हरिवंश आचार्यले मट्टितेलले नुहाएपछि...

Posted on: May 01, 2016 | views: 379

काठमाडौं । झन्डै २० वर्षअघिको कुरा हो, नाटक देखाउन सिक्किम गएका थियौँ । मदन दाइ र राजाराम पौडेलको बूढो बन्नुपर्ने रोल थियो । मेरो भने अधबैँसेको रोल थियो । हामीले ‘ह्वाइटनर’ (कपाल सेतो बनाउने रङ) लान भुलेछौँ । आइतबारको दिन भएकाले त्यहाँका बजार पनि बन्द थिए । बित्याँसै पर्‍यो, अब केले रंगाउने कपाल भन्ने भयो । नजिकैको कुनै स्कुलमा गएर चक ल्याउने र धुलो बनाएर रंगाउने जुक्ति तत्काल निस्कियो । 

चक लिन भन्दै गए, त्यहीँका एक व्यक्ति । तर, ‘स्कुल पनि बन्द रहेछ, यसले काम चल्छ’ भन्दै ग्रिलमा लगाउने सेतो रङ पो बोकेर फर्किए । नाटक गर्नैपर्‍यो, कपाल सेतो बनाउनैपर्‍यो । त्यही रङ लगायौँ । मदन दाइ र राजाराम पौडेलले पूरै कपाल रंगाए । मैले पनि कन्सिरीतिर अलि–अलि दलेँ । अरू दिनमा भन्दा त्यो दिन खुबै राम्रो सुहाएको थियो सबैलाई । स्टेजमा नाटक सुरु गरियो । केहीबेरमै मेरो त टाउको पोल्न थाल्यो । 

रङ दलेको ठाउँतिर कक्रक्क पर्‍यो । नाटक चलिरहेकै वेला मैले मदन दाइलाई खुसुक्क सोधेँ, ‘दाइ तपाईंलाई रङले केही गरेको छैन ?’ उहाँले भन्नुभयो, ‘हरि, मेरो टाउको त ‘डोरम्याट’जस्तो भइरहेको छ । राजारामलाई पनि त्यस्तै भएको रहेछ । तीनघन्टे नाटक सकेर पखाल्न गएको त पानीले केको पखालिने ? साबुन लगाउँदा पनि गएन । रङ ल्याउने व्यक्तिले नै फेरि सुनायो, ‘मसँग उपाय छ’ । हामीले उपाय सुनाउन भन्यौँ । उसले भन्यो, ‘मिट्टीको तेल’ लगाउनु न हो दाजु, पूरै जान्छ ।’ मट्टीतेल पनि उसैले खोजेर ल्याइदियो । त्यो व्यक्तिले भनेजस्तै मट्टीतेल लगाएर नुहाउँदा रङ धेरै नै पखालियो । तर, रातभरि टाउको पोलेर सुत्न सकिएन । नयाँ पत्रिका दैनिकमा खबर छ ।