गीतकार उमेशचन्द्रको सम्झनामा 'आजदेखि साथी मैले' बजारमा (भिडियो सहित)

Posted on: October 15, 2018 | views: 4622

नुवाकोट । भौतिक शरीरको निश्चित आयु हुन्छ । तर, सिर्जनाको कुनै आयु हुँदैन, युगौंयुग  रहन्छ । स्वर्गीय उमेशचन्द्र घिमिरेको शब्द–सिर्जना रहेको ‘आजदेखि साथी मैले’ बोलको गीतको अडियो र भिडियो आज काठमाडौमा पत्रकार सम्मेलन गरी एकैपटक सार्वजनिक गरिएको छ ।
गीतमा ख्यातीप्राप्त सङ्गीतकार लक्ष्मण शेषले स्वर  दिएका छन् । लामो समयदेखि गीत नगाएका शेषले एक दशकपछि चक्रपाणि तिमल्सिनाले सङ्गीत गरेको गीत गाएका हुन् ।

घिमिरे जीवित छँदा सदैव गीत गुनगुनाइरहने र गीत रेकर्ड गराउने इच्छा रहेता पनि उनको असामयिक निधन भएकाले गीत रेकर्ड हुन सकेको थिएन । ‘उमेश यो गीत बारम्वार गाएर मलाई सुनाउँथे, यो गीत उनलाई निकै मन पर्थ्यो । त्यसैले मैले साथीको चाहना अनुरुप सङ्गीत भरेर उनको गीत रेकर्ड गर्ने जमर्को गरेको हुँ।’ सङ्गीतकार तिमल्सिना बताउँछन् । तिमल्सिनाका अनुसार उमेश अन्तर्मुखी स्वभावका थिए । उनी आफूले गरेको रचना कमै व्यक्तिलाई मात्रै सुनाउँथे । स्व. उमेशको गीत बजारमा ल्याएका तिमल्सिनाले असल साथीको भूमिका निभाएका छन्।
 
गीतको म्युजिक भिडियोमा उमेशकी श्रीमती सुनिता, छोरा र उनै साथी  चक्रपाणिलाई देख्न सकिन्छ । गीतमा योगेश काजीको सङ्गीत संयोजन र  प्रकाश खरेलको मिक्सिङ रहेको छ भने मञ्जुश्री रेकर्डिङ स्टिुडियो पुतलिसडकमा रेकर्ड गरिएको यो गीत नारायण राज आचार्य र अनिल अधिकारीले रेकर्ड गरेका हुन् । जीवन भट्टराईको निर्देशनमा निर्माण भएको यस गीतको म्युजिक भिडियोमा छायाकार मनोज महर्जन, मेकअपमा शम्शेर लामा रहेका छन् भने भिडियोको सम्पादन किशोर खनालले गरेका हुन् ।

उमेशकी श्रीमती सुनिताका अनुसार उनी जीवनका हरेक परिस्थितिलाई शब्दमा अभिव्यक्त गर्न सक्थे । सुनिता सम्झन्छिन्- यो गीत उनले विशेष परिस्थितिमा लेखेका हुन्।‘आजदेखि साथी मैले’ उनले आफ्नो

विवाह हुनुपूर्व नै लेखिसेकेका थिए । पछि सुनितालाई पनि सुनाएका थिए । कथा, उपन्यासमा पनि कलम चलाउने उमेशका कुनैपनि रचनाहरु कृतिका रुपमा आजसम्म   प्रकाशनमा आएका थिएनन् । आगामी दिनमा उनका सबै रचनाहरुलाई संकलन गरेर प्रकाशन गर्ने परिवारको योजना रहेको छ।

सङ्गीतकार चक्रपाणि तिमल्सिनालाई स्व. घिमिरेले २०६३ सालताका नै ‘यो गीतलाई तपाईले नै सङ्गीत भरेर गाउनुपर्छ है’ भनि आग्रह गरेकाले मरणोपरान्त पनि साथीलाई अमर राख्ने ध्येयका साथ चक्रपाणिले गीत रेकर्ड गरेका हुन् । यो गीतको शब्द उमेशको जीवनको वास्तविक घटनासँग जोडिएको थियो, त्यसो भएर उनी आफ्नै सुरमा प्राय: यो गीत गाइरहन्थे ।

सुनिताका अनुसार  यो भन्दा निकै सशक्त

गीतहरु पनि उमेशको डायरीमा रहेका छन् । यो गीतको प्रतिक्रियाका आधारमा अन्य गीत रेकर्ड गर्ने नगर्ने निर्णयमा पुग्ने परिवारले बताएको छ।

