पर्वतमा भाइरल ज्वरोका बिरामी बढे

Posted on: August 28, 2017 | views: 304

कुश्मा ।

केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप  बढेको छ ।

अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ।

अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयअनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ ।

बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा वुद्धिबहादुर थापाले जानकारी दिए ।  वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने अस्पतालका डा थापाले जानकारी दिए । १५ शैय्याको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक शैय्याको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ ।

गाउँरगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइको छ । जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको जनाएको छ ।