देउवा सरकारले रित्यायो तीन दिनमै ४६ अर्व, कागजमा बिकाश, काम सून्य

Posted on: July 16, 2017 | views: 352

काठमाडौं । सरकारी कार्यालयहरूले विगतमा जस्तै विनियोजित बजेट रित्याउन चालू आर्थिक वर्षको अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ बिकाशका नाममा खर्च गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू वर्षको पछिल्ला तीन दिन असार २९ देखि ३१ गतेसम्ममा विकास बजेट ३६ अर्ब र साधारण बजेट ११ अर्ब गरी कुल ४६ अर्ब रुपैयाँ सकाइएको हो ।

खर्चको उपलब्धी भने निकै कम रहेको छ । सरकार र सत्तारुढ दलको नेता कार्यकर्ता पोष्ण र बिकाशका नाममा पहुचवालाको खल्ती भर्न हरेक बर्ष यसरी नै अन्तिम दिन बिकाशका नाममा राज्यको अर्वौ ढुकुटी सकाउने गरिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २८ गतेसम्ममा पुँजिगत बजेट एक खर्ब ६८ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यसपछिका तीन दिनमा मात्र ३६ अर्ब रुपैयाँ खर्च भएको हो । योसँगै पुँजीगत खर्च २ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्ष पनि पछिल्लो सात दिनमा पुँजीगत बजेट मात्र ३५ अर्ब रुपैयाँ खर्च गरिएको थियो । चालू आवको सात दिनमा यस्तो खर्च ६२ अर्ब रुपैयाँ भएको छ । यस्तै असार २८ सम्ममा साधारण खर्च पाँच खर्ब पाँच अर्ब रुपैयाँ भएकामा त्यसपछिका तीन दिनमा ११ अर्ब रुपैयाँ भएको छ। सरकारी कार्यालयहरूले साधारण बजेट रित्याउने गरी असारका पछिल्ला १४ दिनमा ६४ अर्ब रुपैयाँ खर्च गरेका छन ।

 

महालेखाका उच्च अधिकारीहरूका अनुसार सरकारी कार्यालयले पछिल्ला दिनमा धेरै चेक ल्याएकाले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) का कर्मचारीहरूले शुक्रबार राति १२ बजेसम्म काम गरेका थिए। शनिबार कार्यालय बन्द हुने नियम भए पनि कोलेनिकाका कर्मचारीले ६ अर्बभन्दा बढी रुपैयाँको चेक काटेका छन्। सबै सरकारी कार्यालयको चेक कोलिनिकाले काट्नुपर्ने व्यवस्था छ । ती उच्च अधिकारीका अनुसार वर्षका अरू समयमा दैनिक चारपाँच हजार वटा चेकको भुक्तानी हुने गरेकामा अहिले पछिल्लो तीन दिनमा ४० हजारसम्म पुगेको थियो ।

सरकारले चालू वर्ष अघिल्ला दिनमा औसतमा दैनिक ४६ करोड रुपैयाँ मात्र पुँजीगत बजेट खर्च गरेको थियो । तर पछिल्ला तीन दिनमा सरकारको खर्च औसत दैनिक १२ अर्ब रुपैयाँ पुगेको छ । बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले यसबाट बच्न पछिल्लो अवधिमा अन्धाधुन्ध खर्च गरेको हो । अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुने विगतको परम्परा भए पनि यति ठूलो खर्च स्वाभाविक नभएको सरकारी अधिकारीहरू बताउँछन ।

महालेखाका अनुसार असार १५ सम्म पहिलेकै तुलनामा खर्च हुँदै आएकोमा त्यसपछि ह्वात्तैबढेको हो । पछिल्ला तीन दिनमा भने झनै अस्वाभाविक रूपमा बढेको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले वर्षको अन्तिममा अस्वाभाविक रूपमा खर्च बढेको स्वीकार गर्दै यसमा अर्थ मन्त्रालय र महालेखाले अनुगमन गर्ने बताउनु भयो ।

सबैभन्दा पहिले कहाँकहाँ खर्च भएको छ, त्यसलाई हेरिनेछ। पुडासैनीले भन्नुभयो, काम गरेर भुक्तानी गरिएको छ वा कामै नगरी भुक्तानी भएको छ। त्यसलाई दुवै निकायले सूक्ष्म रूपमा हेर्नेछन । पुडासैनीले पछिल्ला वर्षमा खर्च धेरै गर्ने प्रवृत्ति बढेकाले सरकारलाई यथार्थ खर्च हेर्नुपर्ने पाठ सिकाएको धारणा पनि राख्नुभएको आजको नागरिकमा उल्लेख छ ।

चालू वर्षको सुरुदेखि नै बजेट खर्च नभएकाले सरकारी ढुकुटीमा भरिएको पैसा मौका पारी जथाभाबी खर्च गरिएको हो । एक महिनाअगाडिसम्म सरकारी ढुकुटी साढे दुई खर्बभन्दा बढीले बचतमा थियो। पछिल्लो एक महिना अर्थ मन्त्रालयले पैसा माग्न गएका सबैलाई बजेट दिएको छ ।

साधारण बजेटमा पर्ने पानी, बिजुली, इन्धन, सञ्चार, कार्यालयसम्बन्धी खर्च, विविध खर्च, मर्मतसम्भार, सवारीसाधन मर्मत, फर्निचर, फोटोकपी, खाजालगायतका सयौं वस्तु खरिदमा अर्बौं रुपैयाँ अनियमितता हुने गरेको छ। वर्षको अन्तमा कार्यालयहरूले अनावश्यक रूपमा सवारीसाधन मर्मत गर्ने, अधिकांश कर्मचारीलाई काज पठाएको भनेर रकम बाँड्ने, इन्धनको कुपन जथाभाबी बाँड्ने, पेट्रोल पम्पसँग मिलेर नक्कली बिल बनाउने, कार्यालय सामान खरिद नगरी बिल ल्याउने, खाजा र नास्ताका नक्कली बिल बनाउनेजस्ता काम गर्ने गरेका छन ।

महालेखा परीक्षकका पछिल्ला प्रतिवेदनले पनि साधारण खर्चमा अनियमितता बढ्दै गएको देखाएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले १० खर्ब ४८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। असार अन्तसम्ममा आठ खर्ब २२ अर्ब रुपैयाँ खर्च भएको छ ।