अपाङगता सहयोगार्थ नयाँ बर्षमा साँस्कृतिक साँझ

Posted on: May 02, 2016 | views: 711

मदन पाठक-१० फागुन, टोक्यो ।
भनिन्छ पुण्य कमाउन न तिर्थ जानुपर्छ न त दान धर्मनै गर्नुपर्छ । कर्मले आर्जन गरिन्छ धर्म । यस्तै एक सुकर्मको लागि जापानमा रहेका नेपालीहरुले चार अपाङता भएका बालबालिकाको उज्वल भविष्यको लागि सहयोग गर्ने प्रण सहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

जापानमा रहेका नेपाली जागरुक युवाहरुको समुह आवर ग्रुप अर्थात् हाम्रो समुहले अंग्रेजी महिनाको आगामी अप्रिल तीन तारिखका दिन जापान टोक्योमा नेपाली नयाँ बर्ष २०७३ को अवसर पारेर सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

सुन्दर भएर पनि विकट बनेको सूदुर पश्चिमका चार अपाङग बालबालिकाको अध्ययन र उज्वल भविष्यको लागि आर्थिक सहयोग गर्ने लक्ष्य सहित कार्यक्रम आयोजना गरिएको आयोजक आवर ग्रुपका बिनोद भण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

जो होचो उसैको मूखमा घोचो भन्ने नेपाली उखान जस्तै गरिवि त्यसमाथि जन्मिएका चारै सन्तान अपाङगता भएपछि कस्तो होला । खानलाउनकै समस्यामा परेका सुदुर पश्चिमको एक बोहोरा परिवार अपाङगता भएका चार छोरीको लालन पालन गर्नै नसक्ने अवस्थामा छन् ।

गरिवि माथि चार अपाङग सन्तान घाउमा नुनचुक छर्केजस्तै भएको खवर थाहापाएपछि तिनै चार जना कलिला फूलहरु जसले संगैका दौंतरिहरु झोला बोकेर स्कुल जाँदा आफुलाई पनि स्कुल जान र भोली ठुलो बनेर देशको सेवा गर्ने लक्ष्य राख्छन् उनिहरुको सपना साकार बनाउने अभियान स्वरुप नयाँ बर्षको अवसरमार आवर ग्रुप जापानले सांगितिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमबाट उठेको मुनाफा ति अपाङ्गता भएका बालबालिकाको शिक्षा र भविष्यको लागि खर्चेर बिदेशमा कार्यक्रम गर्दै रकम हिनामिना गर्नेगरेको आरोपलाई समेत चिर्नेगरि आफुहरुले काम गरिररहेको आयोजक बिनोद भण्डारीको भनाई छ ।

नयाँ बर्षको अवसर पारेर आफुले मनोरञ्जन लिंदा अरुको सुन्दर भविष्य समेत कोरिने परोपकारी कामको लागि नेपालबाट समेत कलाकारहरु जापान आउने भएका छन् ।
आयोजक समुहका भण्डारीका अनुसार अप्रिल तिन तारिखमा जापान टोक्यो, मिनामी ओत्सुका हलमा साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमको लागि चर्चित गायक राजु ढकाल सहित विभिन्न कलाकार जापान आउने भएका छन् ।

नेपाली नयाँ बर्ष सांस्कृतिक साँझ २०७३ नाम दिइएको कार्यक्रमको लागि नेपालबाट चर्चित गायक युवराज आचार्य, मोडल रश्मि तामाङ सहित हांस्य कलाकारद्धय सुलेमान शंकर र प्रदिप कार्कीपनि जापान आउने भएका छन् ।

नेपालबाट आएको टोलीसँगै जापानमै रहेर नेपाली गितसंगितमा लागि परेका चर्चीत गायक सुर्य खड्का सहित आयोजक समुहका सदस्य तथा गायक बिनोद भण्डारीले समेत सांगितिक प्रस्तुति पस्कने भएका छन् ।

साथमा सावित्रि जोशीको गित सहित संगिता, प्रियंका र निशाको जोडदार नृत्य रहने छ । गित, हाँस्य र नृत्यको त्रिवेणीबिच परोपकारी कामको लागि आयोजित कार्यक्रम एक त्रिवेणी धाम जत्तिकै हुने आयोजकले अपेक्षा गरेको छ ।