नेपाली भन्सारमा भारतीय ट्रक डाइभरको दादागीरी, सिमा सुरक्षा बलले केही गर्न सकेन

Posted on: April 26, 2017 | views: 295

बिराटनगर ।

भारतीय ट्रक चालकले विराटनगर भन्सार नाकाको आवागमन १३ घन्टासम्म ठप्प बनाएका छन् । नेपाल प्रवेश गर्ने जोगवनी नाकामा सोमबार साँझबाट दुईवटा ट्रक तेस्र्याउँदै भारतीय ट्रक चालकले नाका ठप्प बनाएर मालवाहक तथा अन्य सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गराएका हुन् ।

यो घटनालाई नेपाली प्रशासनले भारतीय चालकको दादागिरीका रूपमा लिएको छ । डब्लूबी ३३ ए ६०८६ र एचआर ५५ जी ५७१९ नम्बरका दुईवटा ट्रक नेपाल प्रवेश गर्ने मुख्य नाकामा तेस्र्याएर चालक फरार भएका थिए । मुख्य नाकामा ट्रक तेस्र्याएपछि नाका ठप्प भएको हो ।

सर्वसाधारणलाई नेपालबाट भारत र भारतबाट नेपालतर्फ पैदल आवतजावत गर्न पनि कठिनाइ भएको थियो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार भारतीय चालकले ट्रक तेस्याएर अवरोध गरेपछि एम्बुलेन्स, शव वाहनलगायतका साधन र अन्य मालवाहक सवारीसाधन आवतजावत गर्न पाएनन् । अवरोधका कारण आवतजावत गर्न नपाउँदा नेपाल र भारतपट्टि सयौं सवारीसाधनको लाम लागेका थिए ।

ड्युटीमा खटिएका नेपाल प्रहरीसँग वादविवाद भएपछि भारतीय ट्रक चालकले दादागिरी शैलीमा नाकामा मालवाहक ट्रक तेस्र्याएर भन्सारको आवतजावत नै ठप्प बनाएको नेपाल प्रहरीले जनाएको छ । भारतबाट सामान लोड गरेर आएको डब्लूबी ४१ डी ०५२२ नम्बरको ट्रक विराटनगर भन्सार कार्यालय परिषरको सडकमै छाडेर सोमबार साँझ चालक मन्जिर आलम विराटनगर भन्सार कार्यालय प्रवेश गरेका थिए ।

छलफलमा क्रममा दुवै पक्षले आगामी दिनमा गल्ती नगर्ने र भन्सारसँग समन्वय गरेर काम गर्नेलगायतका सहमति भएका छन् ।

सडकमै छाडिएको ट्रकका कारण सडक जाम भएर अन्य सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था नभएपछि खुलाउन पुगेको प्रहरीसँग उनले निहुँ खोजेपछि दोहोरो वादविवाद भएको थियो । त्यही विषयलाई लिएर अन्य भारतीय नम्बर प्लेटका ट्रकका चालकले सोमबार साँझ साढे ७ बजेबाट नाकामा ट्रक तेस्र्याएर अवरोध गर्दै आवगमन प्रभावित पारेका हुन् । अवरोध खुलाउन नेपाल र सशस्त्र प्रहरीले पटकपटक पहल गरे पनि भारतीय चालकले मानेनन् ।


नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य राजेश गुप्ता, भारतीय सीमा सुरक्षा बलका अधिकारी, नेपाल र सशस्त्र प्रहरीको संयुक्त प्रयासपछि भारतीय चालक अवरोध हटाउन राजी भएका थिए । यस विषयलाई लिएर भारत र नेपालका अधिकारीबीच सीमा प्रहरीचौकीमा छलफलसमेत भएको थियो ।


छलफलमा सशस्त्र प्रहरी बल भन्सार राजश्व गुल्म विराटनगरका डीएसपी तीर्थबहादुर थापा, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादव, सीमा प्रहरीचौकीका प्रहरी नायव निरीक्षक फिरोज चौधरी, कांग्रेस नेता राजेश गुप्ता, एसएसबीका अधिकारी र भारतीय चालक थिए ।


छलफलमा क्रममा दुवै पक्षले आगामी दिनमा गल्ती नगर्ने र भन्सारसँग समन्वय गरेर काम गर्ने लगायतका सहमति भएका छन् । सहमतिसँगै मंगलबार बिहान ९ बजेबाट भारतीय ट्रक चालकले अवरोध हटाएपछि नाका सुरु भएको छ ।

अन्नपूर्णपोष्टमा खवर प्रकाशित छ ।