‘सुन्दरी खेती’ आयोजक मालामाल

Posted on: October 06, 2018 | views: 5804

काठमाडौ । २०१७ जुलाई २० मा 'मिस ब्युटी क्विन २०१७' को फिनाले भयो। बेस्ट स्टाइलिस्टको टाइटल पाइन् एल्जिना राईले। भोलिपल्ट सबैतिर समाचार। टाइटल जितेको वधाईका खबरले उनको फेसबुक वाल भरिए। तर, त्यहाँ वर्षिएका वधाईका संदेशले उनलाई मख्ख बनाउनै सकेन। टाइटल अवार्ड हुँदा पनि खुशी बन्न नसक्नुका धेरै कारण रहे, एल्जिनासँग।

भक्तपुरस्थित एल्जी ब्युटी पार्लरकी संचालक हुन् एल्जिना। त्यहीँ पुगेर आयोजकले प्रतियोगिताका लागि फर्म भराएका थिए। उनलाई भनियो- 'मिस ब्युटिसियन नेपाल' हुँदैछ।' त्यसैका लागि फर्म भरेकी उनले टाइटल भने मिस ब्युटी क्विनबाट जितिन्। अनौठो लाग्नेगरी एउटा प्रतियोगिताबाट अर्को प्रतियोगिताको टाइटल हासिल गर्दाको घटनाक्रम रोचक छ।  

'भाग लिनुस्, फाइदा हुन्छ' भन्दै ढोकामै आएकालाई सोझै फर्काउन मन लागेन उनलाई। अनि चर्चामा आउने लोभ कसलाई नहोला र? त्यसमाथि नयाँ कुरा जानिने लोभ पनि। फर्म भरिन् - शुल्क ५ सय रुपैयाँ। त्यसपछि प्रशिक्षण, भ्रमण आदिका लागि भनेर १२ हजार रुपैयाँ पनि बुझाइन्। र, मिस ब्युटिसियन बन्ने सपना देख्न थालिन्।
 
प्रशिक्षण सुरु भयो। त्यही बीचमा उनीसँग थप ३ हजार मागियो।  'किन त?' उनले सोधिन्।  

'तपाईंले त झुक्केर मिस ब्युटिसियन होइन मिस ब्युटी क्विनको फर्म भर्नुभएछ।'

एल्जिनाले ३ हजारको मुख हेरिनन्। तर, कहिले फिल्ड भिजिटको नाममा त कहिले थप प्रशिक्षणको नाममा छुट्टै रकम तिर्नेक्रम जारी रह्यो।

'र्‍याम्पमा यसरी हिँड्ने र यसरी बोल्नेबाहेक केही पनि सिकाएनन्। मलाई त लागेको थियो ट्रेनिङमा धेरै कुरा सिकिनेछ,' केही आक्रोशित हुँदै थपिन्, 'भाग लिएको १५/२० जना सबैले एउटा एउटा उपाधिबाहेक केही पाएनन्।'  

उक्त प्रतियोगिताको शीर्ष विजेता मनीषा पाण्डेलाई २५ हजार नगद रुपैयाँ दिने भनिएकोमा १० हजारमात्र दिइएको उनले बताइन्। भनिन्, 'फर्म भर्दा विजेतालाई उपलब्ध गराउने भनिएको ब्युटिसियन सम्बन्धि तालिमसमेत दिएनन्। बेक्कार दु:ख गरेर कमाएको पैसा खर्च भयो।'

‘सुन्दरी खेती’
एल्जिना सहभागी भएको प्रतिस्पर्धा अमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको हो। अमाजोन त्यही कम्पनी हो जसले ६ वर्षयता हरेक वर्ष यस्तैखाले  ६/७ वटासम्म इभेन्ट संचालन गर्दै आएको छ।

यो कम्पनी यति सक्रिय छ कि, एकै दिन दुईवटा प्रतियोगिता समेत आयोजना गर्न सक्छ। त्यसको उदाहरण हो गत सेप्टेम्बर १९ मा राष्ट्रिय नाचघरमा आयोजित दुई प्रतियोगिता। एउटा विवाहित महिला केन्द्रित ‘मिसेस ग्लोबल नेपाल २०१८’ र अर्को अविवाहित युवक केन्द्रित ‘मिस्टर ह्यान्डसम २०१८’।

एउटा हलमा दुई कार्यक्रम, एकपछि अर्को। अस्वभाविक तर ‘सफलताका साथ’ सम्पन्न भएको दाबी आयोजक अमाजोनको छ। कम्पनीका व्यवस्थापक कमल खतिवडा भन्छन्- ‘समय र स्थानको उपयोगका लागि दुई कार्यक्रम एक साथ गरेका हौं।’

मिसेस ग्लोबल नेपाल, मिसेस नेपाल आइडल, नर्सिङ आइडल, मिसेस नेपाल एसिया प्यासिफिक, ब्युटिसियन नेपाल, मिसेस मंगोल नेपाल, मिस एण्ड मिसेस धादिङ नेपाल, मिसेस ब्युटी क्विन नेपाल, मिसेस हिमालयन नेपाल, क्यापिटल क्विन नेपाल, कोशी क्विन आदि अमाजोन इन्टरटेनमेन्टले आयोजना गरेका सौन्दर्य प्रतियोगिताका नामहरु हुन्।

