नारी प्रेम, यौन, स्वतन्त्रता र समाज, नाटक भित्रको राजनीति “युमा”

Posted on: June 06, 2016 | views: 1210

राजनीतिमा नाटक घुसेको धेरै भयो, अब नाटकमा पनि राजनीति घुसेको छ । संसद्भवनमा नेताहरूले नाटक मञ्चन गरिरहेका वेला मण्डला थिएटरमा कलाकारले राजनीतिक विमर्श गरिरहेका छन् । नामबाटै नारीवादी लाग्ने नाटक युमाले समाज र राजनीतिका अनेक पाटा जोतेको छ, खेती गर्ने जिम्मा दर्शकलाई छाडिदिएको छ ।

युग पाठक जत्तिका लेखकले पाठककै सेवा गरेको भए पनि हुन्थ्यो, तर यसपालि उनी दर्शकको मथिंगल खल्बल्याउने प्रयासमा छन् । नाटककार बनेर उनी नयाँ युगको परीक्षार्थी बनेका छन् । उनलाई थिएटरसम्म डोर्‍याउने ‘गाइड’ बनेकी छिन् सिर्जना सुब्बा, जो आफैँ पनि निर्देशकका रूपमा प्राथमिक परीक्षामा बसेकी छिन् ।

खासमा युमाको स्टेज रत्नपार्कको भीडजस्तो लाग्छ, जसका पात्रहरू आ–आफ्नै मनोदशाले आहत छन् । उनीहरू एउटै हुलमा सलबलाइरहेका छन्, तर एक–अर्काको गन्तव्य, पीडा र महत्त्वाकांक्षाबारे अपरिचित छन् । पात्रहरू पालैपालो आउँछन्, एकसेएक राजनीतिक प्रश्न सोधेर दर्शकको गिदी गिजोल्छन्, तर जब उनीहरू ‘सिस्टम’माथि धावा बोल्छन्, रन्थनिएका दर्शक पनि राहत महसुस गरेर ताली बजाउन थाल्छन् ।

राजनीति र समाजका जटिल प्रश्नमाथि युमाको बहस मूलत: घोचक प्रस्तुति हो, तर संवादले नाटकलाई रोचक बनाएको छ । हो, माओवादीले समाज परिवर्तन गर्न जनयुद्ध लडेका थिए भन्ने मान्नुहुन्छ भने नाटकले तपार्इंलाई समर्थन गर्नेछ । माओवादीले समाज होइन, आफैँलाई परिवर्तन गरे भन्ने मान्नुहुन्छ भने नाटकले तपाईंलाई थप विश्वस्त बनाउनेछ । रेमिट्यान्सले साँच्चै देश बनाएको छ भन्ने मान्नुहुन्छ भने नाटकले तपाईंको हौसला बढाउनेछ, रेमिट्यान्सले घरपरिवार भत्काएको छ भन्ने मान्नुहुन्छ भने तपार्इंलाई थप विचलित बनाउनेछ ।

समाजका जटिल दर्शनमाथि लेखिएको नाटकको नामचाहिँ युमा किन भयो होला ? युमा त पक्कै पनि युवती हो, जो आफैँमा सुन्दर पनि छे । त्यो सुन्दर, कोमल युवतीलाई राजनीति र दर्शनका भारी किन बोकाइएको होला ? युगसँगको कफी बसाइमा मेरो पहिलो प्रश्न यही थियो, ‘युमा आखिर को हो ?’ उनलाई सायद यही प्रश्नको प्रतीक्षा रहेछ । भन्न थाले, ‘युमा सुन्दरी हो, युवती हो, ऊ हजुरआमा हो र देवी पनि हो । समग्रमा युमा एक मिथ हो ।’

युगले युमालाई लिम्बूग्रन्थ मुन्धुमबाट उठाएर ल्याएका हुन् । मुन्धुमकी सजीव पात्र युमालाई लिम्बू समाजले प्रेरणा मान्छ । व्यक्ति, परिवार र समाजलाई जोड्ने र तोड्ने मुन्धुमका अनेक मोडमा युमाको उपस्थिति अनिवार्यजस्तै छ । ‘ती युमाको पनि कुनै दिन बिहे भएको थियो । श्रीमान्, छोराछोरी र समाज थियो’ युमाको युग स्मरण गराउँदै युग भन्छन्, ‘तर तिनको मनमा पनि एक दिन प्रश्न आयो– आफ्नो ज्ञान, क्षमता र सर्वस्व एउटा परिवारमा मात्र कैद गरेर राख्नु समग्र मानवतामाथि अपराध होइन ?’ उनी घरबाट निस्किएर सर्लक्क बाटो लागिन्, कपालमा चाँपको फूल सिउरिएर लमक–लमक खोलाको किनारै–किनार अघि बढिन् ।’


