चलचित्र ‘राहदानी’ हेरेपछि किन रोए कृषिमन्त्री गजुरेल ?

Posted on: April 29, 2016 | views: 289

काठमाडौं । चलचित्र ‘राहदानी’ हेरेपछि ‘भक्सपप’ दिादादिादै एमाओवादी नेता तथा कृषिमन्त्री हरिबोल गजुरेल भक्कानिए । उनी रोएको दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । कतिले युद्धको प्रसंग कोट्याउादै मन्त्री गजुरेलले ‘स्वाङ’ पारेको भने त, कतिले उनको मानवीय संवेदनाको प्रशंसा गरे । खासमा किन रोए गजुरेल ? जान्न गजुरेलले भने :

बिहीबार राति चलचित्र ‘राहदानी’ हेरेर बाहिर निस्किँदा पत्रकार मित्रले फिल्म कस्तो लाग्यो भन्ने प्रश्न सोध्नुभयो । उत्तर दिँदादिँदै म एक्कासि भक्कानिएँ । चलचित्र हेर्दा नै म निकै भावुक भएको थिएँ, आँखमा आँसुु टलपल भइरहेको थियो । बाहिर निस्किँदासम्म दिमागमा उत्पन्न तरंग कायमै थियो । म एकसुरमा भावुक मुद्रामा निस्किरहेको थिएँ, एक्कासि प्रतिक्रिया मागियो । बोल्ने क्रममा आफूलाई सम्हाल्नै सकिनँ ।
चलचित्रमा नेपाली युवाहरू कुन स्थिति र परिवेशमा बिदेसिन बाध्य हुन्छन्, उनीहरू बिदेसिएपछि उता उनीहरूको र यता परिवारमा कस्तो बेहाल हुन्छ भन्ने कथा थियो । त्यो दर्दनाक दृश्यले मलाई किन पनि छोयो भने मैले खाडीमा गएका वेला आफ्नै आँखाले नेपाली दाजुभाइ तथा दिदीबहिनीको दर्दनाक अवस्था देखेको छु ।
चलचित्रमा बिदेसिने युवाको कथा कृषिसँग पनि जोडिएको थियो । कृषि मन्त्रालय सम्हालिरहेको जिम्मेवार नेताका हैसियतले मलाई त्यो कथाले भित्री मनमा अझ हिर्कायो । त्यसमा एउटा गाई मर्दा पनि एउटा परिवारको आर्थिक अवस्था धराशयी भएको प्रसंग छ । चलचित्र हेर्दा मलाई लाग्यो, एउटा गाईको बिमा मात्र गर्न सकेको भए ती युवा र उनको परिवारको अवस्था त्यति भयावह हुन्नथ्यो कि ?
मलाई ठूलो जिम्मेवारीबोधले किचेको महसुस भयो, हामीले आम युवाका लागि काम गर्न सक्छौँ कि सक्दैनौँ भनेर । कृषि क्षेत्रको विकास हुन नसक्दा लाखौँ युवा बिदेसिनुपरेका पीडाले मलाई झक्झक्यायो । यी सबैले गर्दा चलचित्र जति अघि बढ्यो, मेरो मन भारी हुँदै गयो । र, बाहिर निस्किँदा त्यो आँसु बनेर अभिव्यक्ति भयो । मेरो त्यो आँसु पीडाको अभिव्यक्ति मात्र होइन, जिम्मेवारीबोध पनि हो ।
०००

