सर्वोच्च शिखर सगरमाथाबाट हामफाल्दा… (फोटो फिचर)

Posted on: May 03, 2016 | views: 351

काठमाडौं । सगरमाथामा स्काई डाइभिङ ! सुन्दै आङ सिरिङ्ग भएर आउँछ । कहिल्लै नसोचेको शाहसिक खेल स्काई डाइभिङको अनुभव बटुल्ने अवसर मिल्यो ।

विश्वकै सबैभन्दा साहसिक खेलका रुपमा परिचित स्काई डाइभिङ नेपालमा एक्स्पोलोर हिमालयले गर्दै आएको छ । एक्स्पोलोर हिमालयले वर्षको एक पटक सगरमाथामा र एक पटक पोखरामा स्काई डाइभ गराउँछ ।

म अहिले एउटा ट्राभल शो बनाउँदै छु । ट्राभल शोमा विभिन्न सातवटा इपिसोड रहनेछन् । जसमध्ये पहिलो इपिसोडमा शाहसिक खेल समावेश गर्ने क्रममा स्काई डाइभिङमा मेरो ध्यानाकर्षण भयो ।

 

यही क्रममा मेरो एक्स्पोलोर हिमालयका अध्यक्ष सुमन पाण्डेसँग भेट भयो । सुमन सरले पोखरामा आयोजना हुने स्कार्इ डाइभिङमा सहभागी हुन निमन्त्रणा दिइसक्नु भएको थियो । पोखरामा नोभेम्बर १३ तारिखमा स्काई डाइभिङ हुँदै थियो ।

तर, एक्कासी नोभेम्बर १ तारिखमा बोलाएर भन्नुभयो- ‘के तिमी सगरमाथामा स्काई डाइभिङ गर्न चाहान्छौ ?’ मसँग खुशीको सामाना गर्ने क्षमता नै  रहेन । मैले एकै सासमा हुन्छ जान्छु भनें ।

 

 

स्काई डाइभिङको तयारीका लागि मसँग केवल एक दिनमात्र थियो । पहिला कहिल्लै ट्रेकिङ नगरेको हुँदा म अलि आत्तिएँ । सबैभन्दा पहिला पसलमा गएर दुई/दुई जोर ट्रेकिङ पाइन्ट र ज्याकेट किनें । साथीसँग गो प्रो क्यामेरा पनि सापटी लिएँ । यति नै थियो मेरो जिन्दगीको सबैभन्दा ठूलो ‘एडभेञ्चर’को तयारी ।

पहिलो दिन

 

एभरेष्ट स्काई डाइभको टिममा १० जना व्यवसायिक स्काई डाइभर थिए, म चाँही एघारौं सहभागी । उनीहरुसँग पहिलो भेट लुक्ला एयरपोर्टमा भयो । सबैसँग एकैचोटी परिचय हुँदा मलाई १/२ जनाको बाहेक अरुको नाम याद रहेन ।

छोटो परिचयपछि हामी फग्दिङको लागि रवाना भयौं । करिव २/३ घण्टाको पैदलयात्रा निकै रमाइलो भयो । हाम्रो पहिलो रात्रि बास फाग्दिङ थियो ।

दोस्रो दिन

 

हाम्रो टिमका अनुभवि ट्रेकर टेड एडकिङ्सनले ब्रेकफाष्ट खाने बेलामा सबैलाई केही महत्वपूर्ण सुझावहरु दिनुभयो । हाम्रो लक्ष्य नाम्चे बजारसम्म पुग्ने थियो । मोञ्जु गाउँमा लञ्च खाएर हामी करिव ४/५ घण्टाको पैदल यात्रापछि नाम्चे पुग्यौं ।

हाम्रो एक्स्पिडिसनभरी योमात्र सबैभन्दा गाह्रो यात्रा रहेछ । सास नै रोकिएला कि भन्ने अवस्थामा याकका बच्चाहरु बाटोमा भेटिँदा र उनीहरुसँग खेल्दा फेरी जोश भरिएर आउँथ्यो ।

तेस्रो दिन

 

हामी एक दिन नाम्चेमा बस्यौं । त्यहाँको लाइफ स्टाइल देखेर म एकछिन छक्क परेँ । ट्रेकर्सहरुको लागि त्यहाँ छुटेको सामान किन्नमात्र नभएर, नाम्चेको क्याफे र नाइट लाइफले राम्रै मोहित बनाउँदो रहेछ ।

नाम्चेमा बसेको दोस्रो दिन ४ जना स्याङबोचेसम्म हिँड्दै गयौं, फर्किएर त्यहाँको चर्चित क्याफे ८८४८ मा कफी र केक खायौं । अनी डिनर खाएर डाँफे डान्स बारमा गएर पुल खेल्यौं, मज्जाले डान्स गर्‍यौं । हिमालमा यति रमाइलो हुन्छ भनेर मैले त सोँचेको पनि थिएन ।

चौथो दिन, नोभेम्बर ५

 

चौथो दिन हामी स्याङबोचे जानु थियो । करिव १ घण्टाको उकालो मलाई खासै गाह्रो लागेन । ३७८० मिटरको उचाइमा रहेको स्याङबोचे नै एभरेष्ट स्काई डाइभको बेस रहेछ । त्यहाँको फिञ्जो लज चाँही हाम्रो अफिस बन्यो, पानारोमा होटल सबै जनाको घर । मौस राम्रो भएमा भोली देखि नै स्काई डाइभ सुरु हुने हाम्रो टिम लिटर टोम नुनाले जानकारी दिए ।

पाँचौं दिन

 

एकै छिनमा घमाइलो र एकै छिनमा बादल आएर छौप्ने यो हिमाली क्षेत्रको मौसम निकै चञ्चल हुँदो रहेछ । स्काई डाइभको पहिलो दिन हामीमध्ये केहीले मात्र डाइभ गर्‍यौं । ती टेष्ट डाइभहरु थिए । मेरो डाइभ भोलीको लागि निर्णय भयो ।

छैठौं दिन 

बिहान उठेर हेर्दा एउट पनि बादल थिएन, केवल निलो आकाश । पहिलो पटक स्याङबोचेबाट हाम्रो वरिपरी भएको हिमालहरु छर्लङ्ग देखियो । आमादब्लम, कोङदे, सुमेरु लगायत । मानौं कि यी सुन्दर हिमालहरु हात फैलायो कि छोइन्छन् ।

मनमा लागिरहेको थियो, आज मेरो जिन्दगीको पहिलो स्काई डाइभ हुँदैछ भनेर । नभन्दै रायल ज्याक्सनले मेरो स्काई डाइभ इन्स्ट्रक्सनले तयारी गर्नु भनेर संकेत दिए । मुटुको धड्कनको रफ्तार सुरु भइहाल्यो । बच्चा बेलामा दसैंमा नयाँ लुगा लगाउनुको हतारो जस्तै मैले पनि छिटो जम्प सुट लगाएँ ।

 

सबै अक्सिजन मास्कहरु र अन्य गियरहरु लगाएर तयार भएँ । सम्पूर्ण टिममा ममात्र एक्लो नेपाली र एक्लो महिला भएर होला, वरिपरी हेर्न आएका स्थानीयबासी र फिष्टेल हेलिकप्टरका साथीहरु मभन्दा धेरै उत्साहित देखिन्थे । उनीहरुले सोधेको सोध्यै गरे- ‘डर लागेको छैन भन्यो ?’ मैले भने- ‘खै डरलाई कुरिरहेको छु, अहिले खासै डराएको छैन ।’

टिम लिडर टमले भने- ‘साम अब तिम्रो पालो ।’ मनदेखि त चिच्चाएर खुशीको आहृवान गर्न मन थियो, तर व्यवसायिक देखिनका लागि केवल टाउको हल्लाएँ । हेलिकप्टर चढ्नुअघि फोटो खिच्नेहरुको ओइरो नै लाग्यो ।

 

मलाई मुखमा अक्सिजन खोलिदिएर हेलिकप्टर उड्यो । मेरो जम्प २० हजार फिटबाट हुनु थियो । माथि उड्दै जाँदा एउटा सुन्दर सपनाभित्र छिरेको जस्तो महशुस भयो । चारैतिर केवल हिउँले सजिएका हिमाल, अनि म ।

एक्छिन जहाज खल्बल गर्‍यो कि यही मरिए पनि कत्ति भाग्यमानी हुने थिएँ जस्तो लाग्यो । मेरो सुन्दर देशको काखमा यी सुन्दर हिमाली श्रृङ्खलाको बीचमा मर्नु पनि सौभाग्य हुने थिएँ ।

