ड्रिम्स पाईरेसीमा हाईलाईट्सका यि दुई कर्मचारी संलग्न

Posted on: June 02, 2016 | views: 669

२० जेठ, काठमाडौं ।
चलचित्र ड्रिम्स फिल्म पाइरेसी गर्ने हाईलाईट्स म्युजिकका दुई कर्मचारी पक्राउ परेका छन् ।

नेपालमा राम्रो व्यापार गरेर विदेशमा समेत प्रशंसा र व्यापारपछि केही ठाउँमा प्रदर्शन हुनुअघिनै अनलाईनमा राखेको पाइएपछि नेपाल प्रहरीले गरेको अनुसन्धान क्रममा संलग्न दुईजना पक्राउ परेका हुन् ।

चलचित्रका निर्देशक तथा निर्माता भूवन केसीले पक्राउ परेका दुवैजनालाई अपराध महाशाखा टेकुमा राखेको जानकारी दिए । अभियुक्तहरु पक्राउ परेपछि भूवनले पक्राउ परेकाहरुमाथि अब कानुनी कारवाही अघि बढ्ने भन्दै एक करोड रुपैयाँको क्षतिपूर्ति भराउने बताएका छन् ।

भूवन केसीका अनुसार विधान गुरुङ नामका एक युवा पाईरेसीमा संलग्न रहेको र उनी हाईलाईट्स नेपाल कम्पनीका कर्मचारी हुन् ।

ड्रिम्स चलचित्रलाई अनलाईनमा राख्न किन्ने कम्पनीकै कर्मचारीबाट चलचित्र पाईरेसी हुन गएपछि भूवनले हाईलाईट्स् बिरुद्ध प्रहरीमा जाने भएका छन् ।

हाइलाइट्स कम्पनीका प्रमुख ओम गुरुङको नातेदार पर्ने विधानले चन्द्र नागजु नामका व्यक्तिलाई ‘ड्रिम्स’ सप्लाई गरेर बजारमा बिना अधिकार पुर्याएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले हाईलाईट्स कम्पनीबाट चलचित्र चुहाउने बिधान नामका कर्मचारी र अर्का व्यक्तिलाई पाईरेसी गर्न प्रयोग गरिएका कम्प्युटर सहित पक्राउ गरेको छ ।

हाईलाईट्सका प्रमुख गुरुङले भने आफ्नै कर्मचारीबाट ‘ड्रिम्स’ पाइरेसी भएको स्विकार गर्दै कानुनी कारबाहीमा सघाउने बताएका छन् ।

जापान, अमेरिका, बेलायत, अष्टेलिया, कोरिया लगायत देशमा प्रदर्शन भइसकेको र ति देशका केही ठाउँ र अन्य देशमा समेत प्रदर्शन हुन बाँकी रहेको बताइएको चलचित्र पाईरेसी भएर अनलाईनमा आएपछि निर्देशक भूवन केसीले प्रहरीमा निवेदन दिएका छन् ।

एसएसपी सवेन्द्र खनालको नेतृत्वमा प्रहरी र विकास वोर्ड अध्यक्ष राजकुमार राई एवं कलाकार संघका अध्यक्ष रामकेशर बोगटी लगायतल सहयोग लिएर प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

चलचित्रमा भूवन केसीले छोरा अनमोल केसी सँगै नयाँ अनुहारको रुपमा साम्राज्ञीराज्य लक्ष्मी शाहलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए ।

नेपालमा ६ करोड रुपैयाँको व्यापार गरिसकेको बताइएको चलचित्रमा अनमोल र साम्राग्यको सफल अभिनय रहेको छ ।