नगरपालिकामा ‘पूरानो फोहोर हटाउ’ अभियान

Posted on: December 16, 2017 | views: 247

खोटाङ ।

‘सफा र सुन्दर नगरपालिका’ निर्माणका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले ‘पुरानो फोहोर हटाउ’ अभियान चलाउने तयारी गरेको छ । १५ वडा रहेको नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानमा वर्षौदेखि थुप्रिएको पुरानो फोहोर बाधकका रुपमा देखिएपछि रुपाकोट मझुवागढी नगरपालिकाले पुरानो फोहोर हटाउनका लागि सप्ताह व्यापी सरसफाई अभियानको घोषणा गरेको छ । पुरानो फोहोरलाई हटाएर सरसफाईका नियमित कामलाई निरन्तररुपमा सञ्चालनका लागि पुस ५ गतेदेखि एक हप्तासम्म सरसफाई अभियान चलाइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । 

कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिसँगको सम्झौता अनुसार दिक्तेलबजारका घर, पसल तथा होटलबाट निस्कने फोहोरमैला व्यवस्थापनको काम थालिए पनि पुरानो फोहोरमैला यथावत रहेकाले नगरपालिकाले स्थानीय संघसंस्था, उद्योगी, व्यवसायी, शिक्षण संस्था लगायतको सहयोगमा पुरानो फोहोर हटाउन अभियान चलाउन लागेको हो । पुरानो फोहोर हटाउनका लागि शनिबार नगरपालिकाले नगरबासीसँग छलफल चलाएर सुझाव संकलन गरेको छ । 

पुरानो फोहोर ल्याण्डफिलसाईटमा लगेर फालिए पछि दैनिकजसो निस्कने फोहोरमैला कन्ट्रयाक्टर कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिले व्यवस्थापनका काम गर्ने नगरपालिकाले जनाएको छ । व्यक्तिगत, घर, सार्वजनिकस्थल लगायतको सौन्दर्यका लागि सरसफाई संस्कृतिको विकास गर्दै पाँच वर्षभित्र नगरपालिकालाई सरसफाईयूक्त बनाउने नगरपालिकाको योजना छ । पुरानो फोहोर हटाउनका लागि नगरपालिकाले ल्याएको अभियानमा उत्साहित व्यवसायी, शिक्षण संस्था, स्थानीय लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

नगरपालिकालाई पूर्णसरसफाईयूक्त घोषणाका लागि पुस ५ गतेदेखि हप्ता दिनसम्म दिक्तेलबजारका जयपुरेडाँडा लगायतका स्थानमा थुप्रिएका फोहोरमैला अभियानका रुपमा हटाइने छ । हप्ता दिनको समय अपुग भए केही दिन समय थप हुने मेयर रिजालले बताउनुभयो । 

खोटाङबजारबाट २०२२ सालमा सदरमुकाम सारिएको दिक्तेलस्थित जयपुरेडाँडामा २०६३ साल यता नियमित फोहोरमैला थुपार्ने गरिएको छ । फोहोर फाल्ने ल्याण्डफिलसाईट अभावमा स्थानीय व्यवसायीले मादक पदार्थका बोतल, शिशा, प्लाष्टिक, धातुका टुक्रा लगायतका फोहोरमैला थुपार्दा जयपुरीडाँडामा फोहोरमैलाको थाक नै लागेको छ । स्थानीय तहको निर्वाचन अघि जिल्ला समन्वय समिति, प्रशासन, तत्कालिन नगरपालिकाको कार्यालय लगायतको सहकार्यमा जयपुरीडाँडाको फोहोर हटाइए पनि स्थानीयले पुःन फोहोर थुपारेको छ ।