परिवार र समाजबाट युमाले गरेको विद्रोह नारी स्वतन्त्रताका लागि अनुकरणीय अध्याय थियो भन्नेमा युगको ठहर छ । ‘हो, अहिले पनि लिम्बू बेहुली जब पहिलोपटक बेहुलाका घरमा जान्छिन्, साथमा युमा पनि लगिन्छिन् । जुन दिन त्यो घर बेहुलीका लागि असहज हुन्छ, लिम्बू युवतीले विद्रोह गरेर आफूलाई स्वतन्त्र घोषणा गर्छिन्, एउटी आम युवतीका लागि त्यति ठूलो साहसको स्रोत युमा नै हुन् ।’

विद्रोह, स्वतन्त्रता र सामथ्र्यकी प्रतीक युमा लिम्बू परिवारमा सीमित थिइन् । तर, अचानक बाहुन–क्षत्रीको आर्य समाजमा युमाहरू प्रकट हुन थालेका छन् । बेरोजगार युवाहरू खाडी र मलेसियामा पसिना बेचेर परिवारको सुख–समृद्धिका लागि दुई पैसाको जोहो गर्दै छन्, यता कैयौँ स्वतन्त्र युमाहरू रेमिट्यान्सको धुलो उडाउँदै छन्, परिवारको जग ढलाउँदै छन्, सामाजिक नैतिकतामाथि घनघोर आक्रमण गर्दै छन् । यो युगको वाणी होइन, मेरो पनि होइन ।

बरु, गाउँका चौतारा, सहरका चियापसल र पत्रिकाका पानाहरूमा पनि यस्ता गसिप जोडदार रूपमा उठ्न थालेका छन् । युमाहरूको चरित्रलाई कसरी संरक्षण गर्ने र समाजको नैतिक व्यवस्थालाई कसरी मर्यादित बनाइराख्ने भन्ने विषयमा बहस पनि हुन थालेको छ । तर, यता युगले भने परिवार भत्काउने युमालाई नै आदर्श नारीका रूपमा नाटककी नायिका बनाएका छन् । यो अनर्थ किन गरेको ? प्रश्न सुनेर उनी पुलकित भए, आफ्नो दर्शन छाँट्ने यस्तो सुन्दर मौका उनी कसरी गुमाउन सक्थे र ?



‘ठूलो संख्यामा नेपाली युवाहरू बिदेसिएको यो पहिलोपटक हो र ?’ भूमिका बाँध्न उनले नै प्रश्न गरे । सहजकर्ताका रूपमा मैले जवाफ दिन थालेँ, ‘होइन, पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ नेपाली लडाइँमा गए, ६५ हजारभन्दा बढीको त ज्यानै बेपत्ता भयो ।’ पृष्ठभूमि पुगेपछि उनी बोल्न थाले, ‘हो, ती जनजाति युवाहरू पसिना बगाउने श्रमबजारमा होइन, रगत बगाउने युद्धमा गएका थिए । युद्धमा जसले ज्यान गुमाए, जो बेपत्ता भए, तिनका सबै युमाहरूले नैतिकताको डोरी समातेर आफ्नो जीवनलाई झुन्ड्याएको भए आज त्यो समाज फैलिन्थ्यो कि लोप हुन्थ्यो ? हो, युद्धमा गएका लाहुरेहरू नफर्कन पनि सक्थे, फर्कनेले युमाहरूलाई आफ्नै घरमा नभेट्न पनि सक्थे । त्यसैले जनजाति समाजले परिवारको अस्तित्वलाई बन्धनमा होइन, स्वतन्त्रतामा स्वीकार्न थाल्यो ।’

युग आफैँ भन्छन्, ‘लाहुरे समाजका महिलाहरूले आफ्नो शरीर र सम्बन्धमाथि स्वाधीनता स्थापित गरेको धेरै भयो, त्यो समुदाय बढी उदार छ भन्ने मान्छेहरू पनि छन् । तर म भन्छु, यो प्रगतिशीलता हो । त्यो प्रगतिशील चेत आर्य समाजका युमाहरूमा भर्खर प्रवेश गर्न खोज्दै छ, त्यसैले त्यहाँ खैलाबैला मच्चिएको छ।’

श्रीमतीको माया र शरीरको चौकीदार श्रीमान् होइन, श्रीमतीले चाहेका वेला आफ्नो माया र शरीर जोसँग पनि साट्न सक्छिन् पनि भन्न भ्याए उनले । तर, परिवारको सुखका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवाकी श्रीमतीले आफ्नो शरीरलाई श्रीमान्को अधिकारबाट स्वतन्त्र गराइन् भने पुरुषको पसिनाले कसरी न्याय पाउला ? मैले यो प्रश्न सोध्नैपर्ने भयो । उनी जवाफ दिन आतुर देखिए, ‘हो, आज मलेसियामा दिनभर श्रम गरेर थाकेको युवा गाउँमा श्रीमतीले कतै बेइमानी पो गरी कि भनेर रातभरि पनि निदाउन सक्दैन । तर, त्यही मलेसियाको युवा कतै वेश्यालयतिर गयो कि भनेर गाउँकी महिलाको मनमा कुरा कहिल्यै खेल्दैन । आफूलाई अन्धविश्वास गर्ने श्रीमतीलाई नांगै अरूसँग खेलेको कल्पना गर्ने पुरुषले कसरी न्यायको कुरा गर्न मिल्छ ?’


