चीनसँग पोखरा बिमानस्थल बनाउने सम्झौतापछि पोखरेली सपना जाग्यो

Posted on: May 02, 2016 | views: 188

१० चैत, पोखरा ।
नेपाल र चीन बीच पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएसँगै पोखरेली जनतामा ४० वर्षदेखिको सपना साकार हुने आशा पलाएको छ । सम्झौता अनुसार चीन सरकारले विमानस्थल निर्माणका लागि नेपाललाई २१ अर्ब ऋण सहयोग दिने भएको हो ।

चार दशकयता चासो र चर्चाको विषय बने पनि निर्माण सम्बन्धी काम अघि नबढ्दा निराश बनेका पोखरेलीमा चीन सरकारसँग सोमवार भएको सम्झौताले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने आशा एवम् विश्वास पलाएको हो ।

सम्झौताले पोखरावासीलाई हर्षित बनाएको भन्दै अब निर्माणको कामलाई तीव्र रूपमा अघि बढाएर समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीको भनाई छ ।

कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी २५ प्रतिशतको कुनै ब्याज लाग्ने छैन ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भए पनि लामो समयसम्म निर्माणको प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा सम्झौताले सबैमा आशा जगाएको पर्यटनविद् निलकण्ठ शर्माले बताउनु भयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले अब निर्धारित समयभित्रै निर्माण सम्पन्न गराउन सबैको सकारात्मक प्रयासको खाँचो भएको बताउनु भयो ।

छिमेकी चीन सरकारले नेपाललाई उपलब्ध गराउने ३२ हजार थान सौर्य बत्ती भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई निःशुल्क वितरण गरिने भएको छ ।

प्रधानमन्त्री केपी ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा सौर्य प्रणाली उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा सोमवार हस्ताक्षर भए अनुसार नै ३२ हजार थान घरायसी सौर्य प्रणाली उपलब्ध गराउन लागिएको हो ।

सहयोग अन्र्तगत चीनले एक हजार २ सय वाट क्षमताको ३२५ थान ठूलो खालको सौर्य प्रणाली उपलब्ध गराउने छ । ३२ हजार थान सौर्य प्रणाली १० वाटको हुने र त्यस सँगै ९६ हजार बल्ब सहयोगमा नै प्राप्त हुनेछ । ठूला सौर्य प्रणाली विद्यालय, अस्पताललाई वितरण गर्ने सरकारको तयारी रहेको छ ।

कुन स्थानमा कसरी जडान गर्ने भन्ने विषयमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै तय गर्नेछ । करिव ३० करोड बराबरको सो सहयोग अन्र्तगत उपलब्ध गराएको सौर्य प्रणालीको गुणस्तरमा कुनै समस्या नहुने र त्यसको आवश्यक जाँच समेत गरिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा शाखा प्रमुख महेश घिमिरेले बताउनु भयो ।