कालो दिन । सुगौली सन्धिको २ सय बर्ष, नेपालले गुमाएको एक तिहाई जमिन खोइ ?

Posted on: May 02, 2016 | views: 910

सन्धि समान हुन्छन, सम्झौता बराबरीमा नै गरिन्छ । तर नेपाल र नेपाली जनताले इतिहासमा यस्ता अपमानजनक र पीडादायी सन्धि सम्झौताहरु गर्नु प¥यो जस्को असर अहिलेसम्मको पुस्ताले भोगिरहनु परेको छ ।

हुनत इतिहासमा गर्व गर्न लायक धेरै पानाहरु पुर्खाले नै भरिदिएका छन् , जस्को आधारमा अझै पनि हामी नेपाली हौं भनेर शीर उच्च पार्ने र टेक्ने धर्ती मनग्ये छन् । तर युद्दमा हराउन नसकेका र पेलेर गलाउन नसकेका ती अंग्रेज र छिमेकी भारतीय शासकले कुटनीतिक र कागजी खेलमा नेपालीलाई ठाउँठाउँमा गलाए , धेरै पानाहरुमा झुक्याए । जुन कहिले सुगौंली सन्धि भएर दुख्छ त कहिले कोशी बनेर कटकटी खान्छ ।

तत्कालीन ब्रिटेनसँग नेपालले एक तिहाई भूगोल गुमाउनु पर्ने गरी सुगौली सन्धि भएको पूरापूर दुई सय वर्ष भएको छ ।

सुगौली सन्धि गरी पुष्टि र कार्यान्वयन भएको दुई सय वर्ष पुगेको दिन अर्थात् शुक्रबार ग्रेटर नेपाल नामक एक संस्थाले सुगौली सन्धि खारेज हुनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गर्यो ।

सुगौली सन्धी खारेजीको माग गर्दै रत्नपार्कबाट शुरु भएको शान्तिपूर्ण ¥यालीमाथि लैनचौरमा प्रहरीले हस्तक्षेप गर्यो । भारतीय दुतावासअघि सुगौली सन्धि जलाउँने योजना बनाएका प्रदर्शनकारीलाई लैनचौर चोकबाटै प्रहरीले नियन्त्रणमा लियो । शान्तिपूर्ण प्रदर्शनमा सहभागी ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

greater
सन् १९५० मा नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धीले नै सुगौली सन्धी स्वातः खारेज गरेको भनिए पनि नेपालको इतिहास सुगौली सन्धि एक यूगीन घाउका रुपमा रहेको जानकारहरुको टिप्पणी छ । सन् १८१५ डिसेम्बर २ तारिखका दिन ब्रिटिश पक्षले प्रस्ताव गरेको सुगौली सन्धीमा १८१६ मार्च ४ तारिखका दिन नेपालले हस्ताक्षर गरेको पुष्टि गरिएको थियो ।

यो सन्धी नेपालले ब्रिटिस–इन्डियासँग गरेको पहिलो र सबैभन्दा हानीकारक भनी नेपालमा बेलाबेलामा समीक्षा हुने गरेको छ । ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच भएको यो सन्धिपछि सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्ध समाप्त भएको थियो । र, नेपालले लडाई लडेर जितेको एक तिहाई भूगोल गुम्ने गरी सम्झौता गरेको थियो । यो सन्धिमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्सले हस्ताक्षर गरेका थिए ।

Sugauli-Sandhipurkha

यो घातक सम्झौतामा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, नेपालको काठमाडौंमा ब्रिटिश प्रतिनिधि राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि बञ्चित हुनुपर्ने उल्लेख गरिएको थियो ।

सुगौली सन्धि हुनुभन्दाअघि नेपालको क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्गकिलोमिटर थियो । त्इस समय सिमाना पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म थियो । युद्धका क्रममा सतलज भन्दापारि काँकडासम्म नेपाल पुगेको भए पनि काँकडाको राजासँग युद्ध हारेका कारण नेपालको दाबी गर्न सकेको थिएन । तर टिष्टामा भने त्यो भन्दा पनि ७० किलोमिटर पूर्वसम्म नेपालको क्षेत्रफल विस्तार भएको थियो ।

वंगलादेशको वोर्डरसम्म र वंगलादेशभित्र रहेको अहिलेको दिननाथपुर र रम्भापुर पनि तात्कालीन विशाल नेपालकै भुगोल थियो । तर, सुगौली सन्धि यति घातक भइदियो कि, नेपालको सिमाना मेची र महाकालीसम्म र क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सिमित हुनपुग्यो । यो क्षेत्रफल पनि बहशकै विषय बनेको छ ।

सुगौली सन्धीले नेपाललाई परेको अर्को गम्भीर असर हो : नेपालले वेलायतसँग नसोधीकन कुनै पनि युरोपियन, अमेरिकनहरूलाई आफनो सेवामा लिन नपाउने शर्त । जसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई नै संकुचित पारेको छ र हामी उसको प्रभाव क्षेत्रभित्र पर्दै आएका छौं, निरन्तर ।

नेपालले सुगौली सन्धी गरेको ब्रिटिशसँग हो । तर, जब १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भयो, त्यसपछि पनि उक्त सन्धीको असर हामीले झेलिरहेका छौं । १९४७ मै ब्रिटिसले ‘इन्डीया इन्डीपेन्डेन्ट ऐक्ट’ जारी गर्दै स्पष्टरुपमा भनेको छ कि, हामी जुन अवस्थामा भारत आएका थियौं, त्यही अवस्थामा छाडेर जाँदैछौं ।

यो आधारमा पनि नेपालले आफ्नो गुमेको भूगोल स्वतः दाबी गर्न सक्छ भन्ने तर्क जानकारहरुको छ । अनि, १९५० को नेपाल र भारतबीच भएको शान्ति र मैत्रीसन्धिको धारा ८ मा नेपालले वेलायतसँग गरेको सम्पूर्ण सन्धि/सम्झौता रद्ध हुने उल्लेख गरिएको छ । तर, नेपालले अझैसम्म भारतसँग औपचारिक रुपमा टिष्टा र सतलजसम्मको भूगोलमा दाबी गरेको,गर्न सकेको छैन भन्छन् सिमाविद्हरु । बरु, त्यसभन्दापछि नेपालले भारतसँग थुप्रै असमान सम्झौताहरु गरेको छ ।

नेपाललाई सधैं कमजोर पारेर अरुलाई राज गर्न दिने गरी भएको सुगौली सन्धी राष्ट्रघातको जग र जड भएर वसेको छ । त्यसपछि नेपालका नेताहरुको भारतनिर्भर सोचकै कारण न सुगौली सन्धी खारेज भएको भन्दै आफ्नो गुमेको भूगोल फिर्ता गर्न सके, न त मुलुकलाई समृद्धिको गतिमा अघि बढाउँन नै सके । बरु, त्यसपछि भारतसँग झन् असमान सम्झौताहरु भयो । सत्तामा पुग्न र टिक्नका लागि नेपालका नदीहरु बेचिदिए, नेताहरुले ।

कहिले महाकाली सम्झौता, कहिले कोशी त कहिले गण्डकी सम्झौता । देशलाई खोक्रो पारेर भारतलाई पोस्ने घातक सम्झौताहरुकै कारण आज पनि हामी राजनीतिकै लागि लडाई लडिरहेका छौं । अनि झन्झन् परनिर्भर भइरहेका छौं । यतिसम्म कि भारतबिना त नेपाल र नेपाली नै रहन सक्दैनन् भन्ने पारिएको छ, नागरिकलाई । र त निरन्तर दुखिरहेको छ, नेपाली मन, नेपाली स्वाभिमान ।।

साभार: न्युज२४नेपाल/विमल नेपाल