अनि एकैछि मेरो स्वर्गिय मित्र क्याप्टेन सुबेक श्रेष्ठको याद आयो । मैले आज एभरेष्ट स्काई डाइभ गर्दैछु भन्ने कुरा उसलाई थाहा भएको भए त्यो कति धेरै खुशी हुन्थ्यो होला । यस्तै कुराहरु खेल्दा खेल्दै हाम फाल्ने बेला भएछ । मसँग मेरो टेन्डम इन्स्ट्रक्चर रायन ज्याक्सन र हाम्रो अफिसियल फोटोग्राफर, भिडियोग्राफर पाउल हेनरीसँगै स्काई डाइभ गर्ने भयौं ।

 

हेलिकप्टर बाहिर निस्किएर १, २, ३ भनुञ्जेलसम्म पनि मनमा त्रास थिएन । म आफैलाई देखेर छक्क परिरहेकी थिएँ । अनि भयो मेरो पहिलो स्काई डाइभ । सिधै हिमालतिर हाम फाल्दा एकछिन मुटु नै घाँटीमा आएको जस्तो भयो । तर, रायनको संकेतमा मैले फोटोग्राफर पाउलरित पोज दिन थालेँ ।

हाम फालेको १४/१५ सेकेन्डमा रायनले प्यारासुट खोले । त्यसपछिको उडान त आनन्दले प्याराग्लाइडिङ गरेजस्तै भयो । भुइँ नछोएसम्म मलाई विश्वास नै भएन कि मैलै साँच्चै एभरेष्ट स्काई डाइभ गरेँ भनेर ।

 

प्यारासुट ल्यान्ड हुनासाथ मेरो अन्तरर्वार्ता लिइयो, मैले के बोलेँ मलाई नै याद छैन । यो सम्पूर्ण एक्सपेरियन्स एउटा सुन्दर सपना झैं लाग्यो, कहिल्लै नसद्धिए पनि हुन्थ्यो जस्तो लाग्यो ।

एभरेष्ट स्काई डाइभको सुरुवात

नेपालको शाहसिक पर्यटनको क्षेत्रमा हवाई खेलकुदको बिकास गर्ने उद्देश्य अनुरुप सन् २००८ मा एभरेस्ट स्काई डाइभिङको सुरुवात गरिएको हो । त्यतिबेला नेपालमा सिंगल इञ्जिन जहाज नहुँदा स्विटजरल्याण्डबाट पिलाटस पोर्टर जहाज ल्याइएको थियो ।

 

सन् २००८ सालमा एभरेष्ट स्कार्इ डाइभिङका लागि स्विटजरल्याण्डबाट ल्याइएको पिलाटस पोर्टर जहाज ।

स्याङबोचे बिमानस्थलमा सञ्चालन गरिएको स्काई डाइभमा ४१ जनाले कूल ७९ पटक जम्प गरेका थिए । त्यतिबेला २२ हजारदेखि २९ हजार ५ सय फिटसम्मबाट स्काई डाइभ गराइएको थियो ।

यो नै नेपालमा स्काई डाइभिङको पहिलो व्यवसायीक सुरुवात मानिन्छ । यही स्काई डाइभको तयारीका लागि सन् २००८ कै ‘मे’ महिनामा ब्रिटिश नागरिकहरुद्वारा हेलिकप्टरको प्रयोग गरि स्याङबोचेमा टेस्ट जम्प गरिएको थियो ।

 

सन् २००८ सालमा पिलाटस पोर्टर जहाजबाट डाइभिङ गर्दै पर्यटक ।

सन् २००८ मा स्विस जहाजबाट गराईएको एभरेष्ट स्काई डाइभिङ २००९ देखि ११ सम्म तारा एयरको पिलाटस र्पोटर जहाजबाट गराइएको थियो । सन् २०१२ देखि फिस्टेल एयरको हेलिकप्टरबाट स्याङबोचे लगाएत आमादब्लम वेसक्याम्प, गोरखशेप लगाएत स्थानहरुबाट स्काई डाइभ गराउन थालियो ।

सन् २०१५ सम्ममा कुल ३७० जम्प सगरमाथा क्षेत्रमा गरिएको संसारकै अत्याधिक उचाईमा (१२७४० फीट स्याङ्गवोचे देखि १७१९२ फीट कालापत्थर) अवतरण गर्ने बिशेष कार्यक्रम भएको हुँदा, अमेरिकी टेलिभिजन कम्पनि सिएनएनले बिश्वका ५० उत्किृृष्ट साहसिक कृयाकलाप मध्य आठौं स्थानमा सुचिकृत गरेको छ ।