खोटाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Posted on: December 29, 2017 | views: 271
खोटाङ । सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि खोटाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका १२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु भएको हो । १२ महिनासम्मका ४ हजार १२० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । खोटाङ ३१ औं पूर्ण खोप सुनिश्चितता जिल्ला बनेको छ । २०७१ साल चैत्र १८ गते तत्कालिन गाविस डाँडागाउँबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान गत असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाका ५ वडालाई पूर्ण खोप सुनिश्चितता घोषणासँगै टुंगिएको थियो । पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाकाक्रममा सहयोग पु¥याउने संघसंस्था तथा पत्रकारलाई सम्मान गरिएको छ ।