म रोएको भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि खुबै फैलियो । मेरो रुवाइ कुनै बनावटी थिएन । भावना ह्वात्तै बाहिर आयो, म रोएँ । केहीले भन्न सक्छन् सार्वजनिक पदमा भएको मान्छे त्यसरी रुनु हुन्थेन । तर, पीडा सोचे–सम्झेजसरी बाहिर आउँदो रहेनछ । त्यो स्वत:स्फूर्त आउँदो रहेछ । योजना बनाएर बाहिर ल्याइएको चाहिँ बरु बनावटी भयो नि ।
म रोएको दृश्य हेरेका परिवारका सदस्य, आफन्त तथा साथीहरूले बुझ्नुभएको छ । पीडामा आँसु झर्नु स्वाभाविक हो । चाहे त्यो कुनै पदमा बसेको मानिस नै किन नहोस् । पीडामा आँसु नझार्ने, सुखमा खुसी नहुने त मान्छे नै होइन नि † कसैलाई पीडा हुँदा त्यसले संवेदना पैदा गर्छ, त्यस्तोमा आँसु आउनु स्वाभाविक हो । त्यसैले उक्त घटनालाई मेरा परिवारजन र साथीभाइले स्वाभाविक र सकारात्मक रूपमा लिनुभएको छ ।
हो, केहीले यसलाई आफ्नै हिसाबले बुझ्न पनि सक्छन् । त्यसरी बुझ्नेलाई के भन्न सकिन्छ र ? कुनै पीडाले असर नै नगर्ने, संवेदना नै नहुने मान्छे हुन्छ र ? मानव संवेदनाहीन हुन सक्दैन ।

०००

तर, म रोएको त्यो पहिलोपटक होइन । त्यसअघि पनि केही सार्वजनिक अवसरमा मेरा आँसु झरेका छन् । साढे पाँच महिनाअघि कृषि मन्त्रालय सम्हालेपछि मलाई बधाई दिन आफन्तजनले एउटा पारिवारिक जमघटको आयोजना गर्नुभएको थियो । शुभकामना दिँदा केही आफन्तजनले भावुक अभिव्यक्ति दिनुभयो । उहाँहरूले ‘हामीलाई केही चाहिँदैन, जनतालाई राम्रो होस्’ भनेर सुझाब दिएर जिम्मेवारबोध गराउनुभयो । त्यसैवेला मलाई मेरा बुबाआमा हुनुभएको भए भन्ने पनि लाग्यो । यो पदमा पुग्दा मेरा बाआमाले देख्न पाउनुभएको भए भन्ने भावना पनि आयो । उसै पनि माहोल पहिल्यै भावुक भइसकेको थियो । बोल्ने क्रममा म भक्कानिहालेछु ।
आँसु आइहालेछ ।
केही समयअघि विराटनगरमा तिमल्सिना थरका डाक्टर मित्रको अन्त्येष्टिमा गएको थिएँ । ‘ब्रेन ट्युमर’ले उहाँको मृत्यु भयो । म श्रद्धाञ्जली कार्यक्रममा गएको थिएँ । केही बोल्न थालेँ । मेरा आँँखाबाट अनायसै आँसु झरे । मन पनि नमीठो भयो ।
०००

