सञ्चार मन्त्रीले चलचित्रकर्मीलाई परिचपत्र बाँडे

Posted on: May 02, 2016 | views: 229

६ बैशाख, काठमाडौं ।

सरकारले चलचित्रकर्मीहरुलाई योगदानका आधारमा पहिलो पटक परिचयपत्र प्रदान गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा १३ जना चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा मन्त्री राईले नेपालको प्राकृतिक विविधताका कारण चलचित्र क्षेत्रले यसलाई विश्वमै चलचित्र निर्माणको मुख्य केन्द्र ९हव०का रुपमा विकास गरी अर्थतन्त्रमा योगदान पु¥याउन पर्ने बताउनुभयो ।

उहाँले सरकारले गठन गरेको चलचित्र बृत्ति कोष मार्फत कलाकारहरुलाई आर्थिक रुपमा निरन्तर सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले चलचित्रकर्मीलाई नयाँ ढंगबाट परिभाषित गर्न र चलचित्रकर्मीहरुलाई अझ मर्यादित बनाउन परिचयपत्र वितरण गरिएको बताउनुभयो ।

सचिव थपलियाले चलचित्र उद्योगलाई पनि अन्य उद्योग सरह विकास गर्न मन्त्रालयले प्रस्ताव तयार परिरहेको बताउनु भयो ।

चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले चलचित्रकर्मीहरुको योगदान, प्राप्त गर्नुभएको सम्मान र विभिन्न संस्थामा चलचित्रकर्मीहरुको प्रतिनिधित्वका आधारमा निश्पक्ष ढंगले तिन किसिमको परिचयपत्र वितरण गरिने  बताउनुभयो ।

विशिष्ट श्रेणीलाई नविकरण गर्नु नपर्ने रातो रङ्गको परिचयपत्र, बरिष्ठलाई ५/५ वर्षमा नविकरण गर्नुपर्ने निलो रङ्गको परिचयपत्र र हरियो रङ्गको सामान्य परिचयपत्र चलचित्रकर्मीहरुलाई वितरण गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।

आज पहिलो चरणमा विशिष्ट श्रेणीको परिचयपत्र पाउने चलचित्रकर्मीहरुमा हरिप्रसाद रिमाल, यादव खरेल, नीर विक्रम शाह, भुवन चन्द, बसुन्धरा भुषाल, चेतन कार्की, किरण खरेल, लक्षमीनाथ शर्मा, सुभद्र अधिकारी, सकुन्तला शर्मा, गेहेन्द्र धिमाल, उद्धव पौडेल र मञ्जुकुमार श्रेष्ठ रहनु भएको छ ।