नयाँ प्रजातीको कोरोनाबाट बच्न विज्ञको अपिल

Posted on: January 20, 2021 | views: 90


विदुर । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट तीन जना संक्रमित भएको पुष्टि भएपछि विज्ञहरूले थप स्वास्थ्य सतर्कतामा जोड दिएका छन्् । 

बेलायतबाट नेपाल आएका २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले एक महिना अघि स्वादेश आएका दुई जनाको नतिजा नआउँदै गएको आइतबार बेलायत फर्किसकेको जानकारी दिनुभयो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एक महिना अघि बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएको पुष्टि गरिएको थियो । बेलायतमा नयाँ प्रजातिको भाइरस देखिएपछि लकडाउन गरिएपनि त्यहाँ संक्रमण बढिरहेकाले नेपालले पनि उच्च सतकर्ता अपनाउदै अहिले भैरहेका लापरबाही रोक्नुपर्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूले चिन्ता जनाएका छन् । छिमेकी मुलुक भारतमा समेत बाहिरबाट आएकाहरूमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले पछिल्लो समय विदेशबाट आउनेहरू कडा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताउनुभयो ।