काठमाडौं ।
विश्व बैंकले लगानी प्रवद्र्धन गर्न र उत्पादकत्व वृद्धि गर्न नेपालमा नीतिगत सुधार अपरिहार्य भएको औल्याएको छ ।
विश्व बैंकले मंगलवार काठमाडौंमा सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक प्रतिवेदनले नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसकेको भन्दै नीतिगत र बृहत् सुधारका कार्यक्रमले मात्र अर्थतन्त्रलाई उकास्न सक्ने औँल्याएको छ ।
पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर सुधारमा सहयोग हुने प्रतिवेदनले सुझाएको छ ।
विश्व बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका लागि नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र सरकार र निजी क्षेत्रले लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सहयोग हुने बताउनु भयो ।
कतार जानुभन्दा नेपालकै विद्युत् परियोजनामा काम गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भएको, खाडी मुलुक र मलेसियाका वैदेशिक रोजगारीबाट भन्दा अहिले नेपालमा नै रोजगारीका अवसर निर्माण गर्नुपर्नेमा पनि कोशिकले जोड दिनु भयो ।