काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दरको नालीबेली

Posted on: May 28, 2017 | views: 396

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेकपा एमालेमा विजयी भएका विद्यासुन्दर शाक्य ,कांग्रेसका राजुराज जोशीलाई पराजित गर्दै शाक्य ५ वर्षका लागि महानगरको मेयर पदमा निर्वाचीत भएका हुन् । 

काठमाडौँको लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएका हुन् । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको भने निधन भैसकेको छ ।

हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसकेका छन् ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिडेका शाक्यले अहिले जुन सफलता प्राप्त गरेका छन् उनी त्यसलाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल हो भन्छन् ।

काठमाडौंको भित्रि सहरमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका हुन् । शाक्य ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बनेका हुन् ।

०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उनले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेले ।

प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारमा अडिग रहिरहे ।

प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा 'एमाले' को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाले शाक्यले । त्यतिबेला काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्येख्य रहेको थियो ।

उनी  नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए ।