भूकम्प पीडितको पालमुनी बास, काँग्रेस कार्यकर्तालाई दिनकै खसी र कुखुराको मासु भात

Posted on: May 02, 2016 | views: 551

१९ फागुन, काठमाडौं ।
सर्वसाधारण जनतालाई कति पिडा छ र नेताको मेजमानी कतीसम्म छ भन्ने उदाहरण हो नेपाली काँग्रेसको महाधिवेशन । सुको आम्दानीको श्रोत नभएपनि नेता पिच्छेको सम्पर्क कार्यालय र दिनहुँ लाखौं खर्च अनि आसेपासेलाई खल्तीभरी पैसा र दिनकै मासु र भात ।

कुन गुटले जित्छ भन्ने निर्णय आफुले गर्ने हैसियत भएका भ्रष्टाचारी पाल्ने काँग्रेस, डेढ दर्जन पटक प्रधानमन्त्रीमा उठेर हारेपनि अझै नेतृत्व गर्छु भन्ने अनि पटकौं पटक प्रधानमन्त्री भएर पनि माखो मार्न नसक्नेहरुको नेतृत्व लुछाचुँडीमा रहेको छ ।

त्यसो त भारतीय आर्शिवादकै भरमा पार्टीको नेतृत्वसम्म पुग्न सफल भएकाहरु समेत सभापतीमा उठेको नेपाली काँग्रेस त्यस्तो पार्टी बनेर बसिरहेको छ जसले भारतीय एजेण्टको हैसियत सिवाय काँग्रेसमा कतै केही भूमिका ननिभाए पनि सरकारी गाडी सुविधा लिएर बसेका अमरेश कुमारहरुलाई ज्वाईं सरह पालिरहेको छ ।

भूकम्पबाट पीडित बनेका नागरिकको पालमुनि बास अनि भारतले गरेको नाकाबन्दीका कारण देशको आर्थिक अवस्था जर्जर भएपनि काँग्रेसका कार्यकर्तालाई काठमाडौंमा बस्न १ सय २७ होटलनै बुक गरिएको छ भने तिनलाई दिनकै मेजमानीको व्यवस्था मिलाइएको छ ।

यस्तो छ काँग्रेस कार्यकर्तालाई १३ औं महाधिवेशनमा आउँदा खाना र बासको व्यवस्था
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनका लागि राजधानी आउने प्रतिनिधिलाई आवास तथा भोजनका लागि समितिले काठमाडौंका गौशाला, ठमेल, बागबजार र सुन्धारामा १ सय २७ वटा होटल बुकिङ गरेको छ ।

आवास तथा भोजन समितिका संयोजक बलबहादुर केसीका अनुसार महाधिवेशनमा आउने ३ हजार १ सय प्रतिनिधिलाई बस्न जिल्ला अनुसार होटलको व्यवस्था गरिएको छ ।

केसीले भने,‘ हामीले प्रतिनिधिलाई सजिलो होस् भनेर १ सय २७ वटा होटलका १२४१ कोठामा ३२९७ बेड व्यवस्था गरेका छौ।’ होटलमा एक कप चिया र एक बोतल मिनरल वाटरको व्यवस्था समितिले नै गरेको छ ।

प्रतिनिधीहरुलाई बस्न समस्या नहोस् भनेर एटेच बाथरुम सहितको कोठाको व्यवस्था समितिले गरेको छ ।

हरेक प्रतिनिधिलाई सिंगल बेड भएको रूममा तातो-चिसो पानी तथा टिभीको व्यवस्था गरेको छ । काँग्रेसले प्रतिनिधीलाई १९ गतेदेखि पाँचदिनसम्म मात्र होटलमा बस्न पाउने व्यवस्था गरेको छ ।

यद्यपी काठमाडौं उपत्यकाका प्रतिनिधिलाई यस्तो सुविधा मिलाइएको छैन । उपत्यकाकै केही टाढाकालाई भने गुट पिच्छेका नेताहरुले खर्च दिएर सुविधा सम्पन्न होटलमा पाल्ने भएका छन् ।

खानाको व्यवस्था
२० गते बेलुकादेखि ९ छाक खाना नास्ता भृकृटीमण्डपमा मिलाइएको छ ।

उनीहहरुले दिनभरी खाएजति चिया पाउनेछन् । बिहान खाजा, साँझ र बिहान मासु सहितको खाना पार्टीले व्यवस्था गरेको छ ।

बिहीबार बिहानदेखि प्रतिनिधीलाई पार्टीले खाजा र खानाको व्यवस्था गरिएको काँग्रेसले जनाएको छ।

खानामा हरेक छाक कुखुरा र खसीको मासुको व्यवस्था गरेको छ। यस्तै खाजामा पुरी तरकारी र जेरीको व्यवस्था छ ।

खानाका लागि मात्रै काँग्रेसले १ करोड दुई लाख ८६ हजार २ सय ५० रूपैयाँ छुट्टाएको बताएको छ ।