सुन तस्करीको नयाँ शैली, विमानस्थलबाहिर संकलन

Posted on: May 31, 2017 | views: 224

काठमाडौं,जेठ १७ । करिब दुई वर्ष खाडीमा बिताएर स्वदेश फर्कने क्रममा कपिलवस्तु शिवपुर-४ का रामभोजन थारु सोमबार त्रिभुवन विमानस्थलमा सबै जाँच सजिलै पार गर्दै बाहिर निस्किए । तर, आगमन कक्षबाट बाहिरिएलगत्तै पार्किङमा उनलाई प्रहरीले शंकास्पद अवस्थामा भेट्यो । ३७ वर्षीय रामभोजनले आफूसँगै विदेशबाट आएका अन्यसँग सुन संकलन गरिरहेका थिए । रामभोजनले संकलन गरेको सुन लिन विमानस्थलमा अर्का एक व्यक्ति पनि पुगिसकेका थिए । प्रहरीले रामभोजनको साथबाट एक सय ९३ ग्रामका कुल चार वटा सुनका बाला बरामद गर्‍यो ।


विमानस्थल जाँचमा कडाइ हुन थालेपछि तस्करले सुन तस्करीमा नयाँ शैली अपनाउने गरेको खुलासा भएको छ । विमानस्थल प्रहरीले रामभोजन र उनले जम्मा गरेको सुन लिन पुगेका चितवनका राजकुमार भुसाललाई पनि पक्राउ गरेको छ । चितवन वीरेन्द्रनगरका ३२ वर्षीय भुसाल नयाँबसपार्कस्थित होटल म्याग्दी पोखराका सञ्चालक हुन् । विदेशबाट आउँदा नेपालीले अधिकतम ५० ग्रामसम्म सुनको निर्माण सामग्री लिएर आउन पाउँछ । तर, काँचो सुन भने प्रतिबन्धित छ ।

'५० ग्रामभन्दा बढी तौल भएको सुन लिएर आउँदा भन्सारले पक्राउ गर्ने भएपछि तस्करले नयाँ बाटो अपनाएको देखिन्छ', विमानस्थल प्रहरी अधिकारीले भने । विमानस्थल भन्सार प्रमुख नारायण सापकोटा भन्सार पास भए पनि विमानस्थलबाहिर सुन 'कलेक्सन' हुनु अवैध हुने बताउनुहुन्छ । '५० ग्राम तौलसम्म रेडिमेड सुन ल्याउन पाइन्छ र त्यसको स्वामित्व भएको कागजात आफूसँग हुनुपर्छ । यस्तो स्थितिमा भन्सारले नछाडदिने कुरै आउँदैन । तर, यसरी व्यक्तिगत रूपमा ल्याइएको सुन बाहिर निस्किएर संकलन हुनु तस्करी हो । तस्करले नयाँ शैली अपनाएको देखिन्छ', विमानस्थल भन्सार प्रमुख सापकोटाले भन्नुभयो ।


तस्करले खाडीबाट स्वदेश फर्किन लागेका नेपालीलाई कागजात बनाई अधिकतम मापदण्डअनुसार सुन भिराएर पठाउने र त्यो विमानस्थलबाहिर संकलन हुने गरेको नयाँ शैली देखिएको उहाँले बताउनुभयो । 'यसरी सुन बोकेर आएकाले काठमाडौंमा केही कमिसन पनि लिने गरेको जानकारी पाएका छौं', उहाँले भन्नुभयो । विमानस्थल भन्सार कार्यालयले पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।