मालपोतका कर्मचारी चुनावमा लागेपछि राजश्व संकलन शुन्य

Posted on: June 07, 2017 | views: 177

दाङ ।

कार्यालयका कर्मचारी निर्वाचनमा खटिएर गएपछि मालपोत कार्यालय तुलसीपुरमा सेवा प्रभाबित भएको छ भने राजस्व संकलन पनि शुन्यमा झरेको छ । कार्यालयका धेरै कर्मचारी निर्वाचन तालिममा खटिएपछि दैनिक ६ लाख बढी राजस्व संकलन हुने मालपोत कार्यालय तुलसीपुर अस्ती र हिजो राजस्व संकलन शुन्य भएको हो ।

दैनिक जसो ४० देखि ६० रजिष्ट्रेशन पासभई एभरेजमा दैनिक ६ लाख बढी राजस्व संकलन हुने मालपोत कार्यालय तुलसीपुरका कर्मचारीलाई निर्वाचमा खटाएपछि कर्मचारी अभावमा कार्यालयमा राजस्व संकलन हुन नसकेको मालपोत कार्यालय तुलसीपुरले जनाएको छ ।

कार्यालय स्थापनामै आवश्यक दक्षजनशक्तिको अभाव रहेको मालपोत कार्यालय तुलसीपुरका ३ नायव सुव्वा र २ कम्प्युटर अप्रेटरलाई निर्वाचन अधिकृतको तालिममा खटाईएको मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख नरेश खड्काले जानकारी दिनुभयो ।


रजिष्ट्रेशनमा बस्ने ३ नायव सुब्बा र २ कम्प्युटर अप्रेटर निर्वाचन तालिममा खटिएपछि मालपोत कार्यालयले आइतबारदेखी सूचनाटाँस नै गरी सोमबार र मंगलबार लिखत रजिष्ट्रेशन दर्ता नहुने जानकारी गराएर अन्य काम सुचारु गरेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । कार्यालय प्रमुख खड्काका अनुसार नक्कल प्रमाणित र मुद्दाकाम भने जसोतसो सुचारु गरिएको बताउनु भएको छ । तर आजदेखि रजिष्ट्रेशन दर्ताको काम पनि नहुने जानकारी दिनुभयो ।

सुरुमै जनशक्तिकम भएको मालपोत कार्यालय तुलसीपुरमा भर्खरै कार्यरत ४ नायव सुब्बा मध्ये एकजना बढुवासहित सरुवा भएपछि कर्मचारी अभावले थप समस्या आउनसक्ने मालपोत कार्यालय बताएको छ ।


घोराही र लमहीको तुलनामा थप १० जनशक्ति आवश्यक रहेको मालपोत कार्यालय तुलसीपुरमा एकजना कर्मचारीको अभाव हुने बित्तीकै काम प्रभावित हुने मालपोत कार्यालय तुलसीपुरले जनाएको छ । आवश्यक जनशक्तिको पूर्तिका लागि आफूले मालपोत विभागमा सके दरवन्दीमा नसके काजमा भएपनि कर्मचारी खटाउन पटक पटक अनुरोध गरेको कार्याल प्रमुख खड्काले बताउनु भयो ।