अनुदानको चुलो बेचेर १२ हजार आम्दानी, भाडा र भन्सार ५ करोड

Posted on: April 10, 2017 | views: 156

काठमाडौं,चैत २८ ।भारतको नाकाबन्दीको बेला चीनले अनुदानमा दिएका साढे ११ हजार थान इन्डक्सन चुलो थन्किएका छन् । विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा १० हजार थान र नेसनल ट्रेडिङको गोदाममा एक हजार तीन सय थान चुलो थन्किएका हुन् । कर र गोदामको भाडा भुक्तानीको समस्याले अनुदानका चुलो थन्किएका हुन् ।


संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपभोक्ता हित सम्बन्ध उपसमितिले अर्थ मन्त्रालयका कारण चिनियाँ अनुदानका चुलो थन्किएको निष्कर्ष निकालेको छ । अनुदानका सामग्रीमा कर उठाउने प्रणालीप्रति सांसद्ले आपत्तिसमेत जनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

चीनले अनुदानमा दिएको ११ हजार तीन सय इन्डक्सन चुलोमध्ये नेसनल ट्रेडिङले अहिलेसम्म एउटा मात्र बिक्री गरेको छ । बजारभाउभन्दा महँगो मूल्य राखेपछि चुलो बिक्री नभएको हो ।