“हिम्मतवाला”का लागि सुदर्शनले भेटे हिरोइन

Posted on: April 30, 2016 | views: 132

अभिनेत्री रेखा थापाले निर्माण र अभिनय गरेको “हिम्मतवाली” चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक सुदर्शन गौतम अहिले नयाँ चलचित्र “हिम्मतवाला”को तयारीमा जुटेका छन् । अप्रिलको पहिलो हप्ताबाट छायांकन सुरु हुन लागेको यो चलचित्रमा सुदर्शन सोलो नायकको रुपमा देखा पर्दैछन् ।

क्यानडा र अमेरिकामा छायांकन हुन लागेको “हिम्मतवाला” का लागि नायिका पनि छनोट गरिएको छ । गायिका तथा मोडल स्मृति पोखरेल चलचित्र “हिम्मतवाला”की नायिकामा पक्का भएकी छिन् । अष्ट्रेलियामा बस्दै आएकी स्मृति अहिले नेपालमा नै छिन् । नेपालमा रहेकी स्मृतिले चलचित्रबारे कुरा गर्दै आफु चलचित्र “हिम्मतवाला”लाई लिएर निकै उत्साहित रहेको बताइन । उनले भनिन्, “म सुदर्शन गौतमसँग काम गर्दैछु भन्ने कुराले अझ बढि उत्साहित भएको छु । उहाँ आफैंमा हिम्मतवाला भएका कारणले पनि मलाई यो चलचित्रले आफ्नो करियर अगाडी बढाउन मद्दत पुग्छ भन्नेमा ढुक्क छु ।” उनले अगाडी थप्दैं भनिन्, “म खासमा गायिका हुँ । मैंले दुईवटा एल्बम पनि ल्याइसकेको छु । हालै मैंले पपस्टार एल्बम लिएर स्रोतामाझ आएको छु । गायनमा झै मलाई दर्शकहरुले चलचित्रको पर्दामा पनि रुचाउनुहुनेछ भन्नेमा विश्वस्त रहेको छु ।” कुराकानीको क्रममा उनले आफ्नो चलचित्र भित्रको भुमिका खुलाउन नचाहेपनि आफु चलचित्रको लिड कलाकार रहेको बताइन । यो चलचित्रको छायाँकनका लागि उनी मार्चमा क्यानडा प्रस्थान गर्नेछिन् । 

पुराना कलाकार समेत रहेका ईश्वर थापाले निर्देशन गर्न लागेको यो चलचित्रलाई हरि सिवाकोटीले निर्माण गर्न लागेका हन् । यस चलचित्रमा नायक दीलिप रायमाझीले नृत्य निर्देशनको जिम्मा सम्हालेका छन् भने चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ ।

यो चलचित्रमा सुदर्शन गौतम, स्मृति पोखेरेलको साथमा नेपाली चलचित्रका खलनायक पुष्कर भट्टको पनि मुख्य भुमिका रहने क्यानडाबाट चलचित्रका निर्माता हरि सिवाकोटीले जानकारी दिए । एक्शन थ्रिलर कथामा निर्माण हुन लागेको यो चलचित्रका लागि आफुले अहिले वर्कसप गरिरहको अमेरिकाबाट चलचित्रका नायक सुदर्शन गौतमले बताए । “म चलचित्र हिम्मतवालमा विल्कुलै फरक भुमिकामा देखिदैं छु,” सुदर्शनले भने “मलाई पुरा विश्वास छ मेरो नयाँ भुमिकालाई दर्शकहरुले मनपराउनु हुनेछ ।” सुदर्शनले अभिनय गरेको पहिलो चलचित्र हिम्मतवाली सफल भएको थियो । हाल अमेरिकाको न्यूयोर्क शहरमा मलिङ्गगो नामक रेष्टुराँ सञ्चालन गरिरहेका सुदर्शन चलचित्रको शिलशिलामा चाँडै नेपाल आउने पनि जानकारी दिए ।