउन लागिएको हो । 

स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप आज बिहीबार काठमाडौं आइपुग्ने जानकारी दिनुभयो । 

भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्रा–जेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘ए.जेड.डी १२२२’ नामक खोपलाई भारतको एस.आई.आई.ले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो । 

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी लगायत सुरक्षाकर्मीहरुलाई दिइने जनाईएको छ ।