लव कुमार 'बिसाउनी' लिएर आए

Posted on: May 02, 2016 | views: 195

१० फागुन, काठमाडौं ।
गीतकार लवकुमार बुढाथोकीको पहिलो एकल आधुनिक गीती एल्बम ‘बिसाउनी’ सार्वजनिक भएको छ ।

कर्मथलो जापानलाई बनाउँदै आउनुभएका बुढाथोकीको बिसाउनी आइतबार राजधानीमा आयोजित कार्यक्रममा कवि तथा गीतकार भूपाल राईले सार्वजनिक गर्नुभएको हो ।

प्रवासमा रहेर पनि नेपाली गित संगीत तथा नेपाली कलाको विकासमा लाग्दै आउनु भएका बुढाथोकीको एल्बममा वरिष्ठ गायक तथा संगितकारको स्वर तथा संगित रहेको छ ।

एल्बममा ‘यो अञ्जान संसारमा’, ‘कस्तो यो बानी बस्यो’, ‘के भयो गल्ती म देखि’, ‘पर्खनुको पीडा पर्खाउने’ र ‘जिन्दगी यो जुवाजस्तै’बोलका ५ गीत रहेका छन् । 

गीतमा ख्यातीप्राप्त गायक गायिकाहरू उदय सोताङ, शिव परियार, दीपक लिम्बु, दुर्गा परियार र देवेश राईको सुमधुर स्वर रहेको छ । सबै गीतमा डक्टर किरातको संगीत रहेको छ ।

एल्बम बिमोचनका अवसरमा बोल्दै गीतकार हेमन्त काउचा मगरले एल्बममा रहेका सबै गीत मनछुने खालको शब्द र सुमधुर स्वरले भरिएको बताउनुभयो ।

कार्यक्रममा एल्बममा रहेको गीत यो अञ्जान संसारको म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो ।

पहिलो एल्बमका रुपमा नेपाली सांगितिक बजारमा देखा पर्नुभएका गीतकार बुढाथोकीको यसअघि छुट्टा छुट्टै रुपमा भने गीत बजारमा आइसकेको छ ।

एल्बम बिसाउनीको उत्पादन र वितरण नयाँ मार्गी संगीत एकेडेमी एण्ड प्रोडक्सनले गरेको छ ।

स्मरणीय छ जापानमा रहँदै आउनुभएका लव कुमार बुढाथोकी जापानमा नेपाली कला संस्कृतिको जगेर्ना गर्दै यसको प्रवद्र्धनमा लागि रहनुभएको छ भने उहाँले नेपाली कलाकारहरु बोलाएर जापानमा सँधैजसो कार्यक्रम गर्दै आउनुभएको छ ।