नेपाल आइडलमा आज चारै जना सुरक्षित, यस्तो छ कारण...

Posted on: September 01, 2017 | views: 1167
काठमाडौं। आज नेपाल आइडलबाट कोही पनि आउट भएनन् । आज निर्णायकले आफ्नो पावर प्रयोग गर्दै नो इलिमिनेसन डे घोषणा गरेका हुन् । आज प्राप्त भोट अर्को हप्ता आउने भोटमा जोडिनेछ । यसअघि दर्शकले पठाएको भोटको संख्या सार्वजनिक गरिन्थेन। तर, यो हप्ता भने ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको जानकारी दिइएको थियो । विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा चार जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये अर्को शुक्रबार एक जना बाहिरिने छन् । दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ । यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए । गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शकसमेत रोएका थिए ।