डोटीमा गहुँ उत्पादन घट्यो

Posted on: May 02, 2016 | views: 219

११ चैत, डोटी ।
यसवर्ष डोटीमा ३५ प्रतिशत गहुँ उत्पादन घट्ने भएको छ । जिल्ला कृषि बिकास कार्यालय डोटीका अनुसार खडेरीका कारण बाली नसप्रिएपछि उत्पादन घट्ने भएको हो ।

जिल्लामा करिब १४ हजार हेक्टर जमिनमा गहुँ खेती हुदै आएको छ । त्यसमध्ये आधामा मात्रै सिचाई पुग्ने गरेको जिल्ला कृषिको तथ्यांक छ ।

यसबर्ष समयमै पानी नपरेका कारण अधिकांश असिँचित जमिनमा गहुँ छर्न नसकिएको, छरिएकोमा बाली नसप्रिएको जिल्ला कृषि बिकास कार्यालयका
बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहले बताउनुभयो ।

सिँचित जमिनमा पनि मुहान तथा खोनानाला सुकेकाले पर्याप्त सिँचाई नपुगेको उहाले बताउनुभयो ।

उता बाली नसप्रिएपछि किसानहरुमा भोकमरीको चिन्ताले सताउन थालेको छ । जिल्लाको लानाकेदारेश्वर गाविसमा बर्षौपछि खडेरी परेको बताउदै भएको जमिनमा बाली नसप्रिएपछि परिवारको चिन्ता लाग्न थालेको त्यहाँका किसान नन्द नेपालीले बताउनुभयो ।

आफुसंग रहेको पाखो जमिनमा गहुँ नै छर्न नपाएको गुनासो गर्दै उहाँले घरपरिवार पाल्न आफुसंग कुनै उपाय नै नरहेको दुखेसो पोख्नुभयो ।

लडागडा–४ सेटीगाउँका किसान हरिसिँह कुञ्जेडाको पिडा पनि उस्तै छ । छरेको गहुँ बाला नलाग्दै सुकेपछि उनको पिडा बढ्न थालेको छ ।

आकाशकै पानीको भरमा खेती गर्दै आउनुभएका उहाँ अहिले पानी नै नपरेपछि बाली सुकेको मा चिन्तित हुनुहुन्छ ।