पत्रकार आचार्यका ‘झझल्काहरू’ सार्वजनिक

Posted on: April 21, 2019 | views: 5961

काठमडौ । पूर्वप्रशासक तथा पत्रकार डिल्लीप्रसाद आचार्यको जीवन आरोह–अवरोह, रोमाञ्च र संघर्षका स्मृतिहरु सँगालिएका पुस्तक ‘झझल्काहरू’ सार्वजनिक भएको छ । आचार्यको संस्मरणात्मक कृति शनिबार लोकार्पण गरिएको हो ।

आचार्यको चौरासी पूजाको अवसर पारेर शुक्रबार ललितपुरमा सार्वजनिक भएको पुस्तकलाई रुपन्देहीका पत्रकारहरू निर्मल ज्ञवाली, नारायण सापकोटालगायतले अनावरण गरेका ह्न् । आचार्यकृत ‘झझल्काहरू’ भिन्न समय, भिन्न अवतार र भिन्न भोगाइको समष्टि भएको बुलबुल पब्लिकेशनले जानकारी दिएको छ ।

“आचार्यले स्वतन्त्रताका हिसाबले लेख्न बोल्न गाह्रो समयमा निर्भिक भएर कलम चलाउनु भयो । बाटोघाटोको सुविधा नभएको समयमा समेत अनेक ठाउँ डुलेर खोज पत्रकारिताको अभ्यास गर्नुभयो, यी घटनाहरू अब पुस्तकाकारको रूपमा आएको छ,” सापकोटाले भने ।

सापकोटाले पुस्तकमा आचार्यको जीवनका तीन पाटाहरु सरकारी सेवा, खोज पत्रकारिता र यात्राका कुराहरू बलियोसँग आएको बताए ।

कृति लोकार्पणकै अवसरमा आचार्यका छोरा डा. दिनेश आचार्यले आमाबाुको नाममा एक लाख धनराशीकोे ‘डिल्ली–मीठू आचार्य पुरस्कार’को घोषणा गरे ।

बाबु डिल्लि आचार्यले उत्खनन्का लागि प्रयास गरेको बुद्धको मावली तथा ससुराली देवदहको प्रचार प्रसार, प्रवर्धन र अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई वर्षेनी सो पुरस्कार दिइने दिनेशको भनाइ छ ।