उमेश सुनितालाई पनि सिर्जना गर्न उत्साहित गर्थे । तर उमेशको अनुपस्थितिमा उनले सिर्जना गर्न सकिनन् । हुन त बिहे हुनुअघि नै सुनितालाई सम्झिएर  उमेशले डायरीभरि कविता लेखेका थिए । तर सुनिता आएपछि उनको कविता ‘सम्बन्धमा’ बदलियो । तर, गीत लेख्न र गुनगुनाउन भने उनले छाडेनन् ।

उमेश सुनसान वा एकान्त ठाउँमा मात्र सिर्जना गर्थे । उनलाई हल्ला मन पर्दैन थियो । लेखेका रचना सबैजसो सुनितालाई सुनाउँथे । सङ्गीतकार तिमल्सिनाले साथीकै नाताले यो गीत गाउन आग्रह गरेपछि एक दशकपछि गायन क्षेत्रमा पुनरागमन हुन पुगेको बरिष्ठ सङ्गीतकार लक्ष्मण शेष बताउँछन् । उनी प्रष्ट्याउँछन्– ‘गीत पनि साथीको सम्झनामा रहेको र साथीले नै आग्रह गरेकाले पन्छन सकिनँ।’ विगतमा प्लेब्याक सिंगरका रुपमा केही गीत गाएका शेषले यसका अलावा पनि गीतहरु गाएका छन् । शेष भन्छन्– ‘यो गीतबाट गायनमा मेरो पुनरागमन भएको छ ।’ उनी थप्छन्- ‘साथीको साथ छुट्दा हर कोहीको मनमा पीडा हुन्छ, सङ्गीतकार तिमल्सिनाले पनि आफ्नो असल साथी उमेशलाई गुमाए

र एक्लो हुँदाको पीडा मनन गरेरै मलाई यो गीत गाउन प्रस्ताव गर्नुभएकोले सहजै स्वीकार गरेको हुँ । सबै मानिसलाई कहीँ न कहीँ यो कथाले  छुन्छ । यो गीत तमाम साथी छुटेकाहरुको प्रतिनिधि भाव हो ।’

२०३३ साल बैशाख १४ गते सोमबारका दिन जन्मिएर २०७३ पौष ११ गते स्वर्गारहोण भएका उमेशचन्द्र घिमिरेको गीत सङ्गीतकार चक्रपाणि तिमल्सिना र उमेशकी श्रीमती सुनिता खनालको संयुक्त प्रयासमा बजारमा आएको हो । यसअघि पनि करिव १६ वटाजति गीतमा सङ्गीत भरिसकेका तिमल्सिनाले साथीको सम्झना स्वरुप ल्याएको यो गीत सरल र मुखैमा झुन्डिने खालको छ ।



उमेश, चक्रपाणिको नजरमा

उमेश र चक्रपाणिको चिनजान २०६० सालमा भएको थियो । उमेश चक्रपाणिका भान्जा पुष्कर आचार्यका मन मिल्ने साथी थिए । पुष्करले चक्रपाणिका अगाडि उमेशको नाम लिइरहन्थे, धेरै तारिफ गर्थे । भान्जाको कुरा सुन्दा चक्रपाणिलाई  कहिले भेटुँ झै भयो । जब पहिलोपटक भेट भयो, चक्रलाई पनि उनी सरल, शिष्ट र शान्त स्वभावको लाग्यो । उनको शालीनताबाट चक्र निक्कै प्रभावित भए । चक्रपाणि भन्छन्- ‘उनी प्रेरणका खानी थिए। पुष्करको असामयिक निधन पश्चात उमेश नै मेरो जीवनका मागदर्शक बने । उनी  नेपाल बैंक लि.का प्रबन्धक थिए। पढाइमा  अब्बल उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । मलाई लाग्थ्यो, कस्तो दार्शनिक व्यक्तित्व !यस्तै बन्न पाए हुने । जागीरको सिलसिलामा २०६१

देखि वीरगंज रहँदा हामी दुबै सँगसँगै थियौं । ५ बर्ष म वीरगंज बस्दा उनीसँग सबैभन्दा बढी साङ्गीतिक सामिप्यता रहयो।

घिमिरे सादा जीवन उच्च विचारका मानिस थिए । परिवारमा पनि भरपर्दो छोरा थिए उनी । वीरगंजपछि उनको झापामा जागिर सरुवा हुँदा  आमाबुवालाई आफैसँग राखेर बसेका थिए । साधारण लाग्थे तर सहयोगी मनका थिए उनी । म त्यतिबेला जागीरको सिलसिलामा मध्यपश्चिमको नेपालगञ्ज पुगेको थिएँ । रचना गर्न उनलाई पन पर्थ्यो । आफूले लेखेका गीत मसँगको भेटमा सुनाउँथे । मैले सङ्गीत भरेका धेरै गीतहरु पनि उनलाई सुनाउँथें । अत्यन्त मिलनसार थिए उमेश । मलाई उनीजस्तै असल भएको बोध गराइरहन्थे । अरुको सेवा गर्दा

