भेरी–बबई डाईभर्सन कामदार विवाद मिलेपछि सुचारु

Posted on: March 02, 2017 | views: 254

सुर्खेत ।
कामदार वीच भएको आपसी विवाद मिलेपछि तीन देखि अवरुद्ध भेरी–बबई डाईभर्सन आयोजनाको निर्माण कार्य सुचारु भएको छ ।

आयोजना निर्माणमा खटिएका नेपाली र चीनियाँ कामदार वीच विवादपछि मारपिट हुँदा नेपाली कामदारले तीन देखि निर्माण कार्य अवरुद्ध गरेका थिए ।

आयोजनाले विहीबार दुबैपक्षलाई सम्झाई बुझाई गरी आईन्दा कुनै विवाद आए आयोजनासँग सिधै गुनासा सुन्ने शर्तमा विवाद मिलाईएपछि निर्माण कार्य सुचारु भएको सिनियर डिभिजनल ईन्जिनियर मनोज थापाले जानकारी दिनु भयो । उहाँले नेपाली मजदूरले राखेका १६ बुँदे माग सबै पुरा गरिएको बताउनु भयो ।

आयोजनामा नेपाली र चीनियाँ गरी करिब ३ सय मजदूर कार्यरत रहेका छन् । अहिले नेपालमै पहिलो पटक भेरी–बबई आयोजनामा टनेल बोरिङ मेसिन 'टिबिएम' मार्फत  १ सय किलोमिटर लामो सुरुङ खनिएको छ  । आयोजनाबाट बर्दिया र बाँकेका ६० हजार हेक्टर जमिनमा सिँचाइका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सरकारले आन्तरिक स्रोतबाट सुरुङ निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । आयोजना सफल भएमा थप यस्तै प्रकृतिका ७ ओटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।