चलचित्र हेरेर निस्किने क्रममा म रोएको दृश्य हेरेर केही मानिस कम्युनिस्टजस्ता कडा दिल भएका मानिस पनि रुन्छन् र भनेजस्तो पनि सुन्छु । कम्युनिस्ट आवश्यक पर्दा कठोर हुन्छन् भने आवश्यक पर्दा नरम पनि । त्यसो हुन नसके त्यो कम्युनिस्ट नै हुन सक्दैन । वास्तवमा कम्युनिस्टहरू मानवीय हुन्छन् । कठोर मात्र हुने वा नरम मात्रै हुने व्यक्ति द्वन्द्ववादी पनि हुँदैन ।
बाहिरबाट हेर्दा नरमजस्तो देखिएर होला, कैयौँ मानिस म कसरी कम्युनिस्ट भएर सशस्त्र संघर्षको नेतृत्व गरेँ होला भन्ने जिज्ञासा राख्छन् । कतिसम्म भने अस्ति भर्खर सचिवले समेत ‘तपाईंजस्तो मानिस कसरी यति र्‍याडिकल बाटोमा लाग्नुभयो’ भनेर आश्चर्य व्यक्त गर्नुभयो । तर, साना–साना घटना वा विषयमा आँसु झर्ने त्यति साहै्र कमलो हृदयको मानिस पनि होइन । बाहिर हेर्दा नरम देखिए पनि आवश्यक पर्दा म कठोर नै हुन्छु ।
जनयुद्धका वेला हामी पटक–पटक भावुक हुन्थ्यौँ, आँसु खसाल्थ्यौँ, रुन्थ्यौँ । तथापि, त्यसवेला परिवेश, अन्यको अभिव्यक्तिले पनि फरक पाथ्र्यो । कहिले निकटको कमरेड बित्दा पनि आँसु खसाल्ने मौका मिल्दैनथ्यो । कहिले अपरिचित कमरेडको सहादतमा पनि आँसु झथ्र्यो । त्यसवेला परिवेशले पनि थप काम गथ्र्यो । कहिलेकाहीँ श्रद्धाञ्जलीसभा गर्दा त्यति धेरै भावुक भइँदैन त कहिले भने माहोल नै त्यस्तो बन्छ र भक्कानिइन्छ । बिहीबार चलचित्रको कथावस्तुका अलावा त्यहाँ अभिव्यक्त भएका विचारले पनि थप भावुक बनायो ।
पार्टी जीवनका क्रममा ०६२ सालमा रुकुमका चुनबाङमा एउटा कार्यक्रममा दर्शकदीर्घामा बसेका हामी सबैजसो नेता खुबै रोएका थियौँ । १० दिनभन्दा लामो केन्द्रीय समिति बैठकपछि कलाकार साथीहरूले एउटा सांस्कृतिक कार्यक्रम देखाउनुभएको थियो । त्यसमा एउटा अपेरा थियो, जसमा एउटा लडाइँ हुन्छ, केही योद्धाहरू सहिद हुन्छन् ।
त्यसबाट सहिदका परिवारजनमा परेको पीडा पनि थियो । एक घन्टा लामो त्यो अपेराले त्यहाँको माहोल यस्तो बनाइदियो कि हामी सबै रोयौँ । त्यो एक प्रकारको आम रुवाइ थियो । त्यसले माओवादी सबैभन्दा नरम हृदयले बनेका मानिसहरू थिए भन्ने देखाउँछ ।
०००

सबैभन्दा पीडादायी रूपमा आँसु खसेको घटना नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्व सिन्धुलीका दुर्गा सुवेदीको मृत्युको घटना सुन्दा हो । सायद सबैभन्दा धेरै रोएको पनि त्यही वेला हो । ०३७ सालमा म ललितपुरको नख्खु जेलमा बन्दी थिएँ । परिवारका सदस्य भेट्न आउनुभएको थियो । उहाँहरूले दुर्गा सुवेदीको सहादत भएको खबर सुनाउनुभयो ।
म एक्कासि भक्कानिएछु । म गेटबाट रुँदै फर्केँ र गएर सुकसुकाउँदै ओछ्यानमा ढल्केँ । त्यो दिनभरि मन उदास भयो । राति खाना पनि खाइनँ । सुवेदीसँग मैले दुई–अढाई वर्ष बिताएको थिएँ । निकै निकटता पनि थियो । उहाँ जुनसुकै अवस्थामा पनि सत्यको पक्षमा उभिने नेता हुनुहुन्थ्यो । मलाई उहाँको त्यो स्वभावले साहै प्रभावित पारेको थियो । त्यसैले होला, मलाई असाध्यै पीडा भयो ।
आमाबाबुको मृत्युका वेला पनि म भक्कानिएको थिएँ । बुबाले अन्तिम सास फेर्दा म सँगै थिएँ । तैपनि, बुबालाई आर्यघाट लैजाने वेलासम्म म स्वाभाविक नै थिएँ । तर, दागबत्ती दिने वेला म भक्कानिइहालेँ । अब कहिल्यै देख्न पाउनेछैन भन्ने भावनाले मलाई छपक्कै छोपिहाल्यो । आमाले अन्तिम सास लिँदाचाहिँ म सँगै थिइनँ । केही घन्टापछि पुगेँ । उहाँलाई देख्नेबित्तिकै म भक्कानिइहालेँ ।
धेरै वर्षअघि मेरा एकजना अलि टाढाका दाइको निधन भएको थियो । अन्त्येष्टिमा गएका वेला उहाँसँग बिताएको समयको याद आयो । र, म भक्कानिएछु ।
दु:ख पर्दा रुने, सुख हुँदा हाँस्ने, रमाउने मानवीय स्वभाव नै हो ।