आयोजक कमल खतिवडा भन्छन्, 'हामी विवाहित र पेशा विशेष क्षेत्रमा लागेका महिलाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि मञ्च दिन चाहन्छौं। टेक्निकल्ली हामीलाई पनि गाह्रो छ। तर, पनि सकेसम्म स्तरीय प्रतियोगिता गर्न कोसिस गर्छौं।'

मिस नेपाल ग्लोबल २०१२ की शीर्ष विजेता निलम चन्द अहिले आफैँ सौन्दर्य प्रतियोगिता संचालन गर्छिन्। मिस फारवेस्ट नेपालका आयोजक चन्द एउटै कम्पनीले छोटो समयको अन्तरालमा धेरै कार्यक्रम गर्दा स्तरीय नबन्ने दावी गर्छिन्।

'प्रतियोगिता प्ल्याटफर्म हो। आफूमा भएको कला देखाउने, क्षमता बढाउने। तर, त्यसो भन्दैमा जति पनि कार्यक्रम हुनु, जस्तो पनि हुनुलाई ठीक भन्न सकिँदैन,' उनले भनिन्, 'स्तर कायम राखे र साँच्चै राम्रो प्रशिक्षण दिन सके मात्र आयोजक र प्रतियोगी दुवैलाई राम्रो हुन्छ।'
 
कला प्रस्फुटनका लागि ठाउँ खोज्नुलाई केही आयोजकले व्यापारका लागि प्रयोग गरेको उनको दावी छ। भन्छिन्, 'केही आयोजकले गर्दा सबै सौन्दर्य प्रतियोगितालाई गलत रुपमा हेर्न थालियो।
 
प्रायोजक नै निर्णायक

शहर, समुदाय, जात विशेष सौन्दर्य प्रतियोगिताहरु बढ्दो छ। तर, यस्ता कार्यक्रम केही वर्षसम्म निरन्तर हुन्छ त केही सीमित संस्करणपछि सधैका लागि बन्द। केही भने एकपटक हुन्छ र आयोजकले नयाँ नाम दिएर उस्तै प्रतियोगिता गराउँछन्। नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही भन्छन्, 'सौन्दर्य प्रतियोगिताको नाममा मौलाएको यस्तो धन्दा रोकिनु पर्छ। आजसम्म यस्ता प्रतियोगिताहरुको नियमन गर्ने निकाय नै छैन।'

प्रतियोगिता र प्रशिक्षणको नाममा १०/१२ जना जम्मा गरेर सबैलाई टाइटल बाढ्नु यस्ता आयोजकका विशेषता बनिसकेको छ।
'यहाँ मनलाग्दी चलेको छ,' शाही प्रश्न गर्छन्,'प्रायोजकलाई निर्णायक बनाइन्छ। विषय, क्षेत्रको आवश्यक जानकारी र ज्ञान नभए पनि केही फरक छैन।'

उनले यो मनोमानी नरोकिएसम्म प्रतिस्पर्धी स्वयं सचेत रहन पर्ने जनाए। यस्ता प्रतियोगितामा घोषणा गरिएको पुरस्कार नदिने, टाइटलको लागि बार्गेनिङ हुने, प्रतियोगीलाई टिकट बिक्री गर्न लगाउने आदि ट्रेन्ड मौलाएको जानकारी दिए। यसअघि फेस अफ दि वर्ल्ड प्रतियोगिताका लागि आयोजकले १० लाखसम्मको बार्गेनिङ गरेको बारे एक्सक्लुसिभ रिपोर्ट पहिलोपोस्टमा प्रकाशित थियो।

१४ वर्ष यता मिस नेवाः आयोजना गर्दै आएकी हेमा मानन्धर पनि संख्यात्मक रुपमा बढेका सबै सौन्दर्य प्रतियोगिताले गुणस्तर कायम गर्न नसक्ने दावी गर्छिन्। उनी स्वयं पनि मिस नेवाः, मिस लिटिल नेवाः, किड्स क्विन लगायत प्रतियोगिता आयोजक तथा व्यवस्थापक हुन्। भन्छिन्, 'वर्षमा यतिवटा गर्ने भन्ने योजना र यस्तो स्टान्डर्डको गर्ने भन्ने कन्फिडेन्स हुनुपर्छ। त्यस्तै प्रशिक्षण, व्यवस्थापन र अवसर उचित हुन आवश्यक छ।'

आयोजकको पृष्ठभूमि र व्यवस्थापन टिम नहेरी प्रतियोगितामा सहभागी हुन नहुने उनको तर्क छ। अन्यथा मानसिक तथा शारीरिक हिंसा पर्नसक्ने उनको संकेत थियो।

समुदाय विशेषकी सुन्दरी  
मिस शेर्पा आयोजक तथा व्यवस्थापक छेलह्मु शेर्पा युवतीहरु भाषा, संस्कृतिको बारेमा बुझ्नदेखि आफूमा भएको प्रतिभा देखाउन, निखार्ने उद्देश्यले सहभागी हुने बताउँछिन्।

