भारतले अझै किनेजती डिजेल दिएन-मन्त्री पुन

Posted on: May 02, 2016 | views: 249

५ चैत, काठमाडौं ।
भारतीय आयल कर्पोरेसन 'एनओसी' ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

आलोपालो रूपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

व्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको बिहिबारको बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनले ग्यास एवम् पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै काम गर्दै आएको र अब छिट्टै आपूर्ति सहज हुने बताउनुभयो ।

काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र गोरखाको खैरेनीटारमा पेट्रोलियम पदार्थ भण्डार केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाईएका र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पेट्रोलियम पदार्थ आयातका लागि चीन सरकारसित थप कुराकानी हुने मन्त्री पुनले बैठकमा जानकारी दिनुभयो ।

मन्त्री पुनले आयल निगमले आफ्ना कर्मचारीलाई बोनस वितरण नगर्ने सञ्चालक समितिको बोर्ड बैठकबाट भएको पनि समितिको बैठकमा जानकारी गराउनुभयो बैठकमा सांसदहरू पवनकुमार सारडा, छाया शर्मा पन्त, श्यामकुमार श्रेष्ठ, कञ्चन वादे श्रेष्ठ र अनन्त पौडेलले आयल निगमको आम्दानीबाट कर्मचारीलाई बोनस वितरण नगर्न र आपूर्ति सहज बनाउन माग गर्नुभएको थियो ।