नेपालमा पनि भित्रियो नयाँ प्रजातीको कोरोना

Posted on: January 20, 2021 | views: 104


विदुर । बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट अर्थात् बी–११७ कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै बेलायतबाट आएका तीन जना नेपालीमा त्यहाँको जस्तै नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार केही दिन अघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो । उनीहरुको नमुना पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोनाको सक्रमण्ण पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । 

केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ अर्थात नयाँ प्रजातीको कोरोना भएको आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो । हङकङ प्रयोगशालाबाट सोमबार प्राप्त भएको इमेलमा बेलायतमा देखिएकै नयाँ स्वरूपको कोरोना नेपालीमा देखिएको पुष्टि भएको हो । 

यसैबीच, मन्त्रालयले यो पहिलो पटक नयाँ प्रजातीको कोरोनाको सक्रमण जाँच गर्न पठाउदाँ पुष्टि भएकाले यसअघि बेलायतबाट आएका व्यक्तिलाई सक्रमण देखिएमा पनि समुदायसम्म जान अनुमति दिने गरेको थियो । 

यसअघि पनि कोरोना देखिएका व्यक्तिमा समेत नयाँ प्रजातीको कारोना भए नभएको जाँच गर्न नमूना नपठाएकाले यसअघि स्वदेश आइएकाहरु पनि नयाँ प्रजातीको कोरोनाको सक्रमण हुनसक्ने भएकाले सतकर्ता अपनाउन अपिल गरिएको छ ।