काठमाडौं ।
चिनी विक्रि वितरणको काम गर्दै आएको साल्ट ट्रेडिङको गोदाम रित्तो हुँदा समेत पुष्पकमल दाहाल सरकारले वेवास्ता गर्दा चिनीको मूल्य बढेर काठमाडौंमै प्रति केजी १ सय रुपैयाँसम्म पर्न थालेको छ ।
यसअघि कहिलेपनि ९० भन्दा माथि नपुगेको चिनीको मूल्य काठमाडौंमैं ९५ रुपैयाँमा विक्रि भइरहेको पाइएको छ ।
नाकाबन्दीको समयमै पनि चिनी किलोको ८५ रुपैयाँ नाघेको थिएन । तर, अहिले दुईसाताभित्रै किलोको १० देखि १५ रुपैयाँसम्म महंगिएको छ ।
बजारमा अभाव भएर वा माग बढेर चिनी महंगो भएको नभई विनाकारण नै होलसेलमा मूल्य बढेर आएपनि यसमा सरकारले खासै चासो दिएको छैन ।
साल्ट ट्रेडिङले मौज्दात राखिन्जेल बजारमा चिनीको मूल्य बढाउने आँट नगर्ने उद्योगीहरु अहिले त्यहि मौका पारेर चिनीको मूल्यमा कालाबजारी गरिरहेको छन् । तर यसलाई सरकार भने देखे नदेखेगरि बसिरहेको छ ।
नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष ५० हजार मेट्रिक टन चिनी किन्न साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारलाई दुईमहिना अघि नै प्रस्ताव पठाएको थियो । अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिनेरनदिने विषयमा निर्णय नलिंदा यस्तो अवस्था आएको हो ।
गत वर्ष पनि आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउनुपर्ने भन्दै अर्थमा प्रस्ताव पठाएको थियो । अर्थले भने ३० हजार मेट्रिक टनको मात्र स्वीकृति दिएको थियो । यो वर्षभने अर्थले कुनै स्वीकृति दिएको छैन ।
गत वर्ष सरकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब महंगो मूल्य तिर्नेपर्ने अवस्था आएको थियो ।