२ वर्षमा पनि मर्मत हुन सकेनन् सबै अपार्टमेण्ट, उपत्यकाका १८ वटा मात्र बस्नयोग्य

Posted on: May 21, 2017 | views: 228

काठमाडौं,जेठ ७ - काठमाडौं उपत्यकामा बनेका तथा निर्माणाधीनमध्ये १८ ओटा अपार्टमेण्टले मात्र बस्नयोग्य रहेको अनुमति पाएका छन्। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय, काठमाडौंले विभिन्न परीक्षण तथा मापदण्ड पूरा गरेका ती अपार्टमेण्टलाई बस्नयोग्य अनुमति दिएको हो। उपत्यकामा निर्माण सम्पन्न तथा निर्माणाधीन अवस्थाका गरी ५१ अपार्टमेण्ट  छन्। भूकम्पको असरपछि अहिलेसम्म गरिएका विस्तृत क्षति मूल्याङ्कन (डिटेल ड्यामेज इभ्यालुएशन)अन्तर्गतका सबै परीक्षणमा उत्तीर्ण ती अपार्टमेण्टले बस्नयोग्यको स्वीकृति पाएका हुन्। 


भूकम्पपछिको विस्तृत क्षति मूल्याङ्कन अध्ययनमा ६ ओटा अपार्टमेण्टमा भने कुनै किसिमको सुधारको आवश्यकता नदेखिएको डिभिजन कार्यालय काठमाडौंले जानकारी दिएको छ।  तिनीहरूमा धुम्बाराही अपार्टमेण्ट (ओरियण्टल), दि कम्फर्ट हाउजिङ (टीसीएच), भाटभटेनी अपार्टमेण्ट, इन्द्रेणी अपार्टमेण्ट (पहिलो), इन्दे्रणी अपार्टमेण्ट (दोस्रो) र सनराइज अपार्टमेण्ट रहेका छन्। डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल इञ्जिनीयर गणेश कर्माचार्यका अनुसार बस्नका लागि स्वीकृति पाएका सबै अपार्टमेण्टमा आवश्यकताअनुसार मर्मत, पुनःस्थापना र रेट्रोफिटिङ गरी देखिएका कमजोरी सुधार्दै भूकम्पप्रतिरोधी मापदण्ड पूरा गरिसकिएका छन्। प्रयोगमा आइसकेकामध्ये ३३ ओटा अपार्टमेण्ट मर्मत, पुनःस्थापना, रेट्रोफिटिङलगायत प्रबलीकरण प्रक्रियामा रहेका छन्,’ उनले भने। २०७२ वैशाखमा गएको भूकम्पमा अधिकांश अपार्टमेण्टमा असर परेको थियो। काठमाडौं उपत्यकामा बनेका अपार्टमेण्टहरूमा १ खर्ब २५ अर्ब रुपैयाँ लगानी भएको छ। आवास विकास सङ्घका अनुसार त्यसमध्ये ४२ अर्ब रुपैयाँ बैङ्कहरूको लगानी हो भने बाँकी ८३ अर्ब रुपैयाँमध्ये आधा व्यवसायी र आधा सर्वसाधारण ग्राहकको। 


३० लाख रुपैयाँदेखि साढे दुई करोड रुपैयाँसम्ममा विक्री भएका करीब ४ हजार फ्ल्याटमा बस्ने परिवार र तीसँग प्रत्यक्ष जोडिने रोजगार बजार आफैमा ठूलो क्षेत्र हो। भूकम्पपछि अपार्टमेण्ट व्यवसायमाथि आइपरेको सङ्कटले यो लगानीसँगै त्यसमाथि आश्रित रोजगारी पनि जोखीममा परेको छ। भूकम्पपछि अहिलेसम्म पनि अपार्टमेण्ट किनेर बसेका धेरै परिवार त्यहाँ फर्केका छैनन्। कतिपयले आफूले किनेका अपार्टमेण्ट बेच्न खोजेका छन् भने कतिले भाडामा लगाउन विज्ञापन निकालिरहेका छन्। भूकम्पमा क्षति नपुगेका र बस्न मिल्ने अवस्थामा रहेका अपार्टमेण्टहरूले ‘पूर्ण फर्निसिङसहितका अपार्टमेण्टहरू भाडामा’ भनेर विज्ञापन निकालिरहेको पनि देखिन्छ। 


यसरी उपत्यकामा भर्खर बस्दै गरेको ‘अपार्टमेण्ट संस्कृति’ नै धराशयी हुने अवस्था पुगेको छ।  केही अपार्टमेण्ट निर्माताहरूको बदमासीका कारण यस्तो अवस्था आएको व्यवसायीहरू बताँउछन्। यस्तो छ अपार्टमेण्टलाई बस्नयोग्य बनाउने प्रक्रिया विस्तृत अध्ययन मूल्याङ्कन गर्ने परामर्शदाताले भवनको पूर्ण अध्ययन गर्छ र सुझावसहितको प्रतिवेदन दिन्छ। त्यसलाई डिभिजन कार्यालयले ‘भेरिफाई’ गर्छ। त्यसरी भेरिफाई गर्दा दोस्रो चरणसम्मको ड्यामेज हो भने मर्मत र पुनःस्थापना गर्न भवन निर्मातालाई सिफारिश गर्ने गरिएको छ। सिफारिशअनुसार काम भए नभएको जाँच गर्न नन डिष्ट्रक्टिभ टेष्ट (एनडीटी) गर्ने गरिएको छ। यसरी पटकपटक टेष्ट गर्दा पनि असफल देखिएमा तेस्रो चरणको ड्यामेज भएको मानिन्छ र त्यस्ता भवनलाई रेट्रोफिटिङमा लैजानुपर्छ। साथै, अपार्टमेण्ट धनीले ‘रेट्रोफिटिङ क्यापासिटी डिजाइन’ पेश गर्नुपर्छ। 


निर्माण गरेपछि भवनको क्षमता केकति हुन्छ र त्यस्तो भवन प्रयोगमा आउँदा कतिसम्मको तौल वहन गर्न सक्छ भनेर गरिने काम नै रेट्रोफिटिङ क्यापासिटी डिजाइन हो। यस्तो अवस्थामा पुगेका भवनको रेट्रोफिटिङ र ड्यामेज भएको पार्टस्को रिडिजाइनमा पेश गरिएको आधारमा निर्माण गर्ने गरिन्छ। रेट्रोफिटिङ र ड्यामेज भएको पार्टस्को रि–डिजाइन गरेर निर्माण गर्दा नयाँ निर्माणभन्दा बढी लागत लाग्ने अवस्थामा भवनलाई भत्काउनु उत्तम मानिन्छ। आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।