'हिम्मतवाली' हिरो सुदर्शन बन्दै 'हिम्मतवाला'

Posted on: May 03, 2016 | views: 362

काठमाडौं ।  'हिम्मतवाली' चलचित्रमा अभिनय गरेपछि चौतर्फी तारिफ र चर्चा बटुलेका नायक सुदर्शन गौतम अब नयाँ चलचित्रबाट फेरी दर्शकमाझ आउने भएका छन् । क्यानडा र अमेरिकामा छायांकन हुने उक्त चलचित्रको नाम 'हिम्मतवाला' हुन सक्ने बताइएको छ । चलचित्रलाई पुराना अभिनेता ईश्वर थापा र अर्का पुराना निर्देशक एवं कलाकार हरी शिवाकोटीले मिलेर निर्माण गर्नेछन् । खबरका अनुसार उक्त चलचित्र ईश्वर थापाले निर्देशन गर्नेछन् । चलचित्रमा नायक सुदर्शन गौतम मुख्य भुमिकामा देखिने पक्का भइसकेको छ भने चलचित्रको लागि हाल नायिकाको खोजी भइरहेको र केहि दिन भित्रै नायिकाको पनि छनोट हुने निर्माता मध्यका एक हरी शिवाकोटीले जानकारी दिए । 

मार्चको दोस्रो हप्ताबाट छायांकन सुरु हुने तयारीमा रहेको यो चलचित्रमा खलनायक पुष्कर भट्ट पनि मुख्य भुमिकामा देखिदैंछन् । हाल पुष्कर यहि चलचित्रको शिलशिलामा क्यानडामा छन् भने चाँडै उनी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । खबरका अनुसार चलचित्रको विषयमा केहि दिन भित्रै औपचारिक जानकारी दिने तयारीमा निर्माण यूनिट रहेको क्यानडाबाट कलाकार पुष्कर भट्टले जानकारी दिए । हिम्मतवाला नाम दिइएको यस चलचित्र पारिवारिक कथामा एक्शन तथा पूर्ण कमर्सियल रहने भट्टले खुलासा गरेका छन् ।