तराईमा थोरै जमिनमा बढी उत्पादन हुने मकैबाली

Posted on: June 19, 2017 | views: 581

चितवन ।

चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेसका किसानहरु अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित भएको छ । 


हालसम्म २७ वटा मकैका स्थानीय र विकसित जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो ।

कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड आठ र रामपुर हाइब्रिड दश जातलाई अनुमोचन प्राविधिक उपसमितिले पास गरिसकेको छ । 


कार्यक्रम प्रमुख केशवबाबु कोइरालाले तराईका लागि रामपुर हाइब्रिड दुई, चार र छ जात सिफारिस भइसकेको छ भने पहाडलाई हुनेगरी खुमल हाइब्रिड दुई सिफारिस भइसकेको छ । हाइब्रिडका विभिन्न जातहरू विकास गर्ने कार्य भइरहेको बताउनुभयो । 


रामपुरमा मात्रै ७५ हेक्टर जमिनमा मकैको जात विकासका लागि अनुसन्धान भइरहेको छ । नेपालमा आठ लाख हेक्टर जमिनमा मकै रोपिन्छ । जसमध्ये १० प्रतिशत क्षेत्रमा हाइब्रिड जात लगाइन्छ ।