०००

चलचित्र हेर्दा पनि वियोगान्त दृश्यले मलाई भावुक बनाइहाल्छ । तर, त्यस्ता दृश्यले आँसु झार्छ भनेर चलचित्र नै हेर्नचाहिँ छोडिनँ । अहिलेचाहिँ चलचित्र हेर्ने त्यति अनुकूल हुन्न । यही चलचित्रमा धेरै रोएको भन्ने खास सम्झना छैन । तर, चलचित्रको कथाले छोयो भने रोएको आफैँ पनि थाहा पाउँदिनँ । त्यसले मलाई चलचित्रको कथासँग एकाकार गर्छ । चलचित्र हेर्दा राम्रो कथावस्तु छ भने, वास्तविक जीवनसँग जोडिएको छ भने म भावुक हुन्छु । त्यसले छुन्छ ।
पुस्तक पढ्दा मलाई चिनियाँ क्रान्तिकारी युवाको कथा समेटिएको याङ मोको उपन्यास ‘युवाहरूको गीत’ले खुबै छोएको थियो । त्यो उपन्यास पढ्दा कैयौँपटक आँसु नै आयो । त्यसका मुख्य पात्रको जीवनमा आएको उतार–चढावले मलाई खुबै छोएको थियो ।
रुँदा, पीडा अभिव्यक्त गर्दा वरिपरिको माहोलले पनि प्रभाव पार्दो रहेछ । विश्वविख्यात उपन्यासकार चाल्र्स डिकेन्सले भनेजस्तै मलाई आफ्ना आँसुका कारण कुनै लज्जाबोध छैन । अरूका लागि बगेका आँसु कमजोरीको संकेत होइन, यो त शुद्ध हृदयको प्रतिबिम्ब हो । मलाई धेरैजसो अर्काको पीडाले भावुक बनाउँछ, आँसु झार्न बाध्य पार्छ ।
तर, के पनि हो भने कैयाँै त्यस्ता अवस्था छन्, जतिवेला म कठोर पनि भएको छु । एउटा प्रसंग म समय–समयमा सम्झन्छु । भारतमा ‘दरबान’को काम पनि गरेँ । केही समय छाला कारखानामा सेक्युरिटीको काम गरेँ । एक दिन २० रुपैयाँ नभएर उपाचार गर्न पाइनँ । अस्पताल पुगेको म त्यति पैसा नभएकाले त्यत्तिकै फर्केँ । २० रुपैयाँ सापट मागेर मैले भोलिपल्ट उपचार गरेँ । तैपनि, मेरो व्यक्तिगत पीडाले आँसु झरेन ।
तर, जब म देशको परिस्थितिलाई आफ्नो आँखामा देख्छु र त्यसले भावुक हुन्छु, म अत्यन्त दु:खी हुन्छु । त्यतिवेला अनायसै आँसु झर्छ ।
आँसु दु:खको ‘रिलिज’ हो । पीडा भएपछि आँसु आउँछ, जुन स्वाभाविक हो । मन हलुका बनाउँछ, ‘रिलिफ’ गर्छ । 
-नयाँ पत्रिकाबाट