उनी वास्तवमै खुसी हुन्थे । उदार भावनाका कारण उनी धेरैको मनमा बसेका थिए। मेरो मनमा पनि उनी अमर भएर बसिरहेका छन् । हुन त उनका म भन्दा धेरै अब्बल साथीहरु पनि थिए, धेरैजसो कुशल प्रशासक र कुशल व्यवस्थापक थिए । त्यसैको प्रेरणाले मेरो मनमा कुनैबेला सरकारी अधिकृत बनेर प्रमुख जिल्ला अधिकारी हुँदै मुख्य सचिव बन्ने सपना पनि पलायो । तर हिंड्दै जाँदा बाटोमा हराएछु कि ! तरपनि त्यस्तै व्यक्तिहरु सँगसँगै कामगर्ने अवसर पाएँ । यी सबै उमेशकै प्रेरणाका देन थिए । उमेशले वित्नुभन्दा करिव १ महिना अगाडि मसँग टेलिफोनमा करिव १ घण्टा सम्बाद गरेका थिए । उनले त्यो बेला ‘मेरो गीत कहिले रेकर्ड गर्ने ?’ भनि सोधेका थिए । उनलाई अमर बनाउन मैले यो गीतलाई राम्रो बनाउनु थियो । लक्ष्मण दाइको साथ पाएँ । अब लाग्छ, उनको आत्माले शान्ति पाउने छ ।

ससुराका नजरमा उमेश

उमेश महाप्रसाद खनालका ज्वाईं हुन् । खनालका अनुसार उमेश मानिसलाई छिट्टै विश्वास गर्थे । कसैलाई दुःख परेको छ भने त्यहाँ उनको उपस्थिति हुन्थ्यो । विलासी जीवन उनलाई कहिल्यै मन परेन । सङ्गीत निकै मन पराउथे, तर गाउन लजाउँथे । कहिलेकाहिँ उनलाई सजिलो पार्न ससुरा आफैं गाइदिन्थे । ‘बुवालाई यो गीत आउँछ ? भनेर सोध्नुहुन्थ्यो । म पनि आउँछ भनेर गाउँथे’ महाप्रसाद सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ- ‘घिमिरे अन्तरमुखी स्वभावका थिए । कुशल रचनाकार हुँदाहुँदै कुशल प्रशासक पनि थिए । उनको मानवीयतालाई मानिसले दुरुपयोग गरिदिए । जुनकुरा भन्नु हुँदैन । व्यक्तिभित्र लुकेको व्यक्तित्वलाई साथी चक्रपाणि तिमल्सिनाले चिन्नुभएको रहेछ । उमेशभित्र रहेको प्रतिभा साथीले नै जीवन्त राख्न बाहिर ल्याउनुभएको छ । उनी सहयोगी भावनाका थिए । हरेक दुःखमा उनी मुसुक्क हाँस्थे। ‘यात्रामा दुःख-सुख त आउँदै गर्छ आत्तिनु हुन्न’ भनेर सबैलाई सम्झाउंथे । हाम्रो नजिक दुर्घटना बसिरहेको उनी अन्दाज गर्थे । त्यसको शिकार हुनुपर्छ पनि भन्थे । मानसिक रुपले  तयार हुनपर्छ भनेर जीवनका कुरा गर्दै उनी गहिरो चिन्तनमा पर्थे । म उनलाई झस्काउँथे । कुशल प्रशासक हुनुको सत्य अगाडि ल्याइदिन्थेँ । उनी धेरै क्षेत्रमा दख्खल राख्ने मानिस थिए।

श्रीमती सुनिताको नजरमा उमेश

उनी निश्छल मनका थिए । सबैलाई सहयोग गरौं भन्ने भावना थियो । कहिल्यै पनि ठूलो स्वरमा कुरा गर्दैन थिए । रिस के हो उनलाई थाहा नै थिएन । रचना गर्ने अद्भुत क्षमता थियो । जुनसुकै परिस्थितिलाई पनि आधार बनाएर शब्दमा उतार्न सक्ने क्षमता राख्थे उनी । तर आफूले लेखेका कुरा व्यवस्थित ढंगले संग्रह गरेर राख्ने बानी थिएन उनको । शब्दमा उतारेपछि सायद मन हाल्का हुन्थ्यो । उनी एकान्तप्रेमी थिए । आफूलाई समस्या परेका बेला धेरै रचना गर्थे । उनका रचनाहरुमा कविता, गीत, गजल, निबन्ध, कथा, उपन्यास सबै छन् । तर ती कुनैपनि प्रकाशनमा आएका छैनन् ।