शेर्पा भन्छिन्, 'समुदाय विशेष प्रतियोगिताहरुमा सीमित सहभागी हुन्छन् जसले गर्दा आफ्नै समुदाय भित्र पहिचान स्थापना गर्न, समुदायको प्रतिनिधित्व गर्न सहज छ।'

मिस नेपाल वा अन्य राष्ट्रियस्तरका प्रतियोगितामा अङ्ग्रेजी भाषा मान्य छ तर तामाङ वा शेर्पा भाषामा बोल्न पाइँदैन। यस्तोलाई क्यास गरेका हुन् उनीहरुले।

हेमाका अनुसार कुनै पनि भाषा वा संस्कृति विशेष प्रतियोगिताले सांस्कृतिक प्रवर्द्धनका लागि योगदान पुर्‍याउँछ।

'यसमा आयोजकको उद्देश्य प्रष्ट र निस्वार्थ हुनुपर्छ', उनी भन्छिन्,' तर पनि हिजोआज जात, समुदाय, स्थान, पेशा, विशेष टाइटल राखेर सौन्दर्य प्रतियोगितालाई कमाउने भाँडोमात्र बनाइएको छ जसका कारण अविश्वास बढ्दो छ। प्रतियोगीहरु कम हुँदैछन्।'

देशमा सुन्दरी प्रतियोगिताको खेती, बाहिरकोमा रित्तो हात
मिस्टर इन्टरनेशनल नेपाल २०१८ साजिद अलाम व्यवस्थित र मर्यादित सौन्दर्य प्रतियोगिता मात्र प्रतिभावान् व्यक्तिका लागि अवसर बन्ने बताउँछन्। उनले गत अप्रिल ३० मा म्यानमारमा भएको मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेका थिए।

'हाम्रोमा व्यवस्थापन, तालिम आदि कमजोर महसुस गरेँ। अब गुणस्तरमा ध्यान दिन आवश्यक छ,' उनले भने, 'आयोजकहरुले धेरै प्रतियोगिता गर्ने प्रतिस्पर्धा गरेर हुँदैन। समय लिएर योजनावद्ध ढङ्गमा ट्यालेन्टहरुलाई निखार्न पर्‍यो। जसले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्छ, जित्न सक्छ।'

मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठ, मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये उत्कृष्ट ८ मा पुग्ने पहिलो नेपाली सुन्दरी हुन्। उनको सौन्दर्य प्रतियोगिता यात्रा मिस नेपाल र मिस अर्थमा सीमित भने भएन। राष्ट्रिय स्तरका तीन र अन्तर्राष्ट्रिय तीन गरी ६ सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी उनी भन्छिन्, 'हामीमा तयारी गर्ने ट्रेन्ड नै विकास भएको छैन। कार्यक्रम मात्र गरेर हुँदैन नि। उद्देश्य हुनुपर्छ।'

उनका अनुसार कुन लुगामा कसरी हिँड्ने, कुन लुगामा कसरी बस्ने, कसरी खाने, कसरी बोल्ने, पोजिसन कुन ठीक, कुन बेठीक सबै सिकेर आएकासँग नेपालबाट टाइटलमात्र जितेर गएकाहरुले कसरी प्रतिस्पर्धा गर्नु?
न मापदण्ड न नियमन
गत वर्षको साउन ३ गते मिस काठमाडौं नेपाल आयोजना हुने घोषणा गरियो। कसमस इन्टरटेनमेन्ट हाउसका निर्देशक रहेका डेविडजंग बस्नेतले सौन्दर्य प्रतियोगिताहरुको थिम परिवर्तन गर्ने उद्देश्य रहेको बताउँदै पत्रकार सम्मेलन गरे। तर, कार्यक्रम भयो भएन अत्तोपत्तो नै भएन।

'हामीले मल्ल होटलमा कार्यक्रम आयोजना गरेका थियौं। यसबारे समाचार नदिएका मात्र हौं,' डेभिडको दावी छ। पत्रकार सम्‍मेलन आयोजना गरेर प्रतियोगिता घोषणा गरेका उनले फिनाले बारे चाहिं जानकारी आवश्यक नलागेको तर्क राखे। उनको प्रतिक्रियाले पनि नेपालमा संचालन भइरहेका यस्ता प्रतियोगिता कति जिम्मेवार र जवाफदेयी छन् प्रस्ट पार्छ। प्रतियोगितामा सहभागी हुने अधिकांश भने सुन्दरी प्रतियोगिताका नाममा हुने यस्ता 'खेती'को विरुद्ध धेरै खुलेर लाग्न सक्दैनन्।

विभिन्न कार्यक्रममा निर्णायकका रुपमा रहँदै आएका मोडल दीपक घिमिरे भन्छन्,'सबै उस्तै हुँदैनन्। सबै नराम्रो र सबै राम्रो पनि होइनन्। यस्तोमा कुनै मापदण्ड नबन्दा अनुगमन नहुँदा प्रतियोगीहरु नै सचेत रहनु पर्ने देख्छु।'
पहिलो पोष्ट अनलाइनको सहयोगमा ।