विद्युत् नीति बनाएर मात्रै वैदेशिक लगानी भित्र्याउन सुझाव

Posted on: July 16, 2016 | views: 273

१ साउन, काठमाडौं ।
कानुनी व्यवस्था गरेर मात्रै नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाइने प्रबन्धसहितको सुझाव व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई दिएको 
छ ।


नीतिगत व्यवस्था नहुँदा हचुवाको भरमा वैदेशिक लगानी भित्र्याउने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेर नेपाल विद्युत् प्राधिकरणलाई धरासायी बनाउने प्रवृत्ति बढ्दै गएपछि संसद्कै पहलमा नयाँ नीति बनाउन सरकारलाई समितिले यस्तो सुझाव दिइएको हो । 


समितिले सांसद विकास लम्सालको संयोजकत्वमा गठन गरेको राष्ट्रिय आवश्यकतालाई ख्याल गर्न र ऊर्जाको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारेमा समेत स्पष्ट खाका जरुरी रहेको प्रतिवेदन दिएको छ ।

उपसमितिले नेपाल र नेपाली लगानीकर्ताको क्षमता समेत पछिल्लो दिनमा बढ्दै गएको, नेपाली बैंक तथा वित्तीय संस्थाले पनि लगानी गर्नसक्ने अवस्था देखिएकोले २५ मेगावाटसम्मका आयोजनाका वैदेशिक लगानी भित्र्याउने विषय गलत भएको जनाएको छ ।


उपसमितिले २५ मेगावाट भन्दा माथिका आयोजनामा वैदेशिक लगानी भित्र्याउने विषयलाई खुला गरेपनि लाभको बाँडफाँड, लगानी संरचना एवम् लगानीकर्ताको आर्थिक पक्षको समेत ख्याल गर्न ध्यानकर्षण गराइएको छ ।

प्राधिकरणले खिम्ती र भोटेकोसीमा अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा प्राधिकरणको आर्थिक अवस्था नराम्ररी बिग्रिएको अवस्थामा आगामी दिनमा भने विगतको गल्ती नदो¥याउन आग्रह गर्दै डलरको मूल्य वृद्धि हुँदा अपनाउनुपर्ने सुरक्षात्मक प्रणाली एवम् संरचना बनाउन समेत ऊर्जा र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलाई आग्रह गरिएको छ ।