तर, प्रश्न शरीरमाथिको स्वाधीनताको मात्र होइन, घरपरिवारको उज्वल भविष्यको कामना गर्दै मुग्लान पसेको युवाको पसिनाको पनि छ, श्रीमतीका नजरमा त्यो पसिनाको कुनै मूल्य हुँदैन ? मेरो प्रश्नमा उनी फेरि बर्सिए, ‘हो, पुुरुषले विदेशमा आठ घन्टा काम गर्छ, महिलाले गाउँमा १८ घन्टा काम गर्छिन् । दुई वर्ष काम गरेर फर्केपछि पुरुष जिन्दगीभर लाहुरे बनेर गाउँघर डुल्छ, श्रीमती जीवनभर नै श्रम गरिरहन्छिन् । अनि दुई वर्षको पसिनाको हिसाब खोज्ने व्यवस्थाले जीवनभरको श्रमको पनि हिसाब दिनुपर्छ ।’ यति भनेर युग चुरोट सल्काउन थाले । मैले धूम्रपान स्वास्थ्यका लागि हानिकार छ भनेर भन्न सकिनँ, किनकि प्रश्न अब एउटा व्यक्तिको स्वास्थ्यमा सीमित रहेन । प्रश्न त सिंगो समाजको भविष्य कता जाने भन्नेमा केन्द्रित भइसकेको छ ।

मेरो मनमा अर्को प्रश्न तरंगित भइरहेको थियो । खासमा पुरुष र महिलाले आ–आफ्नो शरीरलाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्य घोषणा गरे भने पारिवारिक अखण्डता के होला ? ‘त्यो खण्डित हुन्छ, भत्किन्छ’ युगको कुरा सुनेर म अवाक् भएँ । ‘त्यो भत्किनुपर्छ’ मलाई चुप लगाएर उनी भन्दै गए, ‘पुरुषले चाहेका वेला भत्कने परिवार महिलाले मात्र थामेर चल्छ ? महिला होस् वा पुरुष, आफ्नो मन, तन र आकांक्षाको प्राधिकार स्वयं हो । एक–अर्काको स्वतन्त्रतालाई स्वीकार्दासम्म परिवार चल्छ, अस्वीकार भए युमाहरू घरबाट निस्कन सक्छन्, चाँपको फूल सिउरिएर खोलाको किनारै–किनार अघि बढ्न सक्छन् ।’

महिला अधिकारका लागि भइरहेको नागरिक संघर्षको कथा छँदै छ, राजनीतिक लडाइँको इतिहास पनि नाटकले स्मरण गरेको छ । हो, आर्थिक र सामाजिक समानताका नारा बोकेर युद्धमा होमिएका माओवादीहरूले महिलाका हातमा बन्दुक थमाइदिएका थिए । तिनै महिलाको मनोबल बढाउन पुरुषहरूमाथि ठाउँ–ठाउँमा ‘जनकारबाही’ भए । रक्सी खाएर हल्लिनेहरूले झापड खाए, श्रीमती कुट्नेले भाटा पाए, अझ बहुविवाह गर्नेले बन्दुकको गोलीसमेत खाए । त्यति मात्र होइन, कतिपय कमान्डर अन्तरजातीय बिहे गरेर समाजमा आफूलाई नमुनासावित गर्ने प्रयासमा पनि लागे ।

समाज बदल्ने नेताको काँधमा काँध मिलाउन उनकै जीवनसंगिनी बनेकी एक नेत्री पनि नाटकको सानदार भूमिकामा छिन् । तर, उनी अहिले एक्ली छिन्, किनकि अन्तरजातीय बिहे गरेर बिग्रिएको विगत सुधार्न उनका पतिले खानदानी घरलाई नयाँ ससुराली बनाएका छन् । जब कुनै पुरुष आफ्नै जीवनसंगिनीको सपना भत्काउन सक्छ भने कुनै महिला त्यो भत्किएको पर्खाल नाघेर बाहिर आउन किन सक्दिन ? युगको नाटकले उठाएको गम्भीर प्रश्न यही हो । भत्काउने अभियानको सुरुवात पुरुषले गरेका हुन्, त्यसलाई सार्थक बनाउने अभिभारा नारीले पूरा गर्नेछन् । युग र युमाले देखेको नेपाली समाजको सन्निकट भविष्य यही हो ।


Via:उमेश चौहान/enayapatrika