राष्ट्र बैंकले परिपत्र गरेपछि बन्दरगाहको भारतीय अवरोध हट्यो

Posted on: October 31, 2016 | views: 263

१५ कार्तिक, काठमाडौं ।
भारतको बिशाखापटनम बन्दरगाहबाट नेपाली व्यवसायिहरुले सामान आयात गर्नका लागी उत्पन्न अवरोध नेपाल राष्ट्र बैंकको परिपत्रपछि हटेको छ ।
 
नेपाली आयातकर्ताले व्यावसायिक रूपमा भारतको दोस्रो बन्दरगाह बिशाखापटनम हुँदै सामान आयात गर्न माग गर्दै आएकोमा हालै नेपाल राष्ट्र बैंकले बिशाखापटनमबाट सामान आयात गर्न सकिने भन्सार नाकाहरु निर्धारण गरेपछि अब बिशाखापटनम बन्दरगाहबाट नेपाली व्यवसायिहरुले सामान आयात गर्न सक्ने भएका हुन  ।
     
राष्ट्र बैंकले परिपत्रमा बिशाखापटन बन्दरगाह हुँदै ट्रक वा रेलमार्गबाट आयात गरिने वस्तुहरू वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह, विराटनरगर, भैरहवा, नेपालगन्ज भन्सार नाकाबाट नेपाल भित्र्याउन सकिने उल्लेख गरिएको छ ।
     
अब आयातकर्ताले तेस्रो मुलुकबाट मालसामान आयात गर्दा कोलकाताबाहेक बिशाखापटनम बन्दरगाह हुँदै मालसामान आयात गर्न प्रतितपत्र खोल्ने र सोझै आयात गर्न पाउने बाटो खुलेको छ ।

बिशाखापटनम बन्दरगाहको प्रयोग गर्न पाउने निश्चित भएपछि बीरगंज लगायत मुलुक भरका उद्योगी व्यवसायिहरु उत्साहित भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय सरावगीले बताउनुभयो ।

झन्डै ८ महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारतबीच विशाखापटनम बन्दरगाह नेपालको उपयोगका लागि खोल्न दिने सम्झौता भएको थियो ।

विशाखापटनम बन्दरगाह नेपालबाट दुरीको हिसावले कलकत्ता भन्दा टाढा भए पनि आयात निर्यातको क्रममा कलकत्ता बन्दरगाहमा हुने ढिलाईका कारण व्यवसायीहरले तिनु पर्ने रकम र प्रकृया विशाखापटनममा छोटिएर छिटो छरितो र सहज हुने व्यवसायिहरुले